लम्जुङको बेंसीसहरमा निषेधाज्ञा जारी गरिने

आदर्श अनलाइन, लम्जुङ  कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लम्जुङ बेसीसहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय लम्जुङले आज दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७ गते साँझ ६ बजेसम्मको लागि नगरपालिकाको वडा नं. २, ३, ७ र ८ का बजार क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

जिल्ला कोभिड­१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार स्थानीय ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन, २० दफा २ बमोजिम सो समय अवधिका लागि निषेधाज्ञा गरिएको हो । जिल्लामा आज मात्र नेपाली सेनामा कार्यरत २० जना र बेसीसहर नपा वडा नं ७ र ८ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बजार क्षेत्रमा समेत जोखिम बढेकाले १ हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनले भने, ‘अत्याश्यक बाहेकका सम्पूर्ण सेवाहरु तथा कार्यहरु बन्द रहनेछ ।’ औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै बारीमा कृषिजन्य कार्य गर्नेजस्ता आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने भएको छ ।

त्यस्तै, एम्बुलेन्स, बिरामी बोक्ने गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शववाहन, फोहोरमैला व्यवस्थापन गर्ने गाडी, निर्माण सामग्री ढुवानी साधन, पशुपंछी दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त सवारीसाधनबाहेक सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने जिल्ला प्रशासनले जनाएको छ ।

खाद्यान्न र तरकारीको लागि भने बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाउने प्रशासनले जनाएको छ । स्वास्थ्य संस्था, अत्याश्यक सेवाका कार्यालय, सरकारी कार्यालयबाट प्रदान हुने नियमित सेवा सञ्चालन गर्ने सोका लागि न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्ने भएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट प्रदन गर्ने एटिएमबाहेकका अन्य सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक (विहाह ब्रतबन्ध) लगायतका धेरै जना जमघट तथा भेला हुने सबै प्रकारको क्रियाकलापमा गर्न नपाउने भएको छ ।

जिल्लामा हालसम्म ९ महिलासहित १ सय ३९ जना कोरोना संक्रमित भएकामध्ये ९ महिलासहित १ सय ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । केही दिनअघिदेखि उपचारत् ५ र आज थपिएको २३ जना गरी २८ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *