पर्यटक तान्दै निसीको रिग ताल

डम्मर बुढा मगर, बागलुङ
मध्यपहाडी लोकमार्गले जोडिए सँगै जिल्लाको दुरमा रहेको निसीखोला सुगम बन्दै गएको छ ।
यति मात्रै होइन, लोकमार्गले जोडिएसँगै यहाँका थुप्रै धार्मिक तथा पर्यटकीय गन्तव्यको समेत पहिचान र प्रर्वद्धन गर्न थालिएको छ ।

पछिल्लो समय निसीखोलाको रिग ताल धेरैको रोजाइमा पर्न थालेको छ । वर्षाको समयमा होस् या हिउँदको समय । ताल हेर्न दैनिक बाक्लै संख्यामा आन्तरिक पर्यटकको उपस्थिति हुने गरेको छ ।

बागलुङ, रोल्पा र रुकुमको सिमानामा पर्ने यो ताल निसीखोलाको आकर्षक गन्तव्य मध्येमा पर्छ । कोरोनाको महामारीका बीच पनि कोरोना छल्दै तालको अवलोकन गर्ने र रम्नेको बाक्लो उपस्थिति हुने गरेको निसीखोला गाउँपालिका वडा नम्बर ६ का स्थानीय शेरबहादुर घर्ती मगरले बताउनुभयो । अधिकांश नागरिक ट्याक्सी, मोटर साइकल लगायतका सवारी साधन लिएर तालमा पुग्ने गरेका छन् ।

सहर बजारमा कोरोनाको त्रास भएको भन्दै दैनिक दर्जनौको संख्यामा आन्तरिक पर्यटक तालमा पुग्ने र रमाइलो गर्ने गरेको घर्तीको भनाई छ । ‘तल–तल कोरोनाको डर हुँदो रैछ, सबै गाडी, मोटरसाइकल लिएर ताल तिर जाने गर्छन्,’ उहाँले भन्नुभयो ‘यहाँ बाटो नआउँदा सम्म कोही आउँदैन थियो, आजभोली त दिन दिनै मान्छे आइरहेका छन् ।’

बागलुङ, रुकुम र रोल्पा तीन जिल्लाको सिमाना रहे पनि ताल भने बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ मा पर्छ । समुन्द्री सतहदेखि करिब ३ हजार २ सय मिटर उचाईमा रहेको यो तालको लम्बाई १ सय मिटर, चौडाई ६० र गहिराई करिब १२ मिटर रहेको स्थानीय बताउँछन् । जहाँबाट रोल्पा, रुकुम, प्युठान, पर्वत र बागलुङको विभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ । यहाँ आउने जो कोही सेताम्मे हिमश्रृङ्खला र शान्त वातावरणसँगै चराचुरुङ्गीको सुमधुर आवाजले मोहित हुने गर्छन् ।

पछिल्लो समय समय गाउँपालिकाको सक्रियतामा पर्यटकीय क्षेत्रहरुको पहिचान र विकास गर्न थालको छ । पालिकाले समेत प्रचार प्रसारलाई तिव्रता दिन थाले पछि धेरै भन्दा धेरै आन्तरिक पर्यटकको आगमन हुन थालेको हो । बागलुङका विभिन्न स्थानबाट धेरै पर्यटक आउने गरे पनि रोल्पा र रुकुमबाट भने केही कम आउने गरेको घर्ती भनाई छ । ‘बागलुङ धेरै ठाउँबाट मान्छेहरु आउने गर्छ, बाटो राम्रो र सजिलो पनि छ, पायक पनि पर्छ,’ घर्तीले भन्नुभयो ‘रुकुम र रोल्पाका मान्छेहरु अलि कम आउने गर्छ, उनीहरुलाई अलिकति अपायक परेर होला तर पहिलेको तुलनामा अहिले धेरै आउन थालेका छन् ।’

पर्यटकहरु हिउँदको समयमा चिप्लेटी र हिउँ खेल्न जाने गर्छन् भने वर्षात्को समयमा च्याउ टिप्ने घुमघाम गर्ने, तालमा रमाउन जाने गर्छन् । मध्यपहाडी लोकमार्ग भन्दा केही माथि रहेको तालमा गाउँपालिकाले सडक समेत पु¥याएको छ ।

लोकमार्ग छोडेर पैदल यात्रा गरियो भने १५/२० मिनेटमा तालमा पुग्न सकिन्छ भने गाडीमै जाने हो भने १० मिनेटमै पुग्न सकिन्छ । पहिले पहिले ताललाई भेडी गोठालेहरुले खानेपानी लागि प्रयोग गर्दै आएका थिए । तालको नाम ‘रिग’ खासगरी मगर खाम भाषाबाट राखिएको हो । मगर खाम भाषामा ‘रि’ को अर्थ ‘पानी’ र ‘ग’ को अर्थ ‘जम्मा भएर रहेको भन्ने बुझाउँछ ।

गोठालेहरुले खानेपानीको रुपमा प्रयोग गर्दै आएको ताल अत्यन्त सुन्दर भएको हुँदा गाउँपालिकाले प्रचार प्रसार गरि पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालेको स्थानीय पुनीकला घर्ती मगरले बताउनुभयो । ‘केही समय अगाडी सम्म भेडा गोठालेहरुले यही तालको पानी प्रयोग गर्दै आएका थिए र अहिले पनि प्रयोग गर्ने गर्छन्,’ उहाँले भन्नुभयो ‘पहिले गोठालाहरुले पानी खाने ठाउँ पनि अहिले धेरै आएर मनोरञ्जन गर्ने ठाउँ बन्यो ।’ निसीखोलामा प्रचार प्रसारको अभावमा ओझेलमा यो ताल जस्तै परेको दजनौँ स्थान छन् । तर गाउँपालिकाले तदारुकता देखाए पहिचान हुँदै जाने उहाँको भनाई छ ।

प्राकृतिक सुन्दरता र मनोरम दृश्य भएकाले ताल क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न गाउँपालिकाले गुरुयोजना बनाएर पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । तालको प्रवद्र्धन गर्नका लागि यस वर्ष गाउँपालिकाले केही रकम विनियोज गरेको र त्यसबाट लोकमार्गदेखि तालसम्म पुग्ने पद मार्ग, बगैचा व्यवस्थापन, पार्किङ क्षेत्र, पर्यटक बस्नको लागि विश्राम स्थल, शौचालय र खानेपानीको धारो निर्माण गरिने अध्यक्ष पौडेलको भनाई छ । ‘हरेक वर्ष यसको विकास र प्रवद्र्धनको लागि हामीले थोरै–थोरै बजेट विनियोजन गरि काम गर्दै आएका छौँ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘अहिले लोकमार्गदेखि तालसम्म मोटरबाटोले जोडेका छौँ भने ताललाई केही व्यवस्थित बनाएका छौँ, यो अत्यन्तै रमणिय ठाउँमा रहेको हुँदा यसको प्रर्वद्धन गर्नको लागि हामी निरन्तर योजना बनाएर लागेका छौँ ।’ अध्यक्ष पौडेलले यसको विकासका लागि प्रदेश सरकार र केन्द्र सरकारले पनि केही बजेट छुट्याउन सके जिल्लाकै उत्कृष्ट गन्तव्य बन्न सक्ने उहाँको भनाई छ ।

रिग ताल र यस क्षेत्र आन्तरिक पर्यटकका लागि मात्र नभई बाह्य पर्यटकहरुका लागि आकर्षक गन्तव्य स्थल बन्न सक्ने धौलागिरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कँडेलले बताउनुभयो । उहाँले ताल अत्यन्तै रमणिय स्थलमा रहेको हुँदा बाह्य पर्यटक भित्राउन खास्सै समस्या नपर्ने कँडेलको भनाई छ । ‘ताल र आसपासका क्षेत्रको विकासको लागि स्थानीय सरकारसँगै प्रदेश र केन्द्र सरकार पनि लाग्नु पर्छ, यो क्षेत्र गण्डकी प्रदेश र ५ नम्बर प्रदेशको सिमानामा भएको हुँदै दुवै प्रदेशले चासो राख्नु पर्छ’ कँडेलले भन्नुभयो ‘यसको विकास भयो भने बागलुङ आउने पर्यटकलाई सहजै रुपमा ढोरपाटन र रिग तालमा पुग्न समस्या नै पर्दैन ।’ उहाँले यसको चौतर्फी रुपमा विकास हुन सके पर्यटकीय हब बन्नेमा शंका नभएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *