आदर्श अनलाइन, बागलुङ
कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी समस्या, संकट र सकसमा दैनिक जिविकाका लागि काम गर्ने मजदुर छन् ।
तीनै मजदुरहरु मध्येको बागलुङ र पर्वत जिल्लाको सिमाना मालढुङ्गा परिसरमा काम गर्ने मजदुरको कथा अझ बढी दुखद र समस्याग्रस्त छ । गिट्टी कुटेर, बालुवा चालर, डम्पिङ साइडको फोहोर संकलन गरेर जिविका चलाउने मजदुरहरु बन्दाबन्दीको पहिलो चरणमा भोक भोकै समेत बस्न बिवश भए । शहर बजारको दुर्गन्धित फोहोरको बिसर्जन स्थल संग यहाँका एक दर्जन महिलाको गहिरो सामाप्यिता छ । त्यही फोहोरमा मोहोर खोज्ने मजदुर बन्दाबन्दीका अवधिमा डम्पिङ साइडमा फोहोर नआउदा भोकभोकै दैनिकी गुजानु परेको अनुभव सुनाउँछन् ।
अहिले जनतन पेट पाल्दै आए पनि बन्दाबन्दीको शुरुको एक महिना छाक टार्नै समस्या भएको बागलुङ नगरपालिकाको डम्पिङ साइडमा फोहोर संकलनबाटै गुजारा चलाउदै आउनुभएका सुस्मा माझीले दुखेसो गर्नुभयो । “शुरुको एक महिना त निकै समस्या भयो, कहिले एैचौ पैचो मागेर छाक टार्न बाध्य भयौं त कहिले भोकै समेत बसेका थियौं” परिवारका अरु चार सदस्यको समेत अभिभावकत्व निभाइरहनु भएकी माझीले भन्नुभयो “नगरपालिकाबाट फोहोरको गाडी नआउदा काम विहिन भइयो, न त बालुवा ढुङ्गा कालीगण्डकी किनारबाट निकाल्न पाइयो ।”
कालीगण्डकीको दुवै किनार बागलुङ नगरपालिका–१ र कुस्मा नगरपालिका–१ मा करिब ८० परिवार बसोबास गर्दै आएका छन् । उनीहरु डम्पिङ साइडमा रहेको फोहोर संकलन, नदीबाट ढुङ्गा, बालुवा निकाल्ने तथा गिट्टी कुटेरै जीवन चलाउदै आएका छन् ।
बागलुङ बजारमा संकलन हुँदै आएको फोहोर सहकारीको समन्वयमा बागलुङ नगरपालिकाले मालढुङ्गामा डम्पिङ साइड निर्माण गरेर फाल्दै आएको छ । यही डम्पिङ साइडमा कवाडी, कुहिएको खाद्यान्न र प्लाष्टिक संकलन गरी यहाँका एक दर्जन भन्दा बढी महिलाले जीवन चलाउदै आएका छन् । बागलुङ बजारको फोहोरको डम्पिङ साइडमा नआउने हो भने १२/१५ परिवारकै छाक बन्द हुने स्थानीय रतन परियारले बताउनुभयो । “मालढुङ्गाको दुवै तर्फका मजदुरको दैनीकीनै फोहोर, बालुवा तथा गिट्टी कुट्दैमा जान्छ” परियारले भन्नुभयो “बन्दाबन्दीको समयमा न फोहोरनै आयो, न गिट्टी बालुवानै बिक्री भयो, त्यतिवेला भोकै बस्नुको विकल्प थिएन ।” अन्य आम्दानीको स्रोत नभएका कारण समस्या झेल्दै आएका मजदुरका परिवारहरुलाई बन्दाबन्दी बज्रपात भएको गौमती परियारले बताउनुभयो ।
लकडाउनदेखि हाल सम्म उनीहरुले राहतका नाममा कुस्मा नगरपालिका र बागलुङ नगरपालिकाले परिवारका आधारमा ५ देखि २५ किलो चामल बाहेक अरु नपाएको गुनासो गरेका छन् । गत हप्ता मात्रै डम्पिङ साइडमा फोहोर संकलन गर्ने १२ मजदुर परिवारलाई रिड नेपाल र विद्यामन्दिर पुस्तकालयले संयुक्त रुपमा एक महिनालाई पुग्ने खाद्यान्न वितरण गरेको थियो ।
मालढुङ्गामा स्थानीय भन्दा बाहिरबाट आएर आश्रय लिने मजदुरका परिवार बढी भएका कारण त्यही मजदुरी समेत प्रतिस्पर्धा भएका कारण अशक्त मजदुरको परिवार भोकै बस्नु पर्ने बाध्यता रहदै आएको छ । वर्खाको समय कालिगण्डकी नदिको उलर्दो भेलमा दाउरा छोपेर समेत छाक टार्दै आएका मजदुरले वर्खाको समय ढुङ्गा र बालुवा निकाल्न कठिन हुने भएकाले अझै बढी समस्या भएको छ । डम्पिङ साइडमा कुहिएको खाद्यान्न बंगुर फर्मलाई र संकलन भएको कवाडी बिक्री गरेर जीवन गुजारा चल्दै आएको छ । अहिले बन्दाबन्दी खुकुलो भएसँगै फोहोर आउन थालेपछि केही राहत भएको मजदुरको भनाई छ । तर, कालीगण्डकीको बहाव नघट्दा सम्म बालुवा निकाल्न नपाउँदा अधिकांश मजदुर फूर्सदिला छन् ।