चाडपर्व नजिकिए सँगै जिल्ला भित्रिने संख्या बढ्यो, यस्तो छ कोरोना रोकथाममा बागलुङको तयारी

डम्मर बुढा मगर, बागलुङ
–सबै पालिकामा १० वेडको आइसोलेसन, ३० वेडको क्वारेन्टिन
–बाहिरबाट आउनेसँग घुलमिल नगर्नुस्ः स्वास्थ्य कार्यालय

नेपालीहरुको महान पर्व दसैं नजिकिएसँगै विदेश तथा देशका विभिन्न स्थानबाट घर गाउँ आउनेको संख्या दैनिक बढ्दो छ । यद्यपी, सरकारले समेत यसवर्ष जो जहाँ छौ, त्यही दसै मनाउन आग्रह गरेको छ ।

गृह जिल्ला भित्रिनेको संख्या बढेसँगै बागलुङमा कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । संक्रमण बढ्दै गए पनि कोरोना रोकथाम तथा नियन्त्रणको पूर्ववत तयारी र व्यवस्थापनमा प्रभावकारी कदम नचालेको गुुनासो छ । विदेशबाट आउने तथा अन्य जिल्लाबाट आउने नागरिकहरु अहिले गाउँघरमा होम क्वारेन्टिनमा बस्न भनिएको छ । तर,उनीहरु खुलेआम गाउँमा हिँड्डुल गरेको व्यापक गुनासो छ ।

कोरोना भयावहको लामो समय स्थानीय सरकारले क्वारेन्टिनमा राख्ने प्रबन्ध मिलाएको थियो । अहिले जो जहाँबाट आए पनि सिधै घरमा बस्ने पाउने भएका छन् । विद्यालयमा बनाइएका क्वारेन्टिन खाली गरिएका छन् । स्वास्थ्य सुरक्षा तथा अन्य विधि अपनाएर कक्षा समेत संचालन गर्न थालिएको छ । बाहिरबाट आउनेलाई दुई हप्ता होम क्वारेन्टिनमा बस्न स्थानीय तह र वडाले आग्रह गरेका छन् ।

विदेश तथा मुलुकका विभिन्न जिल्लाबाट आउने नागरिकलाई सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न लगाइएको गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बताउनुभयो । स्थानीय सरकारले मात्रै बाहिरबाट आउने नागरिकलाई क्वारेन्टिनमा राख्न सक्ने अवस्था नभएकाले उनीहरुलाई सिधै होम क्वारेन्टिनमा बस्न भनिएको गैरेको भनाई छ ।

‘स्थानीय सरकारले मात्रै बाहिरबाट आउनेलाई क्वारेन्टिनमा व्यवस्थापन गरेर राख्न अवस्था छैन, दिनदिनै मानिसहरु आइरहेका छन्,’ मेयर गैरेले भन्नुभयो ‘केन्द्र सरकारले सहयोग गरेर उनीहरुको व्यवस्थापन गर्नको लागि जिम्मा दिएको भए मात्रै सम्भव हुन्थ्यो ।’ उहाँले टोल–टोलमा निगरानी समिति बनाएर होम क्वारेन्टिनमा बसे नबसेको निगरानी गर्ने बताउनुभयो ।

गलकोटमा २१ वेडको आइसोलेसन भए पनि अहिले भरिभराउ छ । आइसोलेसन भरिभराउ हुँदा थपिएका संक्रमितलाई व्यवस्थापन गर्न थप आइसोलेसन निर्माण गर्नु पर्ने देखिएको छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले बाहिरबाट आउने सबै नागरिकलाई क्वारेन्टिनमा व्यवस्थापन गरिरहेको बताउनुभयो । अध्यक्ष थापाले प्रत्येक वडामा १० देखि २० वेडको क्वारेन्टिन निर्माण गर्ने र गाउँपालिकामा २०–२५ वेडको आइसोलेसन निर्माण गरिने बताउनुभयो ।

‘गाउँपालिकामा भित्रिने सबै नागरिकलाई क्वारेन्टिनमा राख्ने र संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था भएको छ, जुन वडामा जति जना आउनुहुन्छ त्यही अनुसार क्वारेन्टिनमा राख्नेछौँ,’ अध्यक्ष थापाले भन्नुभयो ‘संक्रमितको संख्या बढ्दै गए आइसोलेसन पनि बढाउँदै जानेछौँ ।’

गाउँपालिकाले अहिले भिमसेन प्राविमा आइसोलेसन निर्माण गरेको छ । गाउँपालिकाको आइसोलेसनमा ७ जना सक्रिय संक्रमित छन् । जिल्लाका अन्य स्थानीय तहको तयारी पनि गलकोट र काठेखोलाको जस्तै छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कमाण्ड पोस्टका संयोजक सुरेश न्यौपानेले बाहिबारबाट आउने सबैलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नु पर्ने बताउनुभयो । केही दिन अगाडी मात्रै सबै पालिकामा बाहिरबाट आउने नागरिकलाई क्वारेन्टिनमा राख्नका लागि पत्राचार गरिसकेको उहाँको भनाई छ ।

‘सबै पालिकाले बाहिरबाट आउने नागरिकलाई क्वारेन्टिनमा राख्नका लागि पत्राचार गरेका छौँ, उनीहरु सबैलाई क्वारेन्टिनमै राख्नु पर्छ,’ प्रजिअ न्यौपानेले भन्नुभयो ‘गृह मन्त्रालयले होम क्वारेन्टिन र आइसोलेसनको विकल्प सहित निर्देशन गरेको छ, तर त्यो गाउँमा थप जोखिम र समस्या हुने हुँदा क्वारेन्टिनमै राख्नुपर्ने हुन्छ ।’

बाहिरबाट आउने नागरिकहरुको मालढुङ्गामा विवरण संकलन गरिएको र त्यही अनुसार सम्बन्धित पालिकाले क्वारेन्टिनमा राख्नुपर्ने उहाँले बताउनुभयो । प्रजिअ न्यौपानेले सबै पालिकामा कम्तीमा १० वेडको आइसोलेसन र ३० वेडको क्वारेन्टिन संचालन गर्ने समेत निर्णय भएको बताउनुभयो ।

संक्रमित थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाली सेनाको व्यारेकमा ८० वेडको आइसोलेसन निर्माण गरेको जानकारी दिनुभयो ।

बाहिरबाट आउनेसँग घुलमिल नगर्नुस्ः स्वास्थ्य कार्यालय
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बाहिरबाट आउने नागरिक सबैलाई कोरोना परीक्षण गर्न सम्भव नभएको बताउनुहुन्छ । अब लक्षण देखिएकालाई मात्र पीसीआर परीक्षण गरिने उहाँको भनाई छ ।

नागरिक आफै सजग नभएसम्म कोरोना संक्रमण नरोकिने भएकाले सरकारको निर्देश गरेको नियमलाई पालना गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘लकडाउनको समयमा अहिलेको जस्तो अवस्था थिएन, पहिले भारत र अन्य मुलकबाट आउने नागरिकहरुमा मात्रै संक्रमणको जोखिम थियो, अहिले त लकडाउन खुलेको छ त्यसले गर्दा जो कोही पनि संक्रमित भएको हुन सक्छ’ गुरौले भन्नुभयो ।

उहाँले बागलुङको कोरोना संक्रमितको संख्या धेरै देखिए पनि समुदायमा नफैलिएको बताउनुभयो । ‘अहिले संख्यामा धेरै देखिए पनि समुदायसम्म त्यसरी संक्रमण फैलिएको छैन,’ उहाँले भन्नुभयो ‘बाहिरबाट आएका र नेपाली सेनामा संक्रमण हुँदा संख्या धेरै देखिएको हो ।’

उहाँले यो समयमा बाहिरबाट आउने नागरिकहरुसँगै घुलमिल नगर्न भन्दै बाहिरबाट आएका नागरिक अनुशासित तरिकारले सरकारको नियम पालना गरे संक्रमण फैलिन नसक्ने बताउनुभयो ।

गुरौले स्थानीय सरकारले जिल्ला बाहिर र विदेशबाट आउने नागरिकलाई सही तरिकाले व्यवस्थापन गरे संक्रमण फैलिन रोकिने बताउनुभयो । होम–आइसोलेसन र होम–क्वारेन्टिनमा बस्ने नागरिकले पनि सतर्कता अपनाए समुदाय र परिवारमा कोरोना नफैलिने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *