धारामा खानेपानी आउँदा गाउँले दंग

डम्मर बुढा मगर, बागलुङ
भनिन्छ–पानी जिन्दगानी हो । पानी बिना माछा मात्रै छटपटाउदैन । सिंगो मानव समुदाय र पृथ्वीका सारा प्राणीको जीवन परिकल्पना गर्न सकिन्न । र त त्यही पानीका कारण वर्षौदेखि नागरिकले कठिन दैनिकी बिताउन बाध्य छन् ।

जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ का अर्नाकोट, खल्बाङ, घम्पु र अर्नाकका वासिन्दाले पनि मुलुकमा धेरै ठुला ठुला परिवर्तन भए पनि खानेपानीको आधारभूत आवश्यकता पुरा गर्न वर्षौ कुर्नुप¥यो । दैनिक संकट र सकसपूर्ण जीवन काट्ने क्रममा राजनीतिक दल र नेताहरुको आश्वासनमै वर्षौ बिते ।

अन्ततः स्थानीयको निरन्तर पहल र खबरदारीका बीच हालै मात्र अर्नाकोट, खल्बाङ, घम्पु र अर्नाकका स्थानीयले सहज खानेपानी सुविधा प्राप्त गरेका छन् घर छेरको धारामा केही दिन अगाडी पाइप मार्फत ठूलै पानीको धारा खस्दा बुढापाकादेखि बालबालिकासम्म सबै हर्षित र दंग भए । जीवनको लामो अवधि घण्टौ पानी बोकेर जीवन गुजारा गरेका स्थानीय सकसपूर्ण दैनिकीमा बदलाव आएपछि उत्साहित छन् ।

खानेपानीको मुख्य समस्या रहेको यस क्षेत्रमा ढोरपाटन नगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा ९० लाख रुपैयाँ बजेट बिनियोजन गरेर काम अघि बढाएको थियो । यसमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतको ३८ लाख समेत थप गरी कुल १ करोड २८ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको हो ।

गाउँमा पानी आएपछि स्थानीयको दैनिकी समेत फेरिन थालेको छ । हरेक विहानजसो गाग्री बोकेर पानी ल्याउन जाने र घण्टौ पालो कुर्ने समस्या पनि अन्त्य भएको छ । वर्षौदेखि खानेपानीको अभावमा गुज्रिएका यहाँका स्थानीयलाई पानीको सहज सुविधा भएपछि जुगै फेरिए जस्तो आभाष भएको स्थानीय यमकुमारी रसाइली बताउनुहुन्छ ।

गाउँमा पानी नहुँदा आफूहरुको विहान र दिनको अधिक समय पानी र पालोमै बित्ने गरेको रसाइलीको भनाई थियो । ‘हामीहरुले त सानैदेखि घण्टौको यात्रा गरे पानी बोकेर ल्याएर प्रयोग गथ्र्यौँ, अहिले त केही दिन अगाडी गाउँमै पानी आउन थालको छ, अब धेरै दुःख नहोला,’ उहाँले भन्नुभयो ।

पहिले बिहानै उठेर पानी ल्याउनका लागि टाढा जानुपर्ने, त्यसमा पनि पालो पर्खिएर पानी लिएर आउँदा आफ्ना बालबच्चालाई स्कूल पठाउन ढिला हुने गरेको स्थानीयको गुनासो थियो । पानीकै कारणले केटाकेटीको पढाइ समेत बिग्रिने अवस्था बिद्यमान रहे पनि अब नियमित दैनिकी, सरसफाई सबै काममा सहज हुने उनीहरुको अपेक्षा छ ।

ढोरपाटन नगरपालिका ९ को पिपल खर्कदेखि २७ किलोमिटर टाढाबाट पाइप मार्फत अर्नाकोट बँयचौरमा पानी ल्याइएको छ । मुहानदेखि दुई वटा छुट्टाछुट्टै पाइपमा पानी ल्याइएको छ । जसमध्ये एक पाइप ढोरपाटन ७ घम्पुका ४० घरधुरीका लागि र अर्को पाइप वडा नम्बर २ अर्नाकोटका ८० घरधुरी, खल्बाङका ४० र अर्नाकका ३० गरी १ सय ५० घरधुरीलाई वितरण गरिने वडा नम्बर २ का अध्यक्ष युवराज महतले जानकारी दिनुभयो ।

यहाँका नागरिकको वर्षौदेखिको समस्या लामो समयको पहल र प्रयास पछि अहिले समाधान भएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो ।

‘यस क्षेत्रका धेरै नागरिक खानेपानी नहुँदा निकै दुःख भोग्नुभएको थियो, यसको समाधानका लागि हामीले पहिलेदेखिनै योजना बनाएका थियौँ,’ पोखरेलले भन्नुभयो ‘स्थानीयको तदारुकतामा नगरपालिकाले विशेष पहल गरेर अहिले गाउँमा पानी ल्याउन सफल भएका छौँ, अझै धाराहरु व्यवस्थापन गर्न बाँकी छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *