बागलुङ बजार फेरी एक साता बन्द

आदर्श अनलाइन, बागलुङ

समुदाय स्तरमा कोरोना संक्रमण फैलिन थाले पछि बागलुङ बजार फेरी बन्द गरिएको छ ।
बागलुङ बजार क्षेत्रका चार वटै वडाले सोमवार छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गर्दै समुदायमा कोरोना संक्रमण फैलिएको निष्कर्ष सहित अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई आग्रह गरेका छन् ।

शनिवार बागलुङ नगरपालिका–२ मा एक महिला र सोमबार बागलुङ नगरपालिका–३ कि एक महिलालाई कोरोना पुष्टि भए बागलुङ नगरपालिका वडा नम्बर १,२,३ र ४ का वडा अध्यक्षले बिज्ञप्ती निकाल्दै कार्यालयको सबै सेवा बन्द गरिएको जानकारी सहित भिडभाड नगर्न, घर बाहिर ननिस्कन, संक्रमितको सम्पर्कमा आएको भए कन्ट्याक्ट ट्रेसिङ गर्न आग्रह गरेका छन् । यद्यपी, जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाले भने लकडाउनको औपचारिक निर्णय नगरेको बताएको छ ।

संक्रमित पुष्टि भएकाको ट्राभल हिस्टी नभएकाले समाजमा थप भयावह हुने जोखिम देखिएकाले बागलुङ उद्योग वाणिज्य संघले समेत सोमबार राती १२ बजेपछि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरी ‘लकडाउन’ गर्न व्यवसायीलाई आग्रह गरेको छ । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले सोमबार विज्ञप्ती जारी गरी कोरोना फैलिदै गएकाले थप सजग हुनुपर्ने संवेदनशिल स्थिति आएकाले यसबेला सबै सचेत हुनुपर्ने अध्यक्ष राजभण्डारीको भनाई छ । ‘ट्राभल हिस्टीनै नभएका व्यक्तिमा कोरोना पुष्टी भएको छ, यस अवस्थामा व्यापार व्यवसायमा भिडभाड देखिएकाले बजार डुलेर पनि बिशेष सजगता अपनाउन भनिरहेका छौ’ राजभण्डारीले भन्नुभयो ‘उपभोक्ता, व्यवसायी सुरक्षित रहे व्यापार व्यवसाय त एक हप्ता पछि गरे पनि हुन्छ, स्वास्थ्य प्रति सबै संवेदनशिल बनौ ।’

सरकारले लकडाउन खुकुलो पारेसंगै कोरोना संक्रमित बढेको र सबैभन्दा ठूलो सम्पत्ति मानव स्वास्थ्य भएकाले खाद्य सामग्री, दुग्धजन्य, पानी, औषधी, सरसफाई सामग्री, तरकारी, ग्याँस, पेट्रोलियम पदार्थ, लगायतका अत्यावश्यक बाहेकका सबै पसल बन्द गर्न उद्योग वाणिज्य संघले विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

अत्यावश्यक सामग्री उत्पादन, विक्री वितरण गर्ने उद्योग तथा पसलहरु आफु सुरक्षित रहेर बिहान साढे ७ देखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म मात्रै कारोबार गर्न आग्रह गरेको छ । संघले ग्रामिण भेगबाट बजारमा आउने उपभोक्ता र सवारी साधनलाई पनि अति आवश्यक बाहेक प्रवेश नदिन पनि अनुरोध गरेको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि कन्ट्रयाक्ट ट्रेसिङ मार्फत नमूना संकनमा सहज बनाउन सबैलाई आग्रह गरिएको छ ।

जिल्ला कमाण्ड पोस्ट बागलुङका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले लकडाउनको विषयमा जिल्ला स्तरबाट औपचारिक निर्णय नभएको बताउनुभयो । पछिल्ला दिनमा समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेकाले सबैले सचेतता अपनाउन जरुरी भएको, थप जोखिमयुक्त परिस्थितिको बिश्लेषण गरेर आवश्यक निर्णय लिइने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *