बागलुङ बजार सौन्दर्यकरण अभियान : अव्यवस्थित तार र पोल हटाउन ताकेता

खेमराज गौतम, बागलुङ

बागलुङ बजारमा लामो समयदेखि जीर्ण अवस्थामा रहेका विद्युत पोल र तारका कारण कुरुप देखिएकाले हटाउन थालिएको छ ।

बागलुङ नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमको सहकार्यमा बागलुङ बजारको सौन्दर्यकरणका लागि पुराना तार र विद्युतका पोल हटाउन थालिएको हो ।

नगरपालिकाले गत वर्ष टेलिकम, विद्युत प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीलाई अव्यवस्थित तार र पोल हटाउन निर्देशन दिएको थियो ।

एक वर्षको अवधिमा विद्युत प्राधिकरणले बागलुङ बजारको १ सय ८० थान नयाँ विद्युतका पोल राखेर विद्युतलाई नाङ्गो तार मुक्त गरिसकेको छ । नाङ्गो तार हटाएका कारण बागलुङ बजारमा विद्युतिय दुर्घटनाको जोखिम पनि कम भएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशालीले जानकारी दिनुभयो ।

“निकै चुनौतीका बाबजुद हामीले नाङ्गो तार हटाएर विद्युतका पोल समेत व्यवस्थापन गरेका छौं” गोशालीले भन्नुभयो “तर विद्युतका तार नयाँ पोलमा सारे पनि इन्टरनेट र केबल तारले गर्दा पुराना विद्युतिय पोल हटाउन नपाएका कारण समस्या भएको छ ।”

बागलुङ बजारमा नेपाल टेलिकमले समेत तामाको अव्यवस्थित तार हटाउन शुरु गरिसकेको छ । टेलिकमले एक वर्ष अघिनै तामाको अव्यवस्थित तार प्रतिस्थापन गर्ने उद्देश्यले फाइवरबाट सेवा प्रदान गरिरहेको छ ।

टेलिकमले तामाको तार हटाउने कार्यलाई तिब्रता दिए पनि इन्टरनेट तथा केबुल सेवा प्रदायकले भने पुराना विद्युतिय पोलबाट नयाँ विद्युतिय पोलमा तार सार्न नसक्दा समस्या भएको छ । बजार क्षेत्रको सबे अव्यवस्थित तार र पोल हटाइने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“केबल र इन्टरनेट सेवा प्रदायकले एक वर्षदेखिको निर्देशन अवज्ञा गर्दै आएका कारण समस्या थियो” नगर प्रमुख पौडेलले भन्नुभयो “आगामी शनिबार सम्म तार व्यवस्थापन सुरु गर्न अन्तिम पटक भनेका छौं, शनिबार विहान शिवधारा चोकबाट विद्युतका पोल र तार व्यवस्थापन अभियान सुरु गर्छौ, त्यसपछि नसारिएका तार समेत काटिन्छ ।”

विद्युत प्राधिकरणले नयाँ पोल राखेपछि टेलिकमले नयाँ फाइवर तार समेत नयाँ पोलमा राखेपनि इन्टरनेट र केबलहरुको तार अझै पुरानै पोलमा छन् । यसलाई शनिबारदेखि विद्युत प्राधिकरणले पुराना पोल हटाउने छ । जसका लागि बागलुङ नगरपालिकाले सार्वजनिक सूचना समेत जारी गरिसकेको छ । बागलुङ नगरपालिकाले शिवधारा चोकबाट विद्युतका पोल हटाउने र अव्यवस्थित तार काट्ने कार्यको शुरुवात गरेपछि आगामी चार महिना भित्र बागलुङ बजार सुन्दर देखिने अपेक्षा गरिएको छ ।

इन्टरनेट कम्पनीले जथाभावी विद्युतीय पालेमा तार विस्तार गर्दा बागलुङ बजार अव्यवस्थित हुँदै आएको चर्को गुनासो छ । नगरपालिकाले नयाँ इन्टरनेट सेवा प्रदायकले तार विस्तार गर्नुपूर्व नगरपालिकाको अनुमति लिनुपर्ने विद्युत र टेलिकमका पोल प्रयोग गरे बापत कर तिर्नुपर्ने भएपनि यस्तो नगरिएको पाइएको बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत डण्डपाणी शर्माले जानकारी दिनुभयो । अब तार काटेर पोल हटाउदा सेवा बन्द भएमा यसको जिम्मेवारी सेवाप्रदायक कम्पनीलेनै लिनुपर्ने उहाँको भनाई छ ।

विद्युत प्राधिकरणका अनुसार, बागलुङ बजारमा १ सय ८० वटा पुराना विद्युतका पोल हटाउनपर्ने छ । शनिबारब बागलुङ बजारमा अव्यवस्थित पोल र तार हटाउनका लागि बागलुङ नगरपालिका–२ बा वडा अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबल र इन्टरनेट सेवा प्रदायकबाट एक जना रहने गरी समिति समेत गठन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *