कृषकको कथा : २५ वर्षदेखि व्यावसायिक कृषि


आदर्श अनलाइन, बागलुङ
गलकोट भन्न साथ जापान लगायत विश्वका धनी मुलुकमा रेमिट्यान्समा रमाएकाहरुको गाउँ सम्झिने धेरै छन् । गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा नपुगेको कमै परिवार भेटिन्छ ।

यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवाहरु पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्नुहुन्छ । अधिकांश साथीहरु जापान अमेरिका गए पनि उहाँको मन कहिलै विदेश मोहमा तानिएन । कारण परदेशिका साथीहरुले जापान, अमेरिका अष्ट्रेलियामा कमाउने हाराहारीको रकम परिवारसँगै गाउँ घरमै बसेर कमाउने गरेको खत्री बताउँनुहुन्छ ।

खत्रीलाई सानै उमेरबाट कृषिप्रति लगाव रहिरह्यो । उमेरले ४५ वर्ष पुग्नुभएका खत्रीले २५ वर्ष देखि व्यावसायिक कुखुरा पालन, २०५७ सालदेखि फ्रेस हाउस, २०६३ सालदेखि हाइटेक प्रविधि मार्फत तरकारी खेती र २०७२ सालदेखि व्यावसायिक किबी खेती गर्दै आउनुभएको छ । “यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन्, विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन” खत्रीले भन्नुभयो “स्वदेशमा आफै माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्टी छु, विदेश जाने कहिल्यै मोह आएन ।” २१ वर्षको उमेर देखि व्यवसाय गर्छु भनेर लाग्नुभएका खत्रीले शुरुमा बोइलर कुखुरा पालन गर्नुभएको थियो । अहिले पनि निरन्तर २५ वर्षदेखि बोइलर कुखुरा पालन गर्दै आउनुभएका खत्रीले पछि तरकारी तथा किबी खेती थाल्नुभएको हो ।

खत्री आफू मात्रै हैन, गलकोट क्षेत्रलाई तरकारी र मासुमा पाँच वर्ष भित्र आत्मनिर्भर गर्ने गरी नगर स्तरीय कृषि सञ्जालको अध्यक्ष भएर कृषि जागरण ल्याउनमा समेत सक्रिय हुनुहुन्छ ।

२०५२ सालमा गलकोट क्षेत्रमै पहिलो पटक व्यावसायिक कुखुरा पालन शुरु गर्दा धेरैले पत्याएका थिएनन्, गुमानसिंह सफल कृषक बन्नेछन् भनेर । उहाँले २५ वर्ष अघिका दिन स्मरण गर्दै भन्नुभयो “यो बीचमा धेरै उतार चढाव आए, कहिले घाटा भयो, कहिलो नाफा भयो ।” कुखुरा पालन व्यवसाय धेरै जोखिमको व्यवसाय भएको उहाँको अनुभव छ ।

निरन्तरको कृषि लगावका कारण गलकोट नगरपालिका–३ हटिया घर भई गलकोट नगरपालिका–५ हरिचौरका कृषक खत्री अहिले बागलुङ जिल्लाकै सफल कृषकका रुपमा परिचित हुनुहुुन्छ । जामुने कृषि फर्म मार्फत व्यवसायिक उत्पादन गर्दै आउनुभएका खत्रीको फर्ममा ८ सय बोइलर कुखुरा, चार हाइटेक टनेल, चार सामान्य टनेलमा समी, बोडी, गोलभेडा लगायतका तरकारी उत्पादन भएका छन् भने काउली बन्दा लगाउने क्रम शुरु भएको छ ।

“कुखुराबाट वार्षिक १५ लाख र तरकारीबाट वार्षिक ६ लाख कारोबार हुन्छ” खत्रीले भन्नुभयो “दुदिलाभाटीमा लगाएको किबी खेतीले बल्ल उत्पादन दिन थालेको छ, अघिल्लो वर्षमा तीन लाखको किबी बिक्री गरे ।”

सबै आम्दानीबाट खर्च कटाउदा वार्षिक पाँच लाख रकम बचत गर्दै आएको उहाँको भनाई छ । उहाँको फ्रेस हाउस, कुखुरा फर्म, तरकारी र किबी खेतीमा उहाँ सहित आमा, श्रीमती र अन्य दुई कामदार खटिदै आएका छन् । जेटिए स्तरको तालिम समेत लिइसकेका खत्रीले हाल सम्म १२ लाख बढी रकम सरकारी स्तरबाट अनुदान पाइसक्नुभएको छ । दुदिलाभाटीमा समेत आफ्नै जग्गा भएका खत्रीले २० रोपनी जग्गामा पाँच वर्ष अघि देखि किबी खेती गर्दै आउनुभएको छ । अहिले उहाँको २ सय किबीको बोटबाट गत वर्ष तीन लाख कमाई गरेको बताउनुहुन्छ । अहिले १५ क्विन्टल भन्दा बढी उत्पादन गर्ने लक्ष्य रहेको खत्रीको भनाई छ । फलको राजाको रुपमा चिनिदै आएको किबी स्थानीय स्तरमा भने बिक्री नभएको उहाँ बताउनुहुन्छ । “किबीको महत्व बुझाउदैछु, अहिले उत्पादन भएको किबी काठमाण्डौ, पोखरा निर्यात हुन्छ” उहाँले भन्नुभयो “नयाँ फल भएकाले यसको महत्व बुझेमा स्थानीय स्तरमानै खपत हुनेमा आशावादी छु ।”

गलकोट नगरपालिकालाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले किसानको माग अनुसारको नगरपालिकाले कार्यक्रम बनाउने, कृषकहरुलाई संगठित गर्ने र नगरपालिकाभर कृषि जागरण ल्याउने अभियानमा लागिरहेको खत्रीको भनाई छ । खत्रीले उत्पादन गर्दै आएका किबी बाहेकका अन्य कृषि उपज गलकोट बजारमै बिक्री भएको बताउनुहुन्छ । आगामी दिनमा यसलाई व्यवस्थित गर्दै समय सापेक्ष उत्पादन र व्यवसायलाई बढाउने सोच रहेको खत्रीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *