मासु खाँदा होसियार ! बागलुङमा मरेका कुखुरा भित्रिए

डम्मर बुढा मगर, बागलुङ
सोमबार विहान बागलुङ बजारमा करिब पाँच लाख बराबरको कुखुरा भित्रिए । त्यस मध्ये केहि मरेका र केहि झोक्रिएका कुखुरा फेला परेका छन् । बागलुङ नगरपालिका वडा नम्बर ३ गौडाकोटमा मासु व्यवसायीले मरेका कुखुरा काट्दै गरेको स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरी उक्त कुखुरा बरामद गरिएको छ ।

मरेको कुखुरा काट्दै गरेको बेला फेला पारेपछि स्थानीयले जिल्ला प्रहरी र नगरपालिकालाई खबर गरेर जानकारी गराइएको स्थानीय गंगा पुनले जानकारी दिनुभयो । मरेका कुखुरा भित्रिएको खबर पाए लगत्तै जिल्ला प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च लगायत सम्बन्धित निकाय त्यस स्थानमा पुगेर मुचुल्का तयार गरी प्रहरीलाई बुझाएका छन् ।

मरेका कुखुरा भित्राएर नागरिकको स्वास्थ्यमाथी खेलवाड भएको भन्दै स्थानीयले बिरोध जनाएका छन् । बागलुङ नगरपालिकाले जिल्ला प्रहरी कार्यालय बागलुङलाई मरेका कुखुरा नष्ट गर्न पत्र दिएको छ भने व्यवसायीलाई अन्य कुखुरालाई गोदामै राख्न भन्दै विक्री वितरण नगर्न भनेको छ ।

तर स्थानीयले सबै कुखुरा नष्ट गर्न माग गरेका छन् । नगरपालिकाले रोक लगाएको बस्तु बजारमा आउँदै सम्बन्धित निकायले वेवास्ता गरेको आरोप छ । स्थानीय गंगा पुनले मरेको कुखुरा काट्दै गरेको फेला पारेको भन्दै यसले मानव स्वाथ्यमा प्रतिकुल असर पार्ने भन्दै सबै कुखुरा नष्ट गर्नु पर्ने बताउनुभयो ।

व्यवसायीले अप्रत्येक्ष रुपमा यस अघि पनि पटक–पटक मरेको कुखुरा आयात गरेर विक्री वितरण गर्दै आएको स्थानीयको आरोप छ । पोखराबाट ल्याइएको पाँच लाख बराबरको कुखुरा मध्ये ३० वटा मरेको, २२ वटा विरामी अवस्थामा फेला परेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

बागलुङ बजारको लालिगुराँसचोकमा मासु पसल सञ्चालन गर्दै आएका व्यवसायी ग्रीन शाहले पोखराबाट बागलुङ बजारमा व्यापार गर्नका लागि आयात गरेको कुखुरा मरेको र बिरामी अवस्थामा फेला परेको प्रत्येक्ष अवलोकन पछि व्यवसायीलाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको बागलुङ नगरपालिका पशु शाखाका पशु स्वास्थ्य अधिकृत शशिधर शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार बजामा भित्रिनु अगावै मरेका कुखुरा विक्रि वितरण गर्न नगरी नष्ट गर्नुपर्ने छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले नगरपालिकाले पठाएको पत्र अनुसार मरेका कुखुरा नष्ट गर्ने र अन्य कुखुरालाई नगरपालिकाको अर्को निर्णय नहुँदा सम्मलाई विक्रि वितरण नगरी सुरक्षित राखिने बताउनुभयो । कोरोना भाईरस समेत फैलन सक्ने पशु पन्छी बागलुुङ भित्रन रोक लगाए पनि अनुमति बिना कुखुराहरु भित्रिदै आएको पाइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *