१ सय ५० घर उच्च जोखिममा

डम्मर बुढा मगर, बागलुङ
हरेक वर्ष वर्षायाममा जिल्लामा अकालमै ज्यान गुमाउने, विस्थापित र मृत्युको जगजगीमा बाँच्नु पर्ने बिवशता यस पटक पनि दोहोरिएको छ ।

बाढी पहिरोका कारण असारदेखि हालसम्म बागलुङमा ९ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यलय बागलुङले तयार पारेको तथ्याङ्क अनुसार असार १ गतेदेखि हालसम्म पहिरोले २४ घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ भने २८ गोठ पूर्ण रुपमा भत्किएका छन् ।
जिल्लाभरका विभिन्न स्थानको पहिरोका कारण १ सय ५० घर उच्च जोखिममा परेका छन् भने १ हजार ६० जना विस्थापित भएका छन् । उनीहरु हाल छिमेकीको घरमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

गत असार महिनाको सुरुमै जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ४ फापर खेतकी ३८ वर्षीया बिमला पुनले घर माथिबाट झरेको पहिरोले पुरिए ज्यान गुमाउनु परेको थियो । साउन ४ गते बाटो खन्ने क्रममा सडक माथिबाट झरेको पहिरोले जैमिनी नगरपालिका वडा नम्बर २ का २५ वर्षीय रोशन नेपाली मृत्यु भयो भने पर्वत जलजला गाउँपालिका वडा नम्बर २ का नेत्रबहादुर पुन अझै वेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार साउन १३ गते जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर १ हर्पेका ६ वर्षीय बालक समिर परियार, तमानखोला गाउँपालिका वडा नम्बर २ का १३ वर्षीय बालक खिमबहादुर विक र १२ वर्षीया बालिका रिता विकको ज्यान गएको थियो । उनीहरु राति सुतिरहेको बेला घर माथिबाट आएको पहिरोले पुरिएर मृत्यु भएको थियो ।

साउन ३१ गते निसीखोला गाउँपालिका वडा नम्बर ५ घर माथिबाट झरेको पहिराले १३ वर्षीय बालक विरेन्द्र विक र ६ वर्षीय बालक प्रवेश विकको ज्यान लिएको थियो । सोही दिन वडा नम्बर ३ की ६० वर्षीय बली विकको पनि पहिरोमा परि ज्यान गएको थियो ।

भदौ ९ गते ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाककी १९ वर्षीया युवती पुजा परियारको मृत्यु भएको छ । परियार पनि राति सुतिरहेको बेला घर माथिबाट पहिरो झर्दा घरसहित पुरिएर मृत्यु भएको थियो । बाढी पहिरोमा परि २ दुई जना घाइते भएका छन् । पहिरोमा परि १७ पशु चौपायाको मृत्यु भएको छ ।

जिल्लाभर पहिरोका कारण हालसम्म १ करोड १२ लाख २४ हजार भन्दा बढीको क्षति पुगेको छ । स्थानीय तहले विकासको नाममा जथाभावि रुपमा सडक निर्माण गर्नाले ग्रामिण क्षेत्रका वस्ती जोखिममा पर्ने गरेको र पहिरोमा परि नागरिकले ज्यान गुमाएको पाइएको डिएसपी रेग्मीको भनाई छ । ‘प्रायजसो ग्रामिण क्षेत्रमा पहिरोमा परि नागरिकले ज्यान गुमाउनुको कारण अव्यवस्थित सडक निर्माण गरिनु हो, गाउँ हे¥यो भने जताततै सडकै सडक देखिन्छ,’ उहाँले भन्नुभयो, ‘अव्यवस्थित सडक निर्माणलाई रोक्न सकिएन भने गाउँका बस्तीहरु जोखिममा पर्छन् र हरेक वर्ष नागरिकले ज्यान गुमाउनुपर्छ ।’

सम्बन्धित निकायले बाढी पहिरो रोकथाम गर्न तर्फ ध्यान नदिदा नागरिकले समस्या भोग्नु परेको सामाजिक अभियन्ता राम शर्माले बताउनुभयो । सम्बन्धित निकायले नागरिकलाई सचेतता गराउनुको सट्टा गाउँहरु भत्काउँदै मनपरी विकास गर्न खोज्दा अप्रिय घटना र क्षति बेहोर्नु परेको उहाँको भनाई छ । ‘नागरिकलाई सचेतता गराउनु छैन, हाम्रो जस्तो भूगोलमा जथाभावी सडक खनिएको छ यो भन्दा ठूलो खतरा केही हुन सक्दैन, यस तर्फ सबै निकायले ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो ‘जबसम्म नागरिक र सरकार विपद व्यवस्थापनका सम्बन्धमा सचेत बन्दैनन्, तबसम्म यस्ता घटना भइरहन्छन् ।’ सरकारले जोखिममा रहेका बस्तीलाई वर्षा अगाडी नै व्यवस्थापन गर्नु पर्ने र विपद् व्यवस्थापन सम्बन्धि सचेतना दिनु पर्ने उहाँले आवश्यकता औल्याउनुभयो । विपद् व्यवस्थापन समिति निस्क्रिय र स्थानीय सरकार अवैज्ञानिक तरिकाले विकास निर्माणमा लागेको उहाँको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले स्रोत र साधनले पुगे सम्म विपद् व्यवस्थापन तर्फ सक्रिय भएर लागेको बताउनुभयो । यस्ता घटनाबाट बच्न नागरिक आफै पनि सचेत हुनु पर्ने उहाँको भनाई छ । ‘विपद् व्यवथापनका निम्ति हामीले सकेसम्म कोशिस त गरिरहेका हुन्छौ, नागरिक आफै पनि सचेत हुन जरुरी छ, घर बनाउँदा पनि उपयुक्त स्थानमा निर्माण गर्नु प¥यो,’ उहाँले भन्नुभयो ‘नागरिकलाई सचेत बनाउनदेखि स्थानीय सरकारसँग सहकार्य गरेर जोखिममा परेकालाई व्यवस्थापन गर्दै आएका छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *