अब रिघामा घर–घरमै खानेपानी

रविना बोहरा
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गलकोट नगरपालिका—११ रिघाका स्थानीय बासिन्दा वर्षौको सकस र सास्तीबाट मुक्त भएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराबाट ‘एक घर एक धारा’को योजना परे पछि पछि अब घर घरमा धारा निर्माण गरिएको छ ।

गत आर्थिक वर्ष २०७५/७६ बाट सञ्चालित ‘एक घर, एक धारा’ खानेपानी आयोजना दुई बर्षमा सक्ने गरी अघि बढाइएको थियो । तिव्र रुपमा काम अघि बढाएको समयमा विश्वव्यापी रुपमा कोरानो भाइरस (कोभिड १९) संक्रमणको महामारीले गर्दा केही काम सम्पन्न गर्न बाँकी छ । आयोजनाको हाल सम्म ७५ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ ।

कुल ३ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनामा हाल सम्म झण्डै १ करोड रुपैयाँ खर्च भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराले जनाएको छ । ५ हजार देखि २५ हजार घन लिटर सम्मका ११ वटा रिजर्भ ट्याङ्की, कुल १ लाख १५ हजार घनलिटरका रहेको बताइएको छ ।

गाउँमा सञ्चालित झारसाँधी—मजुवा—अर्ले—मनेवापाटा खानेपानी आयोजनाबाट रिघाका १ सय ६० घरधुरी लाभान्वित भएका छन् । साबिक रिघा गाविसको वडा नम्बर ३, ६, ७ र ८ का स्थानीयबासी एवम् एउटा विद्यालयका लागि समेत गरी विभिन्न क्षेत्रमा ११ वटा ट्याङकी निर्माणाधिन अवस्थामा छन् । हाल सम्म चार वटा ट्याङ्कीबाट खानेपानी वितरण गरिसकिएको छ भने ७ वटा ट्याङ्कीको काम बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।

यहाँ पहिले एउटै टोलका दश देखि ३० वटा घरधुरीले एउटै मुहानबाट १६/२० एमएमका पाइप मार्फत पानी खान्थे । सुख्यायामका बेलामा स्रोत सुक्दा एक गाग्री पानी समेत भर्न नपाउने बाध्यताबाट अहिले घरमै पानी भर्न पाउदा गलकोट नगरपालिका—११ रिघा मजुवाकी भिमा घर्तिले खुसी व्यक्त गर्नुभयो ।

अहिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गरेपछि सुख्यायाममा स्रोत सुक्दा खानेपानीको जोहो गर्न मुस्किल हुँदै आएकोमा अब यो समस्याको समाधान भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत जनश्रमदानमा निर्माण गर्न लागिएको आयोजनाको पाइप लाइन विस्तार, ट्याङ्की निर्माण र धारा जडान गर्ने काम भइरहेको छ । मजुवाका स्थानीयबासी तथा उपभोक्ता समितिका सदस्य दिलबहादुर थापाले खानेपानीको समस्याबाट मुक्त भएको बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीले गर्दा तोकिएको समय अवधी भित्र खानेपानी निर्माण कार्य सम्पन्न गर्न कठिन भएको झारसाँधी—मजुवा—अर्ले—मनेवापाटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम नेपालीले बताउनुभयो ।

संक्रमण न्युनिकरणका लागि भएको लकडाउनका कारण पनि संघीय कार्यालयबाट समयमा अनुगमन गर्न नसक्नु, आवश्यक सामग्रीहरु कार्य स्थलमा ल्याउन नसक्नु लगायतका कारण ढिलाई भएता पनि तिब्र रुपमा कामलाई अगाडी बढाउने प्रयास गरिरहेको पुर्व गाविस अध्यक्ष समेत रहनुभएका नेपालीको भनाई छ । लामो समय सम्म एक गाग्री खानेपानीका लागि समेत घण्टौ कुर्नुपर्ने समस्या भोगेका स्थानीयबासी भने घरघरमा जडान गरिएका धाराबाट पानी आउन थालेपछि हर्षित बनेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *