आलु उत्पादनमा भारी गिरावट, ढोरपाटनका किसान भन्छन् : आलुको बिउँ जोगाउनै मुस्किल

आदर्श अनलाइन, बागलुङ

जिल्लाको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष हरीबहादुर घर्ति मगरले २५ रोपनी क्षेत्रफलमा आलु खती गर्दै आउनुभएको छ । उहाँले वर्षेनी २५ रोपनी जग्गाबाट ६० मुरी आलु फलाउदै आए पनि यस वर्ष जम्मा ५ मुरी आलु उत्पादन भएको बताउनुभयो । अहिले मगर सहित ढोरपाटनका सबै किसान आलु खन्न व्यस्त छन् । फलेका आलुको समेत सानो दाना लागेको मगरको भनाई छ । मगर जस्तै ढोरपाटन उपत्यकावासीको मुख्य बाली आलु हो । आलु बाहेक त्यस क्षेत्रमा ज्वातो र स्याउ खेती मात्रै हुन्छ ।

अत्याधिक चिसो ठाउँ भएकाले स्वादिष्ट आलु फल्ने यस क्षेत्रमा वैशाखबाटै वर्षा हुन थाले पछि आलु उत्पादनमा भारी गिरावट आएको मगरको भनाई छ । यहाँका सबै स्थानीयले आलु सँग अन्य अन्नपात साट्ने अथवा आलु बेचेर परिवार पाल्दै आएका थिए ।

बागलुङ जिल्लाको ढोरपाटन क्षेत्र पर्यटकिय, धार्मिक तथा प्राकृतिक हिसावले मात्रै होइन, आलु र स्याउँ खेतीले समेत प्रख्यात छ । यहाँ आउने जो कोहीले कोशेलीको रुपमा आलुनै लैजाने गरेका छन् । “वर्षेनी ६० मुरी आलु फल्थे” मगरले भन्नुभयो “अहिले मौसमले साथ दिएन, आलु उत्पादनमा भारी गिरावट आएर जम्मा पाँच मुरी मात्रै आलु फलेको छ ।” ढोरपाटनका किसान यस वर्ष बिक्री गर्ने भन्दा पनि आलुको बिउँ जोगाउनै मुस्किल रहेको बताउँछन् ।

ढोरपाटन उपत्यकाको मस गाउँ, भूजी गाउँ, गावा, गाउँ, गिजा, गुम्बा स्यालपाखे, श्रणनार्थी बस्ती, र नवी लगायतका एक दर्जन गाउँमा आलुखेती राम्रो हुने गरे पनि यस वर्ष आलु उत्पादनमा उल्लेख्य कमी आएको अर्का किसान पानबहादुर बिकले बताउनुभयो ।

ढोरपाटनवासीका लागि साउन महिना आलु खन्ने महिनाको रुपमा रहे पनि यस वर्ष आलुको दाना नलागे पछि किसानहरु चिन्तित भएका छन् । ढोरपाटन नगरपालिका–९ मा ढोरपाटन उपत्यकामा अधिकांश घुम्ती बसाई रहेकाले यस स्थानमा नगरपालिकाका अधिकांश वडाको जग्गा रहेको छ । ढोरपाटन नगरपालिकाकै अधिकांश वडाका मानिसले ढोरपाटन उपत्यका क्षेत्रमा आलु खेती गर्दै आएका छन् ।

अत्यधिक वर्षा भएका कारण आलु उत्पादन नहुँदा बिउँ जोगाउनै गाह्रो भएकाले निराश बनाएको स्थानीय जिवनकुमार पुनले बताउनुभयो । करिब ४५ रोपनी जग्गामा आलु खेती गर्दै आउनुभएका उहाँले अब वर्षभर जिविका कसरी चलाउने भन्ने परिवारमा पिरलो समेत थपिएको बताउनुहुन्छ ।

धेरैले व्यवसायीक रुपमा आलु खेती गर्दै आए पनि आफूले परिवारको लागी मात्र तीन रोपनी जग्गामा आलु खेती गरे पनि यस वर्ष मकैको दाना जस्तो आलुको फलेकाले समस्यामा परेको स्थानीय चकबहादुर अदैले गुनासो गर्नुभयो । “चार पाँच मुरी आलु फल्थे, वर्षभरी खान पुग्थ्यो” अदैले भन्नुभयो “अहिले आलु खाने त कुरै छौडौ, बिउँ मात्रै जोगाउन पाए पनि राम्रो हुन्थ्यो ।”

स्याउको व्यवसायिक निर्यात हुन नसके पनि ढोरपाटनवासीको मुख्य पेशाका रुपमा रहेको आलु देशका विभिन्न स्थानमा निर्यात समेत हुँदै आएको छ । चिसो ठाउँ भएकाले यहाँको आलु निकै स्वादिष्ट मानिन्छ । यस क्षेत्रका मानिसहरु अधिक समय भातको साटोमा आलुनै खाने गर्दछन् ।

घाम लाग्नुपर्ने समयमा अत्याधिक वर्षात् भएकाले डढुवा रोग लागेका कारण आलुले दाना नलगाएको ढोरपाटन नगरपालिकाका कृषि शाखाका प्रमुख महेन्द्र अधिकारीले जानकारी दिनुभयो । वैशाख, जेठ, असार आलुको सिजन भए पनि अविरल वर्षाका कारण आलुले दाना लाग्ने वेलामा डढुवा रोग लागेकाले आलुका बोट मर्ने, दाना नलाग्ने जस्ता समस्या भई आलु उत्पादनमा भारी गिरावट आएको अधिकारीको भनाई छ । “ढोरपाटन आलुका लागि निकै उर्वर मानिदै आए पनि यस सिजनमा आलुका जरा कुहिने, बोट मर्ने जस्ता समस्या देखियो” शाखा प्रमुख अधिकारीले भन्नुभयो “रोग नियन्त्रणका लागि नगरपालिकाले तीन लाख बराबरको डढुवा नियन्त्रण विषादी समेत किसानलाई वितरण ग¥यौं, तर पानी नरोकिदाँ विषादीले समेत काम गर्न सक्ने अवस्था भएन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *