भुरे राजाको शासन स्थल ‘नरसिंहकोट’, जहाँ पर्यटन भित्राउने यस्तो छ योजना

डम्मर बुढा मगर, बागलुङ
नेपालमा बाइसे चौबिसे राज्य हुँदा बागलुङको विभिन्न ठाउँमा फरक फरक राजाहरुले राज्य चलाए । जसमा जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुटको नरसिंहकोटमा भुरे टाकुरा राजाले लामै समय समय राज्य सञ्चालन गरेको इतिहास छ ।

तत्कालिन अवस्थामा नरसिंह राजाले दरबार बनाएर करिब ७/८ वर्ष राज गरेको स्थानीय बुढापाकाको भनाई छ । त्यस क्षेत्रबाट राजा बिस्थापित भए पछि नरसिहंकोट दरबार, पाटी पौवा र अरु संरचना कति जिर्ण भएका छन् भने कति भत्किएका अवस्थामा छन् । दरबार तथा पाटी पौवा निर्माण भएको स्थानमा केही वर्ष अगाडी सम्म भग्नावशेष भेटिने गरेको स्थानीय बताउँछन् ।

अहिलेको राजकुट गाउँलाई राजा बसेको हुँदा ‘राजकुट’ भन्ने गरिएको र ‘नरसिंहकोट’लाई राजाको नामबाटै नरसिंहकोट नामाकरण गरिएको निसीखोला गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तेजेन्द्र विक्रम कुँवर बताउनुहुन्छ । राजकुट साविक गाबिस हो भने नरसिंहकोट हाल पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको स्थल हो । नरसिंह राजाको नामबाट बनेको ‘नरसिंह कोट’ क्षेत्र अत्यन्तै रमणीय छ ।

राजकुटमा पर्ने नरसिंहकोटलाई गाउँपालिकाले नमुना पर्यटकीय गन्तव्यको रुपमा राखेको छ । यो पहाडको टुप्पोमा समथर भू–भागमा फैलिएको छ । जसले धेरै आन्तरिक पर्यटकको मन लोभ्याउने गरेको छ । यस ठाउँमा आउने जो कोही यहाँबाट देखिने मनोरम दृश्यले मोहित हुने गर्दछन् । यहाँबाट बुर्तिबाङ बजार स्पष्ट रुपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्युठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाका साथै धौलागिरी हिमाल सहित दर्जनौ हिम श्रृङ्खलाहरु देख्न सकिन्छ ।

नरसिहंकोट क्षेत्रमा मन्दिर र राजाले निर्माण गरेको मौलो (पोखरीको बीचमा रहने बस्तु) समेत छ । यहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ । पशुपंक्षीको बली पनि चढाइने गरिन्छ । मन्दिरमा बैशाखे पूर्णिमा, मंसिरे पूर्णिमा लगायत चतुर्दशी पूर्णिमामा समेत पूजाआजा हुने गर्दछ । यहाँ पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । बागलुङ, प्युठान, गुल्मी लगायतका विभिन्न स्थानबाट मानिसहरु पूजाआजा गर्न यहाँ आउने गर्दछन् ।

राजाले राज गरेको क्षेत्रहरु मध्ये हाल करिब १ सय रोपनी गुठीको नाममा जग्गा रहेको वडा अध्यक्ष कुँवरको भनाई छ । त्यस मध्ये केही खेत र केही बाँजो जमिन रहेको उहाँको भनाई छ । राजा त्यहाँबाट गए पश्चात निर्माण गरिएको नरसिंहकोट मन्दिरलाई गाउँपालिकाले व्यवस्थापन गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटक समेत बढ्दै गएको र भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटनमैत्री बनाउन थालेको वडा अध्यक्ष कुँवरको भनाई छ । बुर्तिबाङ बजारको नजिक पर्ने हुँदा आन्तरिक पर्यटक प्रर्वद्धनमा राम्रो सम्भावना रहेको कुवरले बताउनुभयो ।

नरसिंहकोट क्षेत्रमा पुग्नको लागि बुर्तिबाङ बजारबाट गाडीमा १ घण्टा र पैदल यात्रामा साढे १ घण्टामा पुग्न सकिन्छ । त्यहाँ सम्म पुग्ने सडक सालझण्डी–ढोरपाटन सडक बाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारी साधनमा जाँदा केही फेरो पर्छ । बुर्तिबाङबाट अधिकांश नागरिक पैदल यात्रामै त्यहाँ पुग्ने गरेका छन् । नरसिंहकोटबाट नजिकै रहेको टापुले पनि धेरैको मन लोभ्याउने गरेको छ । नरसिंहकोटमा पुग्ने पर्यटक १५/२० मिनेटमै टापुमा पुग्न सक्छन् । नरसिंहकोट क्षेत्रलाई आर्कषक पर्यटकीय गन्तव्य बनाउनका लागि विभिन्न पूर्वाधारु निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । गत वर्ष २५ लाख बजेट बिनियोजन गरेर पर्यटनमैत्री पूर्वाधार निर्माण गरिएको उहाँको भनाई छ ।

‘नरसिंहकोट हाम्रो पालिकाको ऐतिहासिक पर्यटकीय र धार्मिक क्षेत्र हो, यसको विकासका लागि हामीले पूर्वाधार निर्माणलाई तिव्र रुपमा अगाडी बढाएका छौँ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘पालिकाको नमुना पर्यटकीय क्षेत्र भएको हुँदा यसलाई हरेक वर्ष बजेट विनियोजन गर्ने र पूर्वाधार निर्माणलाई जोड दिएका छौँ ।’ मन्दिर व्यवस्थापन, मन्दिर परिसरमा पर्यटक बस्ने पौवा, भवन, खानेपानीको धारा, शौचालय तथा पिकनिक स्पट निर्माणको योजना तयार गरिएको र यसलाई थप व्यवस्थित गर्नका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग पनि सहयोगको लागि आग्रह गरेको बताउनुभयो ।

पर्यटकलाई पैदल यात्रा गर्नका लागि थप सहज होस् भन्ने उद्धेश्यले गाउँपालिकाको बजेटबाट रेलिङ सहितको पदमार्ग समेत निर्माण गरेको वडा अध्यक्ष तेजेन्द्र विक्रम कुँवरको भनाई छ । उहाँले गत वर्ष करिब ३ सय ७५ मिटर लामो रेलिङ सहितको पदमार्ग निर्माण गरेको र यसलाई थप व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । यस वर्ष प्रदेश सरकारबाट २० लाख रुपैयाँ विनियोजन भएको र यस बजेटले प्रर्याप्त खोनपानी, शौचालयय, पार्किङ स्थल लगायतको काम र नरसिंहकोटसम्म पुग्ने सडकलाई व्यवस्थित गरिने अध्यक्ष कुँवरको भनाई छ ।

गाउँपालिकाले डीपीआर तयार पारेर अन्य भौतिक पूर्वाधार निर्माण गर्ने योजना समेत रहेको निसीखोला गाउँपालिकाले जनाएको छ । नरसिहंकोट पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होम–स्टे (घरबास) निर्माण गर्ने र पदमार्गलाई अझै व्यवस्थित गर्ने योजना समेत बनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *