गलकोटका आइशोलेसन भरिए, अब गाउँ फर्कने हाेम क्वारेन्टिनमा

डम्मर बुढा मगर, बागलुङ
नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावली नजिकिएसँगै विदेशबाट गलकोट आउनेको लर्को लागेको छ । विदेश तथा मुलुकको विभिन्न स्थानबाट नागरिकहरु गलकोट भित्रिन थालेसँगै कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ ।

बाहिरबाट आउने नागरिकहरुको व्यवस्थापनको लागि गलकोट नगरपालिकाले होम क्वारेन्टिनमा व्यवस्थापन गर्ने नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । उहाँले दिनप्रतिदिन नागरिकहरु गलकोट भित्रिरहेको भन्दै उनीहरुलाई होम क्वारेन्टिनमा बस्न लगाउने उहाँको भनाई छ ।

‘बाहिरबाट आउने जति सबैलाई हामीले क्वारेन्टिन बनाएर राख्ने अवस्था छैन, उनीहरुलाई होमद क्वारेन्टिनमै व्यवस्थापन गरिरहेका छौँ,’ नगर प्रमुख गैरेले भन्नुभयो ‘होम क्वारेन्टिनमा बस्नेहरुको निगरानीका लागि टोल–टोलमा निगरानी समिति बनाएका छौँ, गलकोट नगरपालिकाले मात्रै चाहेर क्वारेन्टिन बनाएर राख्न सक्ने अवस्था छैन ।’

गलकोट नगरपालिकामा २१ बेडको आइशोलेसन भए पनि अहिले सबै भरिभराउ भएको छ । बिहिबार संक्रमण पुष्टि भएका ६ जनलाई आईशोलेसनमा राखिए पनि अन्य ९ जनालाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको नगर प्रमुख गैरेको भनाई छ ।

‘बिहिबार संक्रमित भएका धेरै जसो नागरिक बारा र पर्साबाट आएका हुन्, उनीहरुलाई कसले ल्यायो त्यो बारेमा बुझेर नगरपालिकाले व्यवस्थान गर्ने छ,’ उहाँले भन्नुभयो ‘२१ बेडको आइशोलेसन भरिएपछि अब थपिनेलाई लक्षणको आधारमा व्यवस्थापन गर्ने योजनामा छौँ ।’

उहाँले विद्यालयमा बनाइएका सबै क्वारेन्टिनहरु खाली गरेको बताउनुभयो । हाल ३६ जना नगपालिकाले निर्माण गरेको गलकोट बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेको नगर प्रमुख गैरेले जानकारी दिनुभयो । गलकोट क्याम्पसले नगरपालिकालाई पढाई सुरु गर्ने भन्दै क्वारेन्टिन खाली गर्न पत्र समेत पठाएको उहाँको भनाई छ ।

‘अब होम क्वारेन्टिनको विकल्प छैन, कसरी हुन्छ हामीले होम क्वारेन्टिनालाई व्यवस्थित गराउने योजनामा छौँ, बाहिरबाट आउने नागरिकहरुलाई पनि सचेत बनाउन थालेका छौँ’ नगर प्रमुख गैरेले भन्नुभयो ‘होम क्वारेन्टिन व्यवस्थित भएन भने संक्रमणको दर बढ्न सक्छ, निगरानीलाई कडाई गर्नु पर्ने देखिन्छ ।’

केन्द्र सरकारले दशैँ जो जहाँ छ त्यही मनाउन आग्रह गरको अनुरप नगरपालिकाले पनि उक्त निर्देशनलाई पालना गर्न आग्रह गरेको र नागरिकहरु दिनदिनै थपिँदै जानाले जोखि पनि बढिरहेको प्रमुख गैरेको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *