आदर्श अनलाइन, बागलुङ
नियमित विद्युत आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो ।
तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ । केन्द्रीय विद्युतको पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युतको उत्पादन विस्तारै घट्दै गए पछि गत वर्षको माघ देखि यता उद्योग सञ्चालन गर्न नसकिएको स्थानीय बताउँछन् ।
पाण्डवखानीको सामुदायिक तथा नीजि वनमा पाइने अर्घेली र बरुवा जातको रुखबाट उत्पादन हुने लोक्ता प्रशस्त पाइने भए पछि स्थानीय चुडाबहादुर राना चार वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालनमा सक्रिय हुँदै आउनुभएको थियो । लघु जलविद्युतबाट सञ्चालन गरिदै आएको हाते कागज नियमित विद्युत आपूर्तिमा समस्या आए पछि बन्द भएको हो ।
‘७ महिनादेखि हाते कागज उद्योग पूर्ण रुपमा ठप्प बनेको छ’ उद्योग सञ्चालक चुडाबहादुर रानाले भन्नुभयो ‘केन्द्रीय विद्युत नभए सम्म उद्योग चल्न नसक्ने भयो, उद्योगमा केन्द्रीय विद्युत ल्याउने पहल भइरहे पनि केही महिना लाग्ने भयो ।’
लोत्ताको अभाव नभएका कारण भने जति उत्पादन गर्न सकेको उद्योगमा पाँच जनाले नियमित रोजगारी पाउँदै आएका थिए । ताराखोलामा उत्पादन भएको नेपाली हाते कागज बागलुङ, पोखरा र काडमाण्डौं बिक्री हुँदै आएको थियो ।
‘लघु विद्युतले नधाने पछि जेनेरेटर समेत किनेर ल्याए तर, केही सिप लागेन’ उहाँले भन्नुभयो, ‘सुरुमा सिक्दा सिक्दै घाटा भयो, अहिले विद्युत नहुँदा लगानी डुब्ने अवस्था आएको छ ।’
हाते कागज उद्योगमा झण्डै ५० लाख भन्दा बढी लगानी गरिसकेको रानाले बताउनुभयो । पछिल्लो समय निरन्तर उद्योग चल्दा राम्रै आम्दानी हुन थालेको भएपनि विद्युत उत्पादनमा कमी आउँदा उद्योग बन्द भएको हो ।
उद्योगमा स्थानीय माउखोला लघुजलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत प्रयोग गरिदै आएको थियो । उद्योगलाई नियमित ८ किलोवाट विद्युत आवश्यक भए पनि लघु जलविद्युतले जम्मा १२ किलोवाट मात्रै विद्युत उत्पादन गरेपछि स्थानीयलाई मात्रै विद्युत बाल्न पुगेको छ ।
पुरा क्षमताको विद्युत आपूर्तीमा समस्या भए पछि विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको छ । हाते कागजको निकै सम्भावना रहेको पाण्डवखानीमा उद्योगलाई पुनः सुचारुका लागि केन्द्रिय विद्युतको आवश्यकता देखिएको छ ।
उत्पादन भएको नेपाली कागजलाई ३०÷३० इन्चको कागजलाई गुणस्तरका आधारमा रु. ८ देखि ४० रुपैयाँ पर्ने गरेको छ । माघ अघि उत्पादन भएको हाते कागज बन्दाबन्दीकै बीचमा बिक्री गर्नुभएका रानाले कागजबाटै वार्षिक ३० लाखको आर्थिक कारोवार गर्दै आएको बताउँनुहुन्छ । उद्योगमा अहिले २ सय १५ थान कागज सुकाउने फ्रेम रहेका छन् । केन्द्रीय विद्युत गाउँ आउँदा साथ फ्रेम थपेर ५ सय थान पु¥याउने उहाँको लक्ष्य छ ।
अहिले पाण्डवखानीमा केन्द्रीय विद्युतिकरणका लागि पोल गाड्ने र तार टाँग्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रीय विद्युतिकरणका लागि केही महिना लाग्ने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो ।
‘पाण्डवखानीमा अहिले विद्युतिकरणको काम भइरहेको छ, सामाग्री आपूर्ती नहुँदा केही समय लाग्ने भएको छ’ बितरण केन्द्र प्रमुख गोशलीले भन्नुभयो, ‘यही दसैं, तिहार पछि बिद्युत जडान गरिनेछ, मागको हिसावले ट्रान्सफर्मर राख्नुपर्ने भएकाले केही महिना त लाग्ला ।’
बागलुङ जिल्लाको ताराखोलामा समेत हाते कागज उद्योग सञ्चालन हुँदै आएको छ । बागलुङमा उत्पादन भएको नेपाली हाते कागजको माग उच्च रहेको छ । नेपाली कागज सरकारी कामकाजका लागि बढी प्रचलनमा आउने गरेको छ ।