नगरका ग्रामीण सडक पनि कालोपत्रे हुँदै

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रका केही सडकको कालोपत्रे गर्न थालिएको छ । बागलुङ नगरपालिका–३ भलाटाकुरा–काभ्रे हुँदै कालिमाटी जाने सडक अन्र्तगत ६ सय ५० मिटर सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत यस खण्डको कालोपत्रेका लागि एक करोड रुपैयाँ बिनियोजित छ । बिएनए निर्माण सेवाले निर्माण जिम्मा लिएको कालोपत्रेको काम अहिले अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।

‘दसैंसम्म कालोपत्रे सक्ने योजना छ, कोरोनाका कारण रोकिएको कालोपत्रे गर्ने काम अहिले मात्रै शुरु गरिएको थियो’ शर्माले भन्नुभयो ‘बागलुङ बजारमा खाल्टाखुल्टी पुर्ने, मर्मत तथा कालोपत्रे गर्ने लगायतको कार्य पनि चलिरहेको छ ।’

यसका साथै बागलुङ नगरपालिका–१३ पैयुपाटा स्थित जलकिनी घुम्टी देखि भैरव स्थान जाने सडकको समेत कालोपत्रेका लागि पूर्वाधार निर्माण थालिएको छ । यस वर्ष ३१ सय ६० मिटर कालोपत्रे गरिनेछ । यस सडकको कालोपत्रे पश्चात बागलुङको प्रसिद्ध धार्मीक स्थल भैरवस्थान जान सहज हुनेछ । उक्त सडक रु. ६ करोड ९ लाखमा ठेक्का सम्झौता भएर काम अगाडी बढाइएको छ । उक्त सडक समेत स्थानीय पूर्वाधार साझेदारी अन्र्तगत छन् । जसमा संघीय सरकारबाट ६० प्रतिशत र स्थानीय सरकारले ४० प्रतिशत बजेट खर्च गर्नुपर्ने शर्त छ ।

यस्तै बलेवा पुग्ने सडक मध्येको गलुवा देखि जलकिनी घुम्टी नजिकै सम्मको सडक समेत कालोपत्रे गर्ने नगरपालिकाको तयारी छ । जिल्ला सदरमुकाम भित्र रहेका खाल्टाखुल्टी तथा छोटा सडक कालोपत्रे गर्ने कार्यले समेत तिव्रता पाएको छ । बागलुङ बजारको अस्पताल रोडमा पनि कालोपत्रे गरिएको छ भने श्रीनर टोलमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ ।

बागलुङ नगरपालिकाका सबै क्षेत्रलाई सहज सडक सञ्जालले जोड्ने योजना अनुरुप कालोपत्रे गर्ने कार्यलाई अघि बढाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘हामी आए पछि केही सडकलाई कालोपत्रे गर्ने कार्य चलिरहेको छ, केही सडक कालोपत्रे भइसकेका छन्’ नगर प्रमुख पौडेलले भन्नुभयो ‘नगरका १४ वटै वडामा कालोपत्रे सडकको पहुँच पुग्ने गरी शुरुवात गरिएको छ, यसलाई क्रमशः विस्तार गर्दै लगिनेछ ।’

गत वर्ष वडा नम्बर ६ देखि वडा नम्बर ७ पुग्ने एक हजार ८ सय मिटर सडक कालोपत्रे गरिएको थियो भने बागलुङ बजारका छोटा सडकको झण्डै ३ सय मिटर सडक कालोपत्रे गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *