संक्रमितको सम्पर्कका दुई सय बढीको स्वाब संकलन

डम्मर बुढा मगर, बागलुङ
जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिए सँगै संक्रमितको सम्पर्कमा आएकाको खोजी तथा परीक्षण कार्यलाई तिव्रता दिइएको छ ।

समुदायमा थप कोरोना संक्रमण फैलिन नदिन र बढ्दो जोखिम रोक्नका लागि कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने प्रयास जारी रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

हालसम्म संक्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङबाट २ सय १३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । बागलुङ नगरपालिका वडा नम्बर २ की होटल व्यवसायी, वडा नम्बर ३ की कुखुरा व्यवसायी र बडिगाड गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको सम्पर्कमा आएकाको परीक्षण गर्दा थप ७ जनामा संक्रमण पुष्टि समेत भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ की महिलाको सम्पर्कमा आएका ६ जना र बडिगाडका वडा अध्यक्षको सम्पर्कमा आएका १ जनामा कोरोना संक्रमण पुष्टि भए पछि थप कन्ट्याक्ट ट्रेसिङको कार्य चलिरहेको गुरौले बताउनुभयो ।

संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको सोधखोज गरेर बागलुङ नगरपालिकाले १ सय १३ जनाको स्वाब संकलन गरिसकेको छ भने थप ६१ जनाको स्वाब संकलन गर्ने तयारीमा रहेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । यस्तै बडिगाड गाउँपालिकाले एक सय जनाको स्वाब परीक्षण गरिसकेको छ भने थप ३५ जनाको गर्ने तयारी गरेको स्वास्थ्य शाखा प्रमुख चुडामणी कँडेलले बताउनुभयो । १ सय जनाको परीक्षण गर्दा कर्मचारी, व्यवसायी र जनप्रतिनिधिको समेतको गरिएको छ ।

प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । एकैछिन सम्पर्कमा भएकाहरु पनि आत्तिएर आउने गरे पनि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार मात्रै कन्ट्याक्ट ट्रेसिङमा स्वाब लिइएको गुरौले बताउनुभयो । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार, कम्तिमा संक्रमितसँग १५ मिनेट भेटघाट,कुराकानी र प्रत्यक्ष सम्पर्क भएको अवस्थामा मात्रै पीसीआर परीक्षण गरिने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *