चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना

डम्मर बुढा मगर, बागलुङ
नेपालीहरुको महान पर्व बडादशैं तथा तिहार नजिकिएको छ ।

यो समयमा दुर्घटना, चोरी, लुटपाट लगायतका घटना बढी हुने गर्दछ । चाडपर्व मान्न शहर बजारमा भएका र व्यवसाय गर्नेहरु आफ्ना पुराना पुख्यौली घर गाउँ जाने भएकाले शहर बजार सुनसान हुन्छ, गाउँघरमा भने चहल पहल हुन्छ । यहीबेलामा चोरी, लुटपाट र अपराधिक घटनाको जोखिम बढी हुने भएकाले प्रहरीले हरेक वर्ष बिशेष योजना बनाउने गरेको छ ।

चोरी लगायतका घटना न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । बजार क्षेत्रमा जुवातास बढी खेल्ने गरेको गुनासो आएकाले नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन गरेको जनाएको छ ।

सवारी साधनमा हुने ओभर लोड, भाँडा लगायतका मनपरी रोक्न जिल्लाको चार स्थानमा चेकिङ पोस्ट राखिएको छ । बागलुङको प्रवेशद्वार मालढुङ्गा, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिकाका भल्कोट, बडिगाड गाउँपालिकाको खर्बाङमा चेक पोस्ट राखिएको छ ।

चाडपर्वको समयमा हुने विभिन्न घटना रोक्न जनशक्ति समेत बढाएर सुरक्षालाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । समग्र जिल्लाको शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय बागलुङले २४ सै घण्टा ड्युटिमा खटिएको र घटना हुन सक्ने सम्भावित ठाउँहरुमा बढी निगरानी राखेको उहाँको भनाई छ ।

‘यो समय विशेष गरी दुर्घटना बढी हुन्छ, दुर्घटनासँगै चोरी र लुटपाटका घटना पनि बढी हुने गर्छन्, त्यसलाई रोक्न ट्राफिक प्रहरीसँग समन्वय गरेर नागारिकको यात्रालाई सहज गराउने र दुर्घटना हुन नदिन चालकहरुलाई समेत सचेत बनाई रहेका छौँ,’ सूचना अधिकारी रेग्मीले भन्नुभयो ‘यो सँगै बढी चोरी तथा लुटपाट हुने स्थानमा हामीले थप निगरानी राखेका छौँ ।’

प्रहरी उपरिक्षक रेग्मीले चाडबाडको समयमा बैंक तथा वित्तीय संस्था र सुन पसलहरुमा बढी लुटपाट हुने भएकाले सुरक्षा गार्डसँग समन्वय गरेर सुरक्षालाई प्रभावकारी बनाइएको उहाँको भनाई छ ।

यो समय कोरोनाका कारण धेरै बेरोजगारी भएको र चाडपर्वको बेलामा लुटपाट र आपराधिक कार्यमा सम्लग्न हुन सक्ने सम्भावना बढी भएको प्रहरी आँकलन छ । सोही अनुसार, चौतर्फी सुरक्षा सचेतता र निगरानी सुरु गरिएको छ ।

‘कोरोनाका कारण धेरै बेरोजगारी भएका छन्, धेरैको व्यवसाय पनि राम्रोसँग चलेको छैन, चाडबाडमा आफ्नो परिवारलाई मिठो खाना र राम्रो लगाउन दिन सबैको मन हुन्छ, रोजगार व्यवयास चलेको छैन, त्यसले गर्दा चोरी, लुटपाट हुने सम्भावना बढी हुन्छ,’ डिएसपी रेग्मीले भन्नुभयो ‘त्यसले गर्दा चोरी हुने सम्भावित ठाउँलाई बढी केन्द्रित गरेका छौँ ।’

यो समयमा थप सुरक्षाका लागि १५ जना प्रहरी थप गरिएको छ । जिल्लामा ३ सय ९५ जना प्रहरी रहेकोमा १५ जना थप गरी ४ सय १० जना शान्ति सुरक्षामा खटिएका छन् । ग्रामीण क्षेत्रमा बजार क्षेत्रमा भन्दा बढी घटना हुन सक्ने तर्फ पनि सचेत रहदै गाउँ गाउँमा पनि थप कडाइ गरिने रेग्मी बताउँनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *