अधिकारीचौर जोड्ने पुल तीन वर्षदेखि अलपत्र

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको पश्चिम क्षेत्रमा निर्माणाधिन मोटरेवल पुल समयमा नबन्दा स्थानीयले सास्ती पाएका छन् । यसका साथै पुलले जोडेको सडक सञ्जालमा सहज पहुँच नहुँदा स्थानीय उत्पादन बारीमै कुहिन थालेका छन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर ५ अस्तुदेखि ओडारबोट–अधिकारीचौर जोड्ने मोटरेवल पुल समयमै नबन्दा अधिकारीचौरका कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी कुहिन थालेको किसानको गुनासो छ ।

अस्तु–ओडारबोट अधिकारीचौर मोटरेवल पुल निर्माणका लागि वाइटी रफिना जेबी कन्ट्रक्सनले २०७३ असोज ४ गते सडक डिभिजन कार्यलय बागलुङ मार्फत सम्झौता गरेको थियो । १६ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुल चार वर्ष बितिसक्दा पनि ५० प्रतिशत काम हुन सकेको छैन । तर, अनेक मिलोमतोमा पुल निर्माणको म्याद थप भने पटक पटक भइरहेको छ ।

समयमा पुल नबन्दा ढोरपाटन नगरपालिका वडा नम्बर ५ को नाथुरी, अधिकारीचौर, भैँसीखर्क, घैयाखेत, बाहुनगाउँ लगायतका स्थानका करिब नागरिकलाई खोला वारपारमा समस्या भइरहेको स्थानीय बताउँछन् । पुल निर्माणका लागि दुई वर्ष अगाडी दुई तिर पिल्लर उठाए पनि अरु काम हुन सकेको छैन । गत भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले पुलको ग्याबिन भत्किएर क्षति पु¥याएको स्थानीयको भनाई छ ।

चार वर्षदेखि उक्त पुल अलपत्र पर्दा आवत जावतमा समेत समस्या भएको स्थानीय शिवराज कँडेलले बताउनुभयो । ठेकेदार कम्पनी र सम्बन्धित निकायको बेवास्ताका कारण चार वर्ष बितिसक्दा पनि पुल बन्न नसकेको स्थानीयको गुनासो छ ।

समयमै पुल नबन्दा स्थानीय दुई मिनेटमा पुग्न सकिने ठाउँमा ४५ मिनेट भन्दा बढी यात्रा गर्न बाध्य भएको कँडेलको भनाई छ । स्थानीयले पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो । ‘गाउँमा कोही बिरामी पर्दा पनि तत्काल अस्पताल पु¥याउन सक्ने अवस्था छैन, यसले गर्दा धेरै नागरिकले दुःख भोग्नु परेको छ,’ कँडेलले भन्नुभयो ।

तोकिएको समयमा पुल नबन्दा बारीमा उत्पादन भएका फलफूल र तरकारी कुहिएर नष्ट भएको स्थानीय कृषक शालिकराम कँडेलले दुखेसो पोख्नुभयो । समयमै पुल बन्ने अपेक्षा लिएर कृषिमा ठूलो लगानी गरेको तर पुल नबन्दा बजार सम्म पु¥याउन निकै कठिन भएको उहाँको भनाई छ ।

‘गाउँ मोटरबाटोले जोडियो, पुल पनि बन्न थाल्यो भनेर कृषि तिर लगानी गरियो, पुल नबन्दा बजारमा फलफूल पु¥याउन निकै गाह्रो भएको छ,’ कँडेलले भन्नुभयो, ‘बर्खाको समयमा गाडी चल्दैन, त्यसले गर्दा हामी निकै मारमा परेका छौँ ।’

पुल अलपत्र पार्ने निर्माण कम्पनी र ठेकेदारलाई कडा कारवाही गर्नुपर्ने स्थानीयको माग छ । हिउँदको समयमा जसोतसो खोला वारपार गर्न सके पनि वर्षातको समयमा घण्टौ लगाएर वारपार गर्नु पर्ने बाध्यता रहेको छ ।

हिउँदको समयमा स्थानीयले उत्पादन गरेका कृषि उपज मानिस लगाएर बोकाएर पनि बुर्तिबाङ बजारसम्म पु¥याउने गरेका छन् । तरकारी लिन घरमै पनि गाडी पुग्ने गरेको छ । तर, वर्खाको समयमा न गाडी आउँछ, न बोकेर बजार पु¥याउन सकिने अवस्था छ । जसका कारण उत्पादन गरेका तरकारी फलफूल गाई भैँसीलाई दिन बाध्य भएको स्थानीय कृषक बताउँछन् ।

पुल नर्माणको जिम्मा लिएको निर्माण कम्पनी वाइटी रफिना जेबी कन्ट्रकसन रविन जोशीलाई सम्पर्क गर्दा फोन उठेन । निर्माण व्यवसायीले काम नगर्ने र सम्पर्क गर्दा फोन समेत नउठाउने समस्याले स्थानीय वासिन्दा थप हैरानी र आक्रोशित छन् ।

स्थानीयबाट गुनासो पनि आएको र केही ढिलाई लापरवाही भएको पाइएकाले छिट्टै पुल निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यलय बागलुङले ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको डिभिजन प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।

‘केही समय अगाडी काम भइरहेको थियो, पछिल्लो वर्षमा भने पुरै काम रोकिएको छ, आगामी असार मसान्तसम्म सरकारले म्याद दिएको छ,’ डिभिजन प्रमुख लम्सालले भन्नुभयो ‘असार मसान्त सम्म काम सकेन भने कारवाही प्रक्रिया अगाडी बढाउने छौँ, काम सक्नको लागि हामीले दबाब दिइरहेका छौँ ।’

सरकारले केही समय अगाडी ठूला ठेकेदार कम्पनीलाई योजना सक्नका लागि केही समय थप गरेको हुँदा कारवाही हुनबाट जोगिएको बताउँनुभयो । असार मसान्त सम्म जुनकुनै हालतमा सक्ने गरी कार्यालयले पहल र निर्देश गर्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *