अझै भेटिएनन् ढोरपाटन बाढीमा बेपत्ता १५ जना

डम्मर बुढा मगर, बागलुङ
ढोरपाटन नगरपालिका वडा नम्बर ९ को भूजी खोलामा गत भदौ १७ गते आएको बाढीले बगाएका १५ जना अझै बेपत्ता छन् । बाढीमा २२ जनाको मृत्यु भएको थियो ।

बेपत्ता मध्येकी एक बालिका ढोरपाटनमा सकुशल फेला परेकी छन् । बेपत्ता भएकाहरुको खोजि कार्य निरन्तर भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकासहिंह भण्डारीले जानकारी दिनुभयो ।

बाढीले एक सय ३१ घरमा क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । जस मध्ये ८० घर पूर्णरुपमा ध्वस्त भएका छन् भने ५१ घर आंशिक क्षति भएको ढोरपाटन नगरपालिकाले जनाएकाे छ । बाढीले अवरुद्ध भएको बुर्तिबाङदेखि ढोरपाटन जोडिने सालझण्डी–ढोरपाटन सडक सञ्चालनमा आएको छ ।

घरबास गुमाएका पीडित अहिले सडकमा पाल टाँगेर बसेका छन् भने केहीले आफन्तको घरमा आश्रय लिएका छन् ।

बाढीले ११ वटा जलविद्युत् केन्द्रको विद्युत् गृह र नहर बगाउँदा विद्युत् आपुर्ति पूर्णरुपमा बन्द भएको छ । एक स्वास्थ्य इकाई, ११ वटा झोलुङ्गे पुल, ५ वटा ढलान पुल, १० काठेपुल र दुई विद्यालय बाढीले बगाउँदा समस्या भएको स्थानीयले बताएका छन् ।

खानपान र बसाइको उचित व्यवस्थापन नहुँदा बालबालिका र वृद्धवृद्धा बिरामी हुने गरेका छन् । विभिन्न संस्थाहरुले दिएको राहतले बिहान बेलुकीको छाक टारेको र चिसो सडकमा रात बिताएको नमिठो अनुभव स्थानीयको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *