‘प्रहरीले गाँजा भनेर भाँगो नष्ट गर्यो’–गरिबको पेटमा लात हानियो

आदर्श अनलाइन, बागलुङ
होटल, रेष्टुरेण्ट र घर–घरका भान्छामा समेत लोकप्रीय मानिने भाँगोका बोटलाई प्रहरीले गाँजा भनेर फडानी गरेको भन्दै बागलुङको निसिखोला वडा नम्बर ६ का स्थानीय आक्रोशित भएका छन् । पछिल्लो तीन दिन देखि इलाका प्रहरी कार्यालय बुर्तिबाङ र विपद् व्यवस्थापन गुल्म बागलुङबाट खटिएको प्रहरीले निसिखोला गाउँपालिका–६ को खेतीयोग्य जग्गा र सार्वजनिक जग्गा गरी ६० रोपनीमा लगाएको ३० हजार भाँगोका बोट फडानी गरेको छ ।

प्रहरीले अवैद्य रुपमा गरिएको गाँजा खेती फडानी गरेको बताएपनि स्थानीय सन्तु विकले आफुहरुले गाँजा नभएर अचार र चटनी खानको लागि प्रयोग गरिने भाँगोको खेती गर्दै आएको बताउनुहुन्छ ।

‘हाम्रोमा धन फल्दै फल्दैन्, थोरै थोरै कोदो र मकै फल्छ’ विकले भन्नुभयो ‘भाँगोसँग चामल, गहुँ र मकै कोदो साटेर गुजारा गर्दै आएका थियौ, तर प्रहरीले यो वर्ष सबै नष्ट गरिदियो ।’

‘३ सय १७ घरधुरी रहेको वडामा प्रत्येक घरमा भाँगोको खेती गरिन्छ,’ उहाँले भन्नुभयो ‘हाम्रो मुख्य आम्दानीको स्रोतनै भाँगो हो यो वर्ष वडाबासीको ७ लाख रुपैयाँ भन्दा बढी क्षती भयो ।’ भाँगो फुलेर गेडा लागिसकेको थियो, एक महिनामा त टिप्ने हुन्थ्यो उहाँले भन्नुभयो चाडवार्डको मुखमा किसानको खेतरबारी फडानी गरेर प्रहरीले पेटमा लात हान्यो ।

निसीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेलले स्थानीय सरकारलाई समेत जानकारी नगराई प्रहरीले गाउँ पसेर किसानको खेतबारी फडानी गरेको गुनासो गर्नुहुन्छ । प्रहरीले गाउँ पसेर भाँगो फडानी गर्न थालेको सूचना पाएपछि हामीहरुले पटक पटक भन्यौ गाँजा होइन भाँगो हो भनेर तर, प्रहरीले माथिको आदेश हो भनेर सबै सोत्तर पा¥यो ।

‘गेडाको अचार, चटनी खान मिल्छ, बोडबाट लोकता निकालेर कपडा, वस्तुभाउ बाध्ने डोरी र नाम्लो बनाउन मिल्छ, डाठको दाउरा प्रयोगमा आउ“छ,’ पौडेलले भन्नुभयो ‘भाँगाको बोट, फल, फुल र जरा समेतको कसैले गलत प्रयोग ग¥यो भने स्थानीय तहले जिम्मेवारी लिन्छौ भन्दा समेत उहाँहरुले फडानी गरेरै छोडनु भयो ।’ ‘पौडेल भन्नुहुन्छ बजारमा भाँगो पसल–पसलमा बेच्न पाइने तर गाउँ–गाउँमा भाँगाका बोट फडानी गर्ने यो कस्तो नियम हो ।’

सरकारले अवैद्य भनेर प्रतिवन्ध गरेका हरेक गतिविधी रोक्नु प्रहरीको जिम्मेवारी भएकाले निसिखोलामा लगाईएको गाँजाका बोट फडानी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

स्थानीयले भाँगो भने पनि अवैद्य लागु औषध गाँजा बनाउनको लागि प्रयोग गरिने कच्चा पदार्थ भएकाले फडानी गरिएको उहाँको भनाई छ । प्रहरीले जिल्लाका अन्य स्थानीय तहमा पनि गाँजाका बोट लगाईएको सूचना प्राप्त भएकाले सबै ठाउँमा फाडनी गर्नको लागि प्रहरी परिचालन गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *