डम्मर बुढा मगर, बागलुङ
जिल्लाको निसीखोला गाउँपालिका ५ कारीगाउँका हिराबहादुर बिक बर्खाको विपद् पछि अहिले तनावग्रस्त हुनुहुन्छ ।
गत साउन ३१ गते राती माथिबाट खसेको पहिरोले घर सँगै १४ वर्षीय छोरा विरेन्द्र विक र ६ वर्षीय नाती प्रवेश विकलाई लग्यो । पहिरोमा परि ५२ वर्षीया श्रीमती डिलसरा विक घाइते हुनुभयो । यो घटनाले अझै पनि हिराबहादुरको परिवारलाई सम्हाल्न सम्हालिन निकै कठिन भइरहेको छ ।
आफु घर भन्दा माथि गोठमा बस्दै आएको हुँदा पहिरोबाट जोगिएको हिराबहादुर बताउँनुहुन्छ । ‘साँझ खाना खाएर म माथि गोठमा गएको थिएँ, घरमा बुढी र केटाकेटी थिए, राती पहिरो आएर पुरेछ,’ उहाँले भन्नुभयो ‘म यही भएको भए पहिरोले मलाई पुर्दो रैछ, म पनि मर्ने रहेछु ।’
उमेरले ६० वर्ष काट्न लागेका हिराबहादुरको आर्थिक अवस्था पनि कमजोर छ । पहिरोले घर समेत बगाइ दिए पछि अहिले स्थानीय धर्मराज पोखरेलको कुखुरा फर्ममा आश्रय लिएका छन् । कुखुरा पालन गर्दै आउनुभएका स्थानीय कृषक पोखरेलले कुखुरा अन्तै सारेर बिकको परिवारलाई आश्रय दिएका छन् ।
‘अहिले उहाँ अंकलले कुखुरा अन्तै सारेर हामी त्यही गोठमा बस्छौँ’ हिराबहादुरले भन्नुभयो, ‘तिमीहरुको घर नबन्दा सम्म यही गोठमा बस भनेर भन्नुभएको छ, अहिले यही बसेका छौँ ।’
गरिबीका कारण हिराबहादुरको घर बनाउन सक्ने अवस्था पनि छैन । तैपनि जसोतसो घर बनाउनै पर्ने बाध्यता छ । गाउँघरमा हली काम गर्दै ६ जना छोरोछोरी लालनपालन गर्दै आउनुभएका बिक पहिरोले घरनै बगाए पछि ठूलो संकटमा हुनुहुन्छ ।
३ भाई छोरा र ३ बहिनी छोरी रहेका विकको जेठी छोरी विहे गरेर गईसकेकी छिन् । तर बिडम्बना उनको छोरा माइत आएको बेला यही पहिरोले पुरिएर मृत्यु भयो । जेठो छोराले पनि बिहे गरेर सुसुराली तिरै बस्दै आएका छन् । कान्छो छोराको पहिरोमा पुरिएर ज्यान गयो भने माहिलो चाही केही समय अगाडी विदेश गएका छन् ।
पहिरोमा परेर घाइते हुनुभएका उहाँका श्रीमती डिलसरा अझै पनि निको भएको छैन । अझै हात नचल्ने समस्याले चिन्तित तुल्याएको छ । ‘के यस्तो विपत्ति आइ लाग्यो हामी माथि, मैले त यस्तो होला भन्ने कहिल्यै साँेचेको थिएन, नसोचेको घटना भयो ।’
बिकको अहिले घरमा साना दुई छोरी र श्रीमति मात्रै छन् । पहिरोले भएको अन्नपात र लत्ता कपडा सबै पुरि दिए पछि आफूसँग केही बाँकी नरहेको उहाँको भनाई छ । विभिन्न संघ संस्था तथा गाउँपालिकाले दिएको राहतले विहान बेलुकाको छाक टार्दै आएको बिकको भनाई छ ।
‘पहिरोले हाम्रो घर सहित सन्तान र सामानहरु बगाईदियो, हामीसँग केही थिएन, तल–तलबाट केही संस्था र गाउँपालिकाले केही सामान र पैसा लिएर दिनुभयो, त्यहीबाट सामान किनेर विहान बेलुकाको छाक टार्दै आएका छौँ,’ बिकले भन्नुभयो, ‘सधै अरुकोमा बसेर कति दिन चल्छ र ? घर बनाउने होला, घर बनाउनको लागि पैसा पनि छैन ।’