समुदायमा कसरी फैलियो कोरोना ? अनुत्तरित स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मी

आदर्श अनलाइन, बागलुङ
गत साउन १५ गते बागलुङ हाल अमेरिकामा रहनुभएका जीवाणु बैज्ञानिक डा.सुदिप खड्काले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको थियो–‘सरकारलाई सफल देखाउने जबरजस्त चक्करमा कोरोना समुदायस्तरमै फैलिएको छ ।’ तर त्यो समय सम्म पनि नेपालमा कोरोना भाइरस समुदाय स्तरमा फैलिएको छ भनेर मान्नलाई न त सरकार तयार थियो, न त सरकारका निकाय नै । कोरोनाको बैज्ञानिक वा प्राकृतिक उपचार पद्धति पत्ता नलागेको समयमा लक्षणयुक्त संक्रमित र मृतकको संख्या बढ्दै जानुले भयावह स्थितिको संकेत गरेको डा.खड्काको दाबी थियो । अहिले खड्काले भनेकै शैलीमा बागलुङ जिल्लामा कोरोना समुदायस्तरमै देखा पर्न थालेको छ ।

बागलुङ जिल्लामा हालसम्म २ सय ८१ जनालाई संक्रमण देखिएको छ । जसमा १७ जना समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यीत सबैजसोको ट्राभल हिस्ट्री छैन । उनीहरु कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा पनि गएका होइनन् ।

बागलुङको बडिगाड गाउँपालिकाका २ जना, ४ जना स्वास्थ्यकर्मी र बागलुङ नगरपालिकाका ८ जना, काठेखोला गाउँपालिकाका ३ जना संक्रमित समुदायस्तरको भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ बताउनुहुन्छ । जसमध्ये काठेखोलाका ३ र ३ जना स्वास्थ्यकर्मी निको भइसकेका छन् भने ११ जनाको धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

अहिलेसम्म समुदायमा कोरोना कसरी पुग्यो ? यसबारेमा अहिले सम्म केही बताउन सक्ने अवस्था नरहेको गुरौको भनाई छ । काठेखोला गाउँपालिका ३ जना क्वारेन्टिन व्यवस्थापन, बडिगाडका दुई वडा अध्यक्ष क्वारेन्टिन र संक्रमितको व्यवस्थापन तथा स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिएका थिए । बागलुङ नगरपालिकाका अन्य संक्रमितको भने कोरोना संक्रमणको फैलिएको ठोस आधार छैन । ‘बानपा–३ हाडेपाखाकी महिला केही समय पहिले धौलागिरी अस्पतालमा उपचारका लागि आएको बुझिएको छ,’ गुरौले भन्नुभयो ‘तर अस्पतालमा आएकै भएर कोरोना स¥यो भन्न पनि कठिन छ ।’ बडिगाडमा अरु कसैलाई नभएको अवस्थामा एक अध्यक्षमा देखिए पछि उहाँबाट अर्का अध्यक्षमा सरेको पाइएको छ । तर कसरी स¥यो भन्नेमा कुनै आँकलन नै गर्न नसकिएको बडिगाड स्वास्थ्य शाखामा कार्यरत चुडामणी कंडेलले बताउनुभयो । यसका लागि छुट्टै गहिरो खोज आवश्यक रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

समुदायस्तरमा फैलिसकेको कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ नगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । तर, नागरिक स्तरबाट गम्भीरतापूर्वक नलिएर निषेधाज्ञा समेत बेवास्ता गर्दा अवस्था थप जटिल बन्न सक्ने उहाँको भनाई छ । ‘हामीहरुले कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संकलन गर्ने, होम क्वारेन्टिनमै बस्न लगाइरहेका छौ’ उहाँले भन्नुभयो, ‘नियमित हात धुने, सेनिटाइजर प्रयोग गर्ने र अति आवश्यक नपरे सम्म घर भित्र बसेर सुरक्षित हुने तर्फ नागरिक पनि सचेत जिम्मेवार हुनुपर्छ ।’

खाद्यान्न, दुध, तरकारी र अति आवश्यक सामग्री खरिद गर्नका लागि निश्चित समय तोकिए पनि प्रहरी देखे पछि मात्र सटर तान्ने, सामान किन्न हिडेको भन्दै जमघट गरेर हिड्डुल गर्र्दा थप समस्या उत्पन्न हुन सक्ने उहाँको भनाई छ । समुदाय भित्र भित्रै कोरोना फैलिन थाले पछि नियन्त्रणमा थप कठिनाइ हुने देखिएकाले सरकार र यसका निकायको एकल प्रयासले मात्र सम्भव नभएकाले नागरिक स्वयंम् सचेत बन्नुपर्ने गुरौको भनाई छ ।

पछिल्ला संक्रमितमा लक्षण पनि
चैत्र दोस्रो सातादेखि जिल्लामा कोरोना संक्रमित देखिन थालेको हो । त्यस यता २ सय ८१ जना संक्रमित पुगेको छ । शुरुवातका दिनमा कोरोना संक्रमित पुष्टि भए पनि कुनै लक्षण नदेखिएका धेरै संक्रमणको शिकार बने । तर, पछिल्ला दिनमा समुदायमा संक्रमित पुष्टि भएकाहरुमा कुनै न कुनै लक्षण देखिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिए । ‘पहिलेका संक्रमितहरुमा रुघाखोकी, ज्वरो जस्ता लक्षणहरु देखिएका थिएनन्, निकै कम संख्यामा छिटफुट मात्रामा देखिएको थियो’, खनालले भन्नुभयो ‘अहिलेका प्रायजसोमा ज्वरो, खोकी, रुघा लागेको भेटिएको छ, यसले गम्भीर अवस्था पनि आउन सक्छ, सबै सचेत बन्न जरुरी छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *