खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन भएका स्लेट ढुङ्गाको बजार माग राम्रो छ ।
बेरोजगार युवाहरु दैनिकजसो विदेश पलायन भइरहेको यथार्थका बीच ताराखोला गाउँपालिका भित्रका ढुंगाखानीबाट झण्डै ४ सय जनाले रोजगारी पाउँदै आएका छन् । गाउँपालिका भित्र झण्डै ४५ ढुङ्गा (स्लेट) खानी सञ्चालनमा छन् । व्यक्तिगत जग्गामा रहेका ढुङ्गाखानीबाट स्थानीय युवाले सहजै रोजगारी पाए पछि वैदेशिक रोजगारीमा खासै ध्यान लगाउन नपरेको स्थानीय बताउँछन् ।
घर छाउन उत्पादन तथा प्रयोग हुँदै आएको स्लेट ढुङ्गा पछिल्लो समय आधुनिक घरमा टास्ने र छाप्ने कार्यमा प्रयोग हुँदै आएको छ । ताराखोला गाउँपालिकाको राष्ट्रिय वन र सामुदायिक वनमा भएको उद्योग क्रमशः बन्द हुँदै गए पनि व्यक्तिगत जग्गामा रहेका ढुंगा खानीहरु भने सञ्चालन भइरहेका छन् । विशेषगरी गाउँपालिकाको वडा नम्बर–१ र ५ मा झण्डै ४५ ढुङ्गा खानी सञ्चालन भएका छन् । ढुंगाखानी सञ्चालनबाट ठुलो संख्या स्थानीयले रोजगार पाइरहेको ताराखोला गाउँपालिका–५ करिमेलाका ढुङ्गा खानी सञ्चालक हिमाल विश्वकर्माले जानकारी दिनुभयो । ‘मैले ताराखोलामा पहिलो पटक ढुङ्गा खानी दर्ता गरी सञ्चालनमा ल्याएको हुँ, स्थानीय तहमा ढुङ्गा खानी दर्ता हुन नसक्दा यहाँका खानी सञ्चालकले धेरै दुःख र सास्ती पाइरहेका छन्’ विश्कर्माले भन्नुभयो ‘सबै प्रक्रिया पु¥याएर दर्ता गर्न धेरै समस्या छ ।
यद्यपी, केही उद्योग दर्ता प्रक्रियामा छन्, खानी तथा भूर्गभ विभागमा दर्ता गर्न नै निकै लामो समय लाग्छ ।’ विश्वकर्माका अनुसार, स्थानीय तहले दर्ता गर्ने र राजश्व संकलन गर्न सके ढुङ्गा उद्योगीलाई सहज हुने बताउनुभयो । ढुङ्गाखानीबाटै वार्षिक ६० लाख भन्दा बढीको कारोवार गर्ने विश्वकर्माले ३५ जनालाई नियमित रोजगारी प्रदान गर्दै आएको बताउँनुहुन्छ ।
गाउँपालिका भित्र झण्डै ४५ खानी भए पनि अधिकांश उद्योगले निकासी कर मात्रै तिरेर ढुङ्गा बिक्री गर्दै आएका छन् । पाँच वर्षदेखि मतेस खोला नजिकै ढुङ्गा खानी सञ्चालन गर्दै आउनुभएका हिमाल विश्कर्माले पछिल्लो समय ढुङ्गाको मुल्य घट्दै गएको र कामदारको ज्याला बढ्दै गएका कारण केही समस्या भने हुँदै आएको बताउनुभयो ।
ताराखोला–५ नागी स्थित पोकबहादुर घर्तीले आफ्नै पाखोबारीमा ढुङ्गाखानी सञ्चालन गर्दै आउनुभएकोछ । उहाँले आफूजस्ता १० युवालाई रोजगारी प्रदान गर्दै आएको बताउँनुहुन्छ । ‘बाउ बाजेले घर छाउने ढुङ्गा निकाल्दै आएको देखेको थिए, आफ्नै पाखोबारी खनेर ढुङ्गा निकाल्दै कटिङ गर्दै बिक्री गर्दै आएको छु’ घर्तीले भन्नुभयो ‘समयको परिर्वतनसँगै ढुङ्गाको प्रयोग पक्की घरमा बिछ्याउने र छाप्ने कार्यमा प्रयोग भइरहेको छ, वार्षिक चार पाँच लाख कमाउदै आएको छु, विदेश जानु परेको छैन ।’ पहिलाका ढुङ्गा माटाले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले बजारमा निर्माण गरेका पक्की, मठ मन्दिर तथा पदमार्गमा टास्ने तथा बिछ्याउने काममा बढी प्रयोग हुने गरेको उहाँको भनाई छ ।
घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको यहाँको स्थानीय ढुङ्गा (स्लेट) विकल्प समेत बन्दै गएको छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बल भन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ र परम्परागत देखिने भएकाले पछिल्लो समय यसको माग बढिरहेको छ । ताराखोलामा उत्पादन भएका ढुङ्गा पोखरा, काठमाण्डौं, बुटवल लगायतको सप्लायर्सले खरिद गरेर लैजाने ढुङ्गा उद्यमी बताउँछन् ।
ढुङ्गाखानीबाट निस्केका स्लेटको निकासीकर ताराखोला गाउँपालिकालाई बुझाउदै आएका छन् । यो वर्ष ताराखोला गाउँपालिकाले ढुङ्गाको निकासी कर मात्रै १० लाख रुपैयाँ उठाएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । गाउँपालिका मातहतमा ढुङ्गा खानी नपर्ने भएकाले कर संकलन र उद्योग दर्तामा समस्या भएको अध्यक्ष घर्र्तीको भनाई छ । ‘प्रदेशले बल्ल गिट्टी बालुवाको कार्यविधी बनाएको छ, ढुङ्गाखानीको कार्यविधि नबन्दा हामीले लाखौं राजश्व गुमाई राखेका छौं’ घर्तीले भन्नुभयो ‘प्रदेशको पटक–पटक ध्यानार्कषण गर्दा समेत कार्यविकि बनेको छैन, कार्यबिधि नबन्दा खानी तथा भूगर्भ विभागमा दर्ता गर्नुपर्ने भए पनि निकै समस्या छ ।’ गाउँपालिका भित्र प्रशस्त घरेलु तथा साना उद्योग भएका कारण कार्यविधि बनेमा गाउँपालिकालाई धेरै कर संकलन हुन सक्ने घर्तीले बताउनुभयो ।