बुर्तिबाङमा शल्यक्रिया सेवा, दुर्गमका गर्भवती र सुत्केरीलाई राहत

सिर्जना पन्त, बागलुङ

जिल्लाको निसीखोला गाउँपालिका–४ कि २५ वर्षीया विष्णु सुनारले सोमबार बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तेस्रो सन्तानको रुपमा छोरालाई जन्म दिनुभयो । यसअघिका एक छोरा र छोरीलाई झिवाखोला स्थास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहयोगमा घरमै जन्माएकी विष्णुले यो पटक पनि स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने तयारी गर्नुभएको थिएन । गाउँकै स्वास्थ्य चौकीमा गर्भजाँच गरेको भए पनि यसअघिका छोराछोरी घरमा जन्मिएकाले तेस्रो सन्तान पनि घरमै जन्माउने तयारी गरेको विष्णुका श्रीमान नारायण सुनार बताउँनुहुन्छ ।

तर, स्वास्थ्यकर्मीले बच्चा जन्मनका लागि दिएको मिति काटिसक्दा पनि श्रीमतीलाई सुत्केरी व्यथा नलागे पछि गर्भको बच्चाले दिशा खान्छ भनेर बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याएको नारायणको भनाई छ । ‘बच्चा जन्मनका लागि डाक्टरले दिएको समय ८ दिन काटिसकेको थियो,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य केन्द्र आएर चेकजाँच गरेर हेर्दा थाहा भयो, पाठेघरमा पानीको मात्र निकै कम रहेछ, डाक्टरले शल्यक्रिया गरेर सुत्केरी गराउन सुझाव दिए पछि उहाँले भने अनुसार नै ग¥यौ ।’

डा.मिलन मल्लले नारायणलाई स्वास्थ्य केन्द्रमा आइसियु छैन, भेन्टिलेटर छैन । सुविधा सम्पन्न स्वास्थ्य संस्था लैजान चाहानुहुन्छ भने रिफर गरिदिन्छौ नभन्नुभएको पनि होइन । तर, कोरोना महामारीको बीच चर्काे मुल्यमा गाडी रिजर्भ गरी सुविधा सम्पन्न स्वास्थ्य संस्था लैजान सक्ने आफ्नो अवस्था नभएकाले जोखिम मोलेरै भए पनि स्वास्थ्य केन्द्रमा श्रीमतीलाई प्रसुती गराएको उहाँको भनाई छ ।

पछिल्लो पाँच महिनामा बागलुङ जिल्लाबाट ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्र्तगत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रमबाट ५ जना गर्भवती सुत्केरी महिलाको उद्दार गरिएको छ । देशका ३० जिल्लामा पूर्ण र बागलुङ सहित ४ जिल्लामा आंशिक रुपमा लागु भएको यो कार्यक्रममा बागलुङका १० स्थानीय तह मध्ये बागलुङ नगरपालिका बाहेक अन्य ९ वटा स्थानीय तह समावेश छन् ।

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट मात्रै प्रति महिना १५ देखि २० जना गर्भवतीले सुरक्षित प्रसुतीका लागि रेफर माग्ने गरेको स्वास्थ्य केन्द्रकी स्टाफ नर्स पार्वती अर्याल बताउँनुहुन्छ । ‘ओपिडीबाटै अन्य स्वास्थ्य संस्थामा जान्छौ भन्नेहरुको तथ्याङ्क राख्ने गरिएको छैैन,’ अर्याल भन्नुहुन्छ, ‘भर्ना भएका तर अवस्था गम्भीर भएकाहरु मध्ये पछिल्लो ६ महिनामा १६ जना गर्भवती महिलालाई लिखित रुपमा रेफर गरेका छौ ।’ स्वास्थ्य केन्द्रले जटिल भनेर रेफर गरेका मध्ये १ जना गर्भवती महिलाको सुत्केरी भए पछि मृत्यु भएको र अर्काे एक नवजात शिशुको मृत्यु भएको उहाँको भनाई छ । ‘हामी जोखिम मोलेर काम गर्छाै भन्ने आत्मविश्वास छ,’ अर्याल भन्नुहुन्छ ‘तर स्वास्थ्य केन्द्रमा प्रसुती र बच्चा जन्मेपछि आइपर्ने सक्ने आकस्मिक जटिलता समाधान गर्ने सुविधा नहुदा रिफर माग्नेहरुलाई यहि सुत्केरी हुनुस् भन्न सक्ने अवस्था भने छैन ।’

यति हुँदा हुदै पनि स्वास्थ्य केन्द्रले पछिल्लो एक वर्षमा १८ जना महिलालाई शल्यक्रिया मार्फत सुत्केरी बनाएको छ । ‘२ वटा केस मात्र पूर्व तयारीको साथ गरेका हौ,’ स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्ल ठकुरी भन्नुहुन्छ ‘१६ वटा केस त इर्मजेन्सी अवस्थामा जोखिम मोलेर शल्यक्रिया गरिएको हो ।’

तर, अबका दिनमा हप्तौ पहिले देखिनै तयारी गरेर शल्यक्रिया गर्ने सक्ने बातावरण बनाएको उहाँको भनाई छ । पछिल्लो साढे २ वर्षदेखि स्वास्थ्य केन्द्रमा सुत्केरी बनाउन तालिम प्राप्त डाक्टर ल्याउने मल्लको सपना भर्खरै पुरा भएको छ । यसअघि पनि स्वास्थ्य केन्द्रमा डाक्टर नआएका भने होइनन् । तर उनीहरुको निरन्तरता र प्रतिवद्दता नहुँदा चाहेर पनि दुर्गमको स्वास्थ्य सेवालाई नियमित गर्न नसकेको उहाँको भनाई छ । एक हप्ता अगाडी मात्रै रोल्पाबाट सुत्केरी गराउन तालिम प्राप्त डाक्टर अनिल केसी स्वास्थ्य केन्द्र आइपुग्नुभएको छ । डाक्टर मिलन र डाक्टर अनिल सहित ८ जनाको समुहले विष्णुको शल्यक्रिया मार्फत सफल सुत्केरी गराएको हो ।

डाक्टर अनिलको दुर्गममा बसेर सेवा गर्ने प्रतिवद्धताले बागलुङको पश्चिममा गर्भवती, सुत्केरी र नवजात शिशुको ज्यान जोखिममा पर्ने बाध्यतामा ठुलो राहत मिलेको छ । ‘बल्ल बल्ल हेलिकप्टर मार्फत उद्दार गरिएका गर्भवती, सुत्केरीको निधन भएको सुन्नुपर्छ, दुर्गमका गरिब जनताले सुत्केरी हुँदा लाखौको ऋण बोक्नुपर्ने बाध्यता छ, गर्भवती, सुत्केरी र बच्चाको राम्रो स्याहार हुन पाएको छैन,’ डाक्टर मिलन भन्नुहुन्छ ‘अब विस्तारै सबै समस्या समाधान गर्न तर्फ अगाडी बढेका छौ ।’

बागलुङको पश्चिम र दुर्गम भए पनि यस क्षेत्रका सेवाग्राहीलाई सहज सेवा दिने उद्देश्यले बुर्तिवाङ स्वास्थ्य केन्द्रमा आएको डाक्टर अनिल केसी बताउँनुहुन्छ । ‘बच्चा गर्भमा उल्टो रहेको, दिशा खाएको, प्रसुती हुने समय काटिसकेको जस्ता केसहरु पनि अब सहज रुपमा बुर्तिवाङमै प्रसुती गराउने बतावरण बन्छ,’ डाक्टर केसी भन्नुहुन्छ ‘समयमै स्वास्थ्य सेवा नपाएर गर्भवती र सुत्केरीको अवस्था जटिल हुने बातावरण आउन दिन्न ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *