बागलुङमा निषेधाज्ञा : नागरिक पनि अटेरी !

बागलुङका प्रजिअ आफै छड्के अनुगमनमा

डम्मर बुढा मगर, बागलुङ
समुदाय स्तरमा समेत कोरोना संक्रमणको संख्या बढ्दै गएपछि बागलुङ बजार सहित नगरका सबै वडामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

गत मंगलबारदेखि निषेधाज्ञा जारी गरे पनि बजारमा मानिसहरुको हिँड्डुल गर्ने क्रम रोकिएको छैन । हरितालिका तिज भएकाले केही चहल पहल हुनु स्वभाविक भए पनि महत्वपूर्ण काम बाहेक लखर लखर हिँड्नेहरुको संख्या कम छैन ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै निषेधाज्ञा जारी गरे पनि सबै नागरिक संवेदनशिल नदेखिएको प्रहरी प्रशासन बताउँछ । बजारमा ठूला तथा साना चार पाङग्रे सवारी साधन फाट्ट फुट्ट चले पनि मोटरसाइकल भने धेरैनै चलेका छन् । कतिपय मानिसहरु अटेर गरि माक्स समेत नलगाई बजारमा हिँडेको पाइएकाले सम्झाई बुझाई गरिरहेको प्रहरी बताउँछ ।

निषेधाज्ञाका अवधिमा पनि नागरिकले लापरवाही गरेको तिव्र गुनासो पछि प्रमुख जिल्ला अधिकारी सहितको टोलीले छड्के अनुगमन समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कमाण्ड पोस्टका संयोजक सुरेश न्यौपाने, जिल्ला प्रहरी प्रमुख शारदा प्रसाद चौधरी, उप–अनुसन्धान निर्देशक नगेन्द्रराज गिरी, नेपाली सेनाका सेनानी कृष्ण भण्डारी, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक रमेश गुरुङ, अनुगमन समितिका सदस्य सचिव धिरेन्द्रराज पन्त सहितको टोलीले मालढुंगा देखी वडा नं २, ३ र ४ को कुँडुले सम्मका क्षेत्रमा छड्के अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अत्यावश्यक काम बाहेक सडकमा निस्किएकाहरुलाई कोरोना जोखिमको संवेदनशिलता र निषेधाज्ञाको पूर्ण पालना गर्न सचेत गराइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । टोलीले सबै नागरिकलार्य अनिर्वाय मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, अत्यावश्यकी काम बाहेक घर बाहिर ननिस्कन र सडकमा हिँड्डुल नगर्न आग्रह गरेको छ ।

निषेधाज्ञालाई प्रभावकारी बनाउन बागलुङ नगरपालिका वडा नं १ को खुँदुर्के (मालढुंगा), वडा नं २ को हल्लनचोक र धौलागिरी चोक, वडा नं ३ को देउराली चोक र शिवधारा चोक तथा वडा नं ४ को कुँडुले र उपल्लाचौर लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रशासनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको थियो भने नगरका सबै वडाका सेवा बन्द गरिएको छ । अत्यावश्यक खाद्यान्न, तरकारी, दुध, औषधी, दाना ढुवानी, एम्बुलेन्स, प्रेसका सवारी लगायत मात्रै सञ्चालन गर्न दिने उल्लेख थियो । तर, बजारमा ध्वनी प्रदूषण नै हुने गरि मोटरसाइकलका चर्को आवाज सहित यात्रा गरिरहेका छन् ।

दैनिक उपभोग्य तथा अति आवश्यक सामग्री खरिद विक्रीका लागि विहान ७ बजेदेखि ९ बजे र अपरान्ह ४ देखि साँझ ६ बजेसम्म खुल्ला गर्ने भने पनि व्यवसायीले समेत अटेरी गरेका छन् ।

हरेक नागरिकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिए पनि कतिपय नागरिकले प्रहरी प्रशासनका लागि गरिदिने जस्तो व्यवहार गर्दा समस्या भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । समुदाय स्तरको बढ्दो जोखिम र थप भयावह अवस्था रोक्न निषेधाज्ञा जारी गरिएकाले यसलाई प्रभावकारी बनाउन ठाउँ–ठाउँमा प्रहरी, सशस्त्र प्रहरी र अनावश्यक सवारी नियन्त्रण गर्न ट्राफिक प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । यस प्रति नागरिक आफै पनि सचेत हुनु पर्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *