आदर्श सञ्चारका सञ्चालक र कर्मचारीलाई वाककला तालिम

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक, उपसमितिका सदस्य तथा पत्रकार, कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ एक दिने वाककला तालिम शनिवार सम्पन्न गरेको छ ।

व्यावसायिकताका लागि वाककला तालिम भन्ने नाराका साथ आयोजित तालिमको सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना अनुसारको लक्ष्य प्राप्तिका लागि सक्षम सञ्चालक र दक्ष कर्मचारी आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक संस्थाका कर्मचारीले आफूलाई सक्षम र क्षमतावान् बनाउनु पर्ने भन्दै शेयर सदस्य लगायत सेवाग्राहीसँग बोल्ने बोलीचाली र व्यवहार पनि परिवर्तन गर्न पर्ने बताउनुभयो ।

अर्का प्रशिक्षक नेपाल पत्रकार महासंघ बागलुङ अध्यक्ष तथा संस्थाका कार्यकारी सम्पादक दिल शिरीषले सस्था र जीवनको सफलताका लागि प्रभावकारी वाककला अपरिहार्य भएको बताउनुभयो । वाककला सबै नागरिकलाई आवश्यक हुने भन्दै अध्यक्ष शिरीषले बोलीले मानिसको भोली र भविष्य निर्धारण गर्ने बताउनुभयो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थासंग एकीकृत बनेको ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर महतले सहकारी अभियानलाई थप प्रभावकारी र प्रतिस्पर्धात्मक बनाउनका लागि तालिम सहयोगी हुने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा संस्थामा कार्यरत पत्रकार, कर्मचारी, संस्थाका संचालक, विभिन्न उप–समितिका पदाधिकारी सदस्यहरु सहित ३४ जनाको सहभागिता थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र सचिव ललिता थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्