स्वास्थ्यको वार्षिक समिक्षा सुरु, ‘कोरोना रोकथाम सबैको भुमिकाबाट मात्र सम्भव’

आदर्श अनलाइन, बागलुङ
कोरोना रोकथाम तथा नियन्त्रणमा मानवीय लापरवाही र क्रियाकलाप मुख्य चूनौतीको रुपमा देखिएको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् ।

स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा आर्थिक वर्ष २०७६/७७ मा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रमको उद्घाटनका अवसरमा बोल्ने वत्ताहरुले कोरोना मानव जीवनकै जटिल संकट भएकाले सबैले मिलेर सामना गर्नुको विकल्प नभएको बताए । अहिले पनि बजारमा मास्क नलगाई हिँड्ने, सामाजिक दुरी कायम नगर्ने, न्यनुतम स्वास्थ्य सुरक्षा मापदण्ड पनि पालना नगर्दा कोरोना संक्रमणको दर र जोखिम बढेकाले नागरिक पनि सचेत र जिम्मेवार बन्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा विद्यमान महामारी र यसको नियन्त्रण प्रयासका बारेमा जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले कोरोनाको तत्काल भ्याक्सिन आउने अवस्था नरहेकाले सचेत र सुरक्षित बन्नु बनाउनुनै उत्तम उपाय भएको बताउनुभयो । स्वास्थ्य सम्वद्ध निकायले पहिले कोरोना संक्रमितको पहिचान, उनीहरु सँगको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ, स्वास्थ्य सुरक्षाका लागि होम क्वारेन्टिन र आइसोलेसन व्यवस्थापन, सामाजिक दुरी कायम र सामाजिक आचरण सुधारमा बिशेष ध्यान दिन जरुरी भएको बताउनुभयो ।

वार्षिक समिक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले मानव सभ्यताकै कठिन चूनौतीका बेला स्वास्थ्यकर्मी सहित सबैको साझा प्रयत्न आवश्यक रहेको बताउनुभयो । उहाँले कोरोना रोकथाम र नियन्त्रण कुनै एक पक्षको भुमिकाबाट मात्र सम्भव नभएको भन्दै यसबेला सबै सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । यसका लागि स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेको भन्दै अबका दिन पनि थप प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने र त्यसमा सबैको साथ सहयोग जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहाल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गत आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको समग्र समिक्षा गरेर आगामी कार्यक्रम तय गर्दै मंगलबार कार्यक्रम सकिने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंको स्वागत मन्तव्य र तथ्यांक अधिकृत घनाश्याम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *