ढोरपाटनमा बाढी: ४ को मृत्यु, १३ बेपत्ता,३० बढी घर बगायो

आदर्श अनलाइन,बागलुङ

भारी वर्षा सँगै जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गए राति आएको बाढीका कारण ४ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।

स्थानीय जीवन पुनले दिएको जनाकारी अनुसार राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० भन्दा बढी घर बगाएको छ ।

बाढीमा परि मृत्यु भएका चारै जना पुरुष भए पनि नाम सनाखत भएको छैन । उनीहरुको शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीमा बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका ९ बस्ने बर्ष ३५ कि कौशला पुन , निजको छोरा बर्ष ६ को हिक्मत पुन, बर्ष ३५ को जीत बहादुर घर्ती, बर्ष ४० को राजु घर्ती , बर्ष २८ कुमारी बि.क., बर्ष १९ कि पुतली बि.क.,बर्ष ३२ कि करमती घर्ती मगर, बर्ष ३५ कि रीना घर्ती मगर, बर्ष ३५ कि दिलमाया घर्ती मगर, निजको नाम नखुलेका ६ बर्षीया छोरा रहेका छन् ।

यसैगरी बर्ष ५५ कि डोटी पुन, बर्ष ५२ कि टुलमती पुन, गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको बर्ष २४ का नविन भण्डारी बेपत्ता भएका छन् भने भण्डारी सँगै घुम्न गएका अन्य ३ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार, अहिले सम्म ४ जनाको मृत अवस्थामा शव फेला छ भने अन्यको खोजी तथा उद्धार कार्य जारी छ । ‘रातिमा बाढी आएकाले ठुलो क्षति भएको पाइएको छ, घटनास्थलको दुरी र क्षेत्र निकै लामो भएकाले पनि समस्या भएको छ,’ डिएसपी रेग्मीले भने, ‘अहिले थप सुरक्षाकर्मी सहित घाइतेहरुको उद्धार, बेपत्ता भएकाहरुको खोजी शुरु गरिसकेका छौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *