नगरका सबै वार्डमा आधारभूत स्वास्थ्य सेवा

आदर्श अनलाइन, बागलुङ
जिल्लाको बागलुङ नगरपालिकाको सवै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ ।

नेपाल सरकारको आधारभूत स्वास्थ्य सेवाको नीति अनुसार बागलुङ नगरपालिका १४ वटै वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ ।

सामान्य औषधी उपचार र परामर्शका लागि अस्पताल नै धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने प्रयास स्वरुप आधारभूत स्वास्थ्य सेवा वडाबाटै प्रदान गर्न थालिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

हाल सम्म बागलुङ नगरपालिकाका १४ वडा मध्ये चार वडामा स्वास्थ्य चौकी थिएन । बागलुङ बजार भित्र पर्ने १, २, ३ र ४ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच नहुँदा धौलागिरी अस्पताल आउनुपर्ने बाध्यता थियो । सामान्य प्रेस नाप्न र सिटामोल खानकै लागि चार वडाका नागरिकलाई अस्पताल पुग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै सम्बन्धित वडामै ४१ प्रकारका औषधी सहित आधारभूत स्वास्थ्य सेवाहरु बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । गर्भवती परिक्षण, खोप तथा परामर्श प्रदान गर्न थाले पछि वडावासीलाई थप सहज भएको छ । “गत आर्थिक वर्षको कार्यक्रम भएकाले दरबन्दी अनुसार स्वास्थ्यकर्मी गत चैतमै भर्ना गरिएको थियो” बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले भन्नुभयो “चैतबाटै कोरोना भाइरस संक्रमण फैलिए पछि नगरका क्वारेन्टिन र आइसोलेसनमा स्वाथ्यकर्मी खटाउँदा स्वास्थ्य केन्द्र सञ्चालनमा आउन सकेको थिएन, अहिले विस्तारै सेवा दिन थालिसकेका छौं ।”

जटिल प्रकारको समस्या आउँदा अस्पताल जाने कुरा भए पनि सामान्य सिटामोल खान र प्रेसर नाप्नका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना भए पछि सहज भएको बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा आचार्यले बताउनुभयो । “सामान्य चोट पटक लागे या हात खुट्टा भाँचिएमा अस्पताल लैजाँदै आएका थियौं” आचार्यले भन्नुभयो “प्रेसर जाँच, खोपका लागि अस्पताल धाउने, लामो लाइन बस्नुपर्ने समस्यानै थियो, अब दैलोमै आधारभूत सेवा पाउँदा निकै सहज भएको महुसुस गरेका छौ ।”

स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवाका साथै स्वास्थ्य परामर्श र सरसफाईका विषयमा समेत सचेतना फैलाउने नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनाल बताउँनुहुन्छ ।

नगरपालिकाको बजार क्षेत्रका जनता धौलागिरी अस्पताल बागलुङबाट सेवा लिदै आएका थिए । खनालका अनुसार, नगरको २ नम्बर वडामा धौलागिरी अस्पताल भएका कारण सेवा केन्द्र नभए पनि नगरका अन्य वडामा सेवा केन्द्र स्थापना गरिएको छ । बानपा ३ र ४ मा साविक शहरी स्वास्थ्य केन्द्रको पूर्वाधारबाट सेवा प्रदान गरिएको छ भने एक नम्बर वडाको रामरेखा वडा कार्यालय भवनबाट सेवा थालिएको हो ।

हाल भवन अभावका कारण नगरपालिकाको वडा नम्बर १ को कार्यालयबाटै सेवा प्रदान गर्ने गरि स्वास्थ्य केन्द्र स्थापना भएको छ । जग्गा व्यवस्थापन भएमा स्वास्थ्य केन्द्रका लागि बजेट आए पनि कार्यान्वयन हुन सकेको छैन । जग्गा भएमा रामरेखामा भवन निर्माण थालिनेछ । केन्द्रबाट खोप सेवा, गर्भवती जाँच, सामान्य औषधी सेवा लगायतका आधारभूत सेवा प्रदान गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *