सुवास गौतम, बागलुङ
जिल्लामा पहिलो पटक कालिजको व्यावसायिक पालन सुरू भएको छ । ‘वन कुखुरा’को नामले परिचित कालिजपालन म्याग्दीमा सफल भइसके पछि बागलुङमा समेत यसको व्यवसयिक पालन शुरु गरिएको हो ।
जिल्लाको ढोरपाटन नगरपालिका–२ सलामकोटमा परीक्षणका लागि पालिएको कालिजपालन व्यवसाय सफल भएको छ । सलामकोटका स्थानीय चुडामणी कंडेलले १० महिना पहिला २ सय कालिजका चल्ला पोखराबाट ल्याएर पाल्न थाल्नुभएको थियो । परीक्षणका लागि दुई रोपनी जग्गा तारबार गरी कालिज पालन शुरु गर्नुभएको कंडेलले ५० कालिज खानका लागि योग्य भइसकेको बताउनुभयो । अहिले उहाँको फार्ममा १ सय ५० कालिज छन् ।
२ सय चल्लामा ५० चल्ला मरेको उहाँको भनाई छ । “यहाँको हावापानीमा कालिजपालन परीक्षणका लागि थोरै मात्रामा कालिज लिएर शुरु गरेको थिए” कंडेलले भन्नुभयो “अहिले बिक्रीका लागि तयारी भाले कालिज दुई किलो सम्मको भएको छ, आफ्नै फर्ममा अण्डा उत्पादन भइरहेका कारण कालिज बढाउन अब समस्या छैन ।” कंडेलले स्माल हेभन चरा फार्म दर्ता गरी कालिजपालन शुरु गर्नुभएको छ । अन्य जिल्लामा कालिजपालन व्यवसाय शुरु भए पनि बागलुङमा हाल सम्म व्यावसायिक रुपमा कालिज पालन शुरु गरिएको थिएन । बडिगाड गाउँपालिकामा स्वास्थ्यकर्मीको रुपमा समेत कार्यरत कंडेलले अन्य जिल्लाको कालिजपालन हेरे पछि बागलुङमा समेत व्यावसायिक उत्पादनको सम्भावना देखेर कालिज पालन व्यवसाय शुरु गरिएको उहाँको भनाई छ ।
अहिले कंडेलका बुवा तुल्सीराम कंडेलले कालिजपालन व्यवसायमा समय दिइराख्नुभएको छ । कंडेलले दुई रोपनी जग्गा मात्रै व्यवस्थापन गर्न हाल सम्म रु.१० लाख खर्च गरिसक्नुभएको र अबका दिनमा तीन हजार कालिज पालनका लागि फार्मको विस्तार गरी १० रोपनी क्षेत्रफलमा तारजाली गर्ने काम भइरहेको जानकारी दिनुभयो । “शुरुमा खासै ज्ञान भएन, २ सय ९० कालिजका अण्डा, बन्दाबन्दीका कारण ह्याचिङ गर्न नपाउँदा कुहिएर गए” उहाँले भन्नुभयो “केही नयाँ चल्ला र केही घरमै ह्याचिङ गरेका चल्ला गरी आगामी वर्ष झण्डै २ हजार ५ सय कालिजका चल्ला पु¥याउनेछु ।”
शुरुमा फर्म व्यवस्थापन गर्न जटिल रहेपनि कालिजपालनलाई धेरै समय दिन नपर्ने भएकाले फरक व्यवसाय सञ्चालन गरेको कंडेलले बताउँनहुन्छ । उहाँले थप २५ लाख लगानीमा बाँझो रहेको आफ्नै ८ रोपनी जग्गा व्यवस्थापन गर्न थाल्नुभएको छ । कम मेहनतमा धेरै नाफा कमाउन सक्ने व्यवसाय भएका कारण कालिज पालनमा लगानी थप्दै जान थालेको कंडेलको भनाई छ । अहिले प्रतिगोटा भाले कालिजलाई रु.तीन हजार ५ सयमा बिक्री गरिरहेको उहाँको भनाई छ ।
सरकारले पछिल्लो समय उत्पादित कालिजको चल्लालाई कानुनी मान्यता दिए पछि जिल्ला जिल्लामा कालिजपालन शुरु भएको छ । एउटा पोथी कालिजले २० देखि ४० वटा अण्डा उत्पादन गर्ने भएकाले चल्ला उत्पादन गरी कालिज व्यवसायलाई बढाउदै लैजाने उहाँको योजना छ । कालिजको मासुले विभिन्न रोग निको हुने जनविश्वास रहेकाले होटल र व्यक्तिगत रुपमै खरिद गर्न थालिसकेका छन् ।