काठेखोलाको नयाँ पर्यटकीय गन्तव्य ‘माहुरी झरना’

आदर्श अनलाइन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा रहेको माहुरी झरनाको पर्वद्धन थालिएको छ । हेर्दा निकै आर्कषक रहेको उक्त झरना पहाडको खोचमा रहेकाले पदमार्ग नहुँदा ओझेलमा पर्दै आएको थियो ।

बागलुङमा पछिल्लो समय पर्यटन गतिविधि ह्वात्तै बढेपछि नयाँ पर्यटकीय गन्तव्यहरु समेत पहिचान गर्ने क्रममा अन्यन्तै मनमोहक रुपमा रहेको माहुरी झरनामा पूर्वाधार निर्माण र प्रचार प्रसारलाई जोड दिइएको छ । रेश खोलामा रहेको उक्त माहुरी झरनामा पुग्नका लागि पदमार्ग नभएका कारण समस्या भएको भन्दै स्थानीयको सक्रियतामा अहिले पदमार्ग निर्माणलाई तिब्रता दिइएको छ ।

गत वर्ष गण्डकी प्रदेश सरकारको रु. ११ लाख बाट झरनामा पुग्नलाई गैराघर देखि नेटा सम्म ३०० मिटर पदमार्ग निर्माण गरिएको थियो । जुन प्रयाप्त नभएका कारण अहिले स्थानीले जनश्रमदानबाट पदमार्ग निर्माण भइरहेको माहुरी झरना प्रर्बद्धनमा लाग्नुभएका स्थानीय हरी कुंवरले जानकारी दिनुभयो । स्थानीयको श्रमदानबाट अहिले एक सय भन्दा बढी पदमार्ग बनाइएको र आगमी दिनमा थप एक सय मिटर पदमार्ग बनाईने कुंवरको भनाई रहेको छ ।

“अत्यन्तै संभावना रहेको उक्त झरनालाई अहिले आएर बल्ल प्रचार प्रसार गर्न थालिएको छ” कुवंरले भन्नुभयो “अन्य सामान्य झरनालाई मिडियामा देखेपछि यहाँको झरनलाई विकास गरी पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका साथ लागि परेका छौं ।”

करिब २०० मिटर अग्लो छहरा भिरमाहुरी रहने पहाडमा भएकाले यसको नामाकरण समेत माहुरी झरना नामाकरण गरिदै आएको स्थानीले बताएका छन् । यस क्षेत्रमा भिरमाहुरी समेत पाइने भएकाले उक्त झरनालाई माहुरी झरना भनिएको हो ।

उक्त झरनाको प्रचार प्रसार गर्न थालेपछि आन्तरिक पर्यटकहरु समेत आउन थालेका छन् । अहिले दैनिक करिब ५० जना आन्तरिक पर्यटकहरु झरना अवलोकनका लागि आउने भएपनि झरनामा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा समस्या भएको छ । झरनामा पुग्नका लागि अझै ३०० मिटर पदमार्ग आवश्यक पर्ने हुन्छ ।

माहुरी झरना काठेखोला गाउँपालिकाकै आर्कषण पर्यटकीय गन्तव्य बनाउनेगरी योजना बनाएको काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । झरना हिउँदमा समेत नसुक्ने भएकाले यसलाई पर्यटकीय क्षेत्रका हिसावले गाउँपालिकाले महत्वपूर्णका साथ पदमार्ग, रेलिङ, प्रतिक्षालय र तारबार निर्माण गर्ने लामिछानेले बताउनुभयो ।

अहिले जनश्रमदानबाट माहुरी झरना सामुदायिक होम स्टे, मौवाघारी सामुदायिक बन, सगरमाथा युवा क्लव, महिला समूह मिलेर श्रमदानमा पदमार्ग निर्माण भइरहेको छ । गाउँपालिकाको केन्द्रबाट उक्त झरना आधा घण्टाको दुरीमा पुग्न सकिन्छ ।

तस्बिर : सुमन जिसी

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *