गण्डकी प्रदेशको कोरोना अस्पतालमा चरम लापरबाही

आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशले कोरोनाको प्रकोप सुरु हुनु अगाडि नै ‘तयारी भयो’ भनेर हल्ला गरेको कोरोना अस्पताल बल्ल सञ्चालनमा आएको छ ।

लेखनाथको मोहरीयमा रहेको उक्त अस्पताल केहीदिन अघिमात्र संचालनमा आएको हो । यति ढिलोगरी सञ्चालनमा ल्याइएको भए पनि अस्पतालका सेवा–सुविधामा भने प्रश्न उठिरहेको छ ।

प्रदेश सरकारले बनाएको उक्त अस्पतालको आइसोलेसन वार्डमा रहेको बिरामीहरुले अस्पताल प्रशासनको चरम लापरबाही भएको बताएका छन् । आइसोलेसन वार्ड भनिए पनि आइसोलेसन वार्डमा हुनुपर्ने अत्यावश्यक सामान तथा सुविधा नरहेको बिरामीहरुको भनाइ छ ।

एक संक्रमितले भनिन्, ‘आइसोलेसन वार्डमा आएको तीन दिन भयो, डाक्टर–नर्सको मुख देखेको छैन । वार्डमा पानी तताएर खानलाई जगसमेत छैन, न अलि बढी बिरामी भएका संक्रमितहरुलाई काउन्सिलिङ नै गरिन्छ । यहाँको गतिविधि हेर्दा त सरकारले बाँचे बाँचिहाल्छ, मरे पनि केही हुन्न भन्ने हिसावले राखेको जस्तो देखिन्छ ।’

आइसोलेसन वार्डमा रहेका बिरामीहरुको आत्मबल बढाउन अस्पतालले भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो आत्मबल घटाउने गतिविधि र व्यवहार पाइएको उनको गुनासो छ । ‘बुढा बा–आमाहरु पनि संक्रमित भएर आउनु भएको छ । उहाँहरुलाई त झन् धेरै काउन्सिलिङको खाँचो छ,’ उनले भनिन्, ‘यस्तो बेलामा डाक्टर–नर्सको अनुहार नै नदेखेपछि त गाह्रो हुन्छ नि ।’

होम आइसोलेसनमा बस्छु भन्दा पनि नदिएर जबरजस्ती आइसोलेसनमा ल्याइएको ती संक्रमितले बताईन् । ‘अहिले यहाँको आइसोलेसनमा आएर पछुतो भईरहेको छ । यो अस्पतालमा भन्दा त मेरै घरमा म धेरै गर्न सक्छु नि, आइसोलेसन भनेपछि त सबै व्यवस्था हुन प¥यो नि । एउटामात्र भेन्टिलेटर छ । बाहिर भने सबै सुविधा भएकोजस्तो हल्ला छ,’ उनले भनिन् ।

संक्रामक तथा सरुवा रोग अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. त्रिभुवन भण्डारी भने संक्रमितको उपचारमा कुनै कसर बाँकी नराखिएको बताउँछन् । ‘भर्खर बन्दै गरेको अस्पताल भएकोले भेन्टिलेटर भने एउटामात्र छ । संक्रमितहरुलाई चार टाइम खानाको व्यवस्था गरिएको छ । हामी चार जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको टोली चौबीसै घण्टा खटिएका छौँ,’ उनले भने ।

अस्पतालको बचाउमा भण्डारीले जे भने पनि अस्पताल व्यवस्थापनमा चरम लापरबाही भएको प्रष्ट बुझ्न सकिन्छ । ३४ जनाको आइसोलेसन बेड भएको उक्त अस्पतालमा अहिले १८ जना संक्रमितले उपचार गराईरहेका छन् ।

उनीहरुको निगरानीका लागि दुई चिकित्सक, दुई स्टाफ नर्स र एक कर्मचारीमात्र छन् । आइसोलेसन वार्ड भनेर हल्ला गरिए पनि आइसोलेसन वार्ड हुनका लागि कुनै पनि मापदण्ड पुरा नगरेको संक्रमितहरुको गुनासो छ ।

संक्रमितहरु र उनीहरुका आफन्तले प्रदेश सरकारले लेखनाथको मोहरियामा बनाएको संक्रामक तथा सरुवा रोग अस्पतालमा चरम लापरबाही भएको गुनासो गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले ‘अस्पताल तयार भयो’ भनेर हल्ला गरेको पाँच महिनापछि सञ्चालन हुँदासमेत प्रदेशको कोरोना अस्पतालकाबारे सार्वजनिक भएका गुनासोले नै कोरोनासँग लड्ने गण्डकी प्रदेश सरकारको तयारी कस्तो छ प्रष्ट बुझ्न सकिन्छ ।

दिनानुदिन संक्रमतिकको संख्या बढ्दै जाँदा त्यसको नियन्त्रण र रोकथाममा प्रदेश सरकारको तयारी तीव्र नहुँदा कहिले आइसोलेसन वार्ड भरिएको कारण त कहिले व्यवस्थापन कमजोर भएको कारण प्रदेश सरकार आलोचित भईरहेको छ ।

कोरोना संक्रमण सुरु हुन लाग्दा उपचारका लागि तयारी गरिएको निजी अस्पतालको आइसोलेसन भने प्रदेश सरकारले आजसम्म पनि प्रयोगमा ल्याएको छैन । यही बीचमा गण्डकी प्रदेश सरकार र गण्डकी अस्पतालबीच पनि बेमेल भएको प्रष्ट देख्न सकिन्छ ।

कोरोना संक्रमणको जोखिम बढेको समयमा गण्डकी प्रदेश सरकारले कागजी रुपमा भन्दा पनि व्यवहारिक रुपमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने खाँचो रहेको सरोकारवालाहरु बताउँछन् ।रातोपाटीबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *