बागलुङ बजारको खानेपानीका विषयमा उच्च अदालतमा रिट

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगर खानेपानी विरुद्ध अदालतमा रिट दायर भएको छ ।

बागलुङ बजारमा लामो समयदेखि फोहोर पानी वितरण हुँदै आएकोमा त्यसलाई तत्काल रोक्न रिटमा माग गरिएको छ । बजारमा सफा पानी वितरण गर्न माग गर्दै अधिवक्ता रमेश खड्काले बागलुङ नगरपालिका कार्यालय, नगर प्रमुख जनकराज पौडेल, बागलुङ नगर खानेपानी उपभोक्ता संस्था बागलुङ, संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, जिल्ला जलस्रोत समिति बागलुङका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई विपक्षी बनाई पोखरा उच्च अदालत बागलुङ इजलासमा रिट दायर गर्नुभएको छ ।

रिट निवेदनमा बागलुङ बजारमा लेदो सहितको दुषित पानी वितरणमा तत्काल रोक लगाई सफा र पिउन योग्य पानीको वैकल्पिक व्यवस्थाका लागि उच्च अदालतमा परमादेशको माग गरेका छन् । ‘बागलुङ बजारमा एक त बर्खायामसँगै खानेपानीको नियमिततामा समस्या देखिएको छ, अर्को गम्भीर बिषय चाही सडक ढलको पानी लिएर लेदोयुक्त पानी खुवाउने कार्य भइरहेको छ,’ अधिवक्ता खड्काले आदर्श अनलाइनसँग भन्नुभयो,‘अहिले पानी उमालेर समेत प्रयोग गर्न नमिल्ने अवस्थाको छ, सम्पन्न व्यक्तिहरुले त किनेरै पानी प्रयोग गरिरहेका छन्, सामान्य उपभोक्ताले त्यो गर्न सक्दैन, यस बिषयलाई संवेदनशिल रुपमा लिएर रिट दायर गरेको हुँ ।’

खड्काले बागलुङ बजारका हजारौं उपभोक्ताको स्वास्थ्य माथि खेलवाड हुँदा पनि सरोकारवाला निकाय मुकदर्शक भैरहेको बताए । स्थानीय शासन ऐन २०७४’ ले नगर क्षेत्र भित्रको खानेपानी, फोहोर व्यवस्थापन लगायतका कुरा नगरको जिम्मेवारी भित्र पर्ने उल्लेख गरेको छ । यसलाई नगरपालिकाले कानुन निर्माण नगरी अरुलाई जिम्मा लगाउन नमिल्ने भएकाले नगरपालिका सहित उपभोक्ता संस्थालाई समेत बिपक्षी बनाएर रिट दायर गरिएको खड्काको भनाई छ ।

बागलुङ नगरखानेपानी उपभोक्ता २०६४ सालमा स्थापना भएकोमा अहिले सम्म जम्मा दुई वटा मात्रै साधारण सभा गरिएको छ । अहिले पनि संस्थाको जवाफदेहिता र पारदर्शिताको बिषयमा नागरिक स्तरबाट तिव्र गुनासो र आलोचना भइरहे पनि संस्थाले साधारणसभा गर्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *