बागलुङमा विपद् : ५ सय ९० परिवार विस्थापित, ३७ को मृत्यु

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा वर्षात सुरु भए देखि हाल सम्म बाढी, पहिरोको विपद्बाट ५ सय ९० घर परिवार विस्थापित भएका छन् ।

विस्थापित हुनेमा सबै भन्दा बढी ढोरपाटन नगरपालिकामा छन् । जहाँ १ सय २७ घर परिवार विस्थापित भएका छन् ।

निसीखोलामा पनि १ सय २६ परिवार, बागलुङ नगरपालिकाका ६५, जैमिनी नगरपालिकाका ५६, गलकोट नगरपालिकाका ३३, काठेखोला गाउँपालिकाका ४२, ताराखोला गाउँपालिकाका २८, बडिगाड गाउँपालिकाका ६४, बरेङ गाउँपालिकाका ४३ र तमानखोला गाउँपालिकाका ६ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

बाढी पहिरोका कारण घर जोखिममा परे पछि विस्थापित परिवारको पुर्नस्थापनको लागि जिल्ला विपद व्यवस्थापन समितिले गृह मन्त्रालय विपद अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखामा अनुरोध गर्ने निर्णय गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारको घर सहित पुर्नस्थापना र राहतको व्यवस्था समेत गर्न माग गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

जिल्लामा असारदेखि हालसम्म बाढी पहिरोमा परि ३७ जनाको ज्यान गएको छ । त्यस मध्ये ढोरपाटन नगरपालिकाका २४ जना, निसीखोलाका ४ जना, तमानखोलाका २, बडिगाडका २, जैमिनीका ३, ताराखोलाका १ जनाको ज्यान गएको छ । १६ जना अझै बेपत्ता छन् ।

बेपत्ता भएकाहरुको बिषयमा खोज उद्धार सँगै कसरी राहत सहयोग प्रभावकारी बनाउने भन्ने बिषयमा अध्ययन गर्न ९ सदस्यीय समिति समेत गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिृकत गणेश गौतमको संयोजकत्वमा अर्जुन बाण गणका सहसेनानी सञ्जय भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हेमबहादुर केसी, सशस्त्र प्रहरी निरिक्षक अनिल थापा, अनुसन्धान अधिकृत दिपेश रिजाल तथा सम्बन्धित स्थानीय तह, धौलागिरी अस्पतालका प्रतिनिधि रहनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *