साधना पन्त, बागलुङ
जिल्लाको गलकोट नगरपालिका –१० स्थित पाण्डवखानी गाउँ । जसको इतिहास हिन्दुको सबै भन्दा ठूलो ग्रन्थ मध्यको एक महाभारतमा रहेका कुन्ती र माद्रीका छोरा पाण्डवसँग जोडिएको छ । पाँच पाण्डवले १२ वर्ष वनवासका क्रममा गलकोटको पाण्डवखानीमा आएर तामाको खानी खनेका कारण पाण्डवखानी रहेको किम्वदन्ती छ ।
पाण्डवखानीको ग्याथरमा पाँच पाण्डवले नुहाउने गरेको पञ्चधारा, त्यस क्षेत्रमा रेगिश्वरे मन्दिर र पाण्डवखानी माध्यमिक विद्यालयको प्राङ्गणमा कुन्तीमाइको मन्दिर छ । अहिले पञ्चधारा सहित ती मन्दिर संरक्षणको अभावमा निकै जीर्ण अवस्थामा छन् । संरक्षणको अभावका कारण पाँच पाण्डवले नुहाएको पञ्चधारा पुरिने अवस्थामा छ भने रेगिश्वरे मन्दिर र कुन्तीमाई मन्दिर जीर्ण अवस्थामा पुगेको छ ।
धृतराष्ट्रका भाइ पाण्डुका कुन्ती र माद्री नामका २ पत्नी थिए । कुन्तीबाट युधिष्ठिर, भीम र अर्जुन जन्मिए । माद्रीबाट नहकुल र सहदेव जन्मिएका थिए । यी ५ जनालाई पाण्डव भनिन्थ्यो । जसमध्ये युधिष्ठिर सत्यवादी र आदर्शवादी थिए । भीममा शक्ति र साहस थियो । अर्जुनमा सीप र जाँगर तथा नहकुलमा ज्ञान र बुद्धि थियो । सहदेव रूपवान् तथा अनुशासित थिए । गुरुको असल निर्देशन तथा आफ्नो शक्ति र योजनाबाट पाण्डवहरूले ईन्द्रप्रस्थ नामको राज्य कायम गरेका थिए । धृतराष्ट्रका छोराहरू भने पाण्डवलाई देखी सहँदैनथे । उनका सय जना छोरा मध्ये दुर्याेधन र दुशासन उद्दण्ड थिए ।
पाण्डवहरू सत्यवादी, धर्मात्मा र कर्तव्यपरायण थिए । कौरवहरू धूर्त, स्वार्थी र घमण्डी थिए । उनीहरू विभिन्न षड्यन्त्र गरेर पाण्डवलाई दुःख दिन्थे । एक दिन कौरवले सल्लाह गरी पाण्डवसँग पासा खेल्ने र हराउने योजना बनाए । पासा खेल्दा पाण्डवले जितेमा कौरवले आफ्नो आधा राज्य उनीहरूलाई दिने भए । पाण्डवले हारेमा उनीहरूले १२ वर्ष वनवास र १ वर्ष अज्ञातवास जानुपर्ने शर्त राखियो । जाल गरेर कौरवले पासा जिते पछि शर्त अनुसार पाण्डवले राज्य छाडेर वनवास लागे । वनवासकै क्रममा बागलुङ जिल्लाको पाण्डवखानीमा केही समय आएर बसेको किम्वदन्ती रहेको ७७ वर्षीय स्थानीय पुनराम पुन बताउँनुहुन्छ ।
‘मैले पनि हजुरबाले भनेको सुनेको हु, पाण्डवहरुले आएर तामाखानी खनेको, पञ्चधारामा नुहाएको कुरा’ पुनले भन्नुभयो ‘तर यहाँ तामाकोे खानीको अवशेष छ, पञ्चधारा पनि छ र पाण्डवका ठूली बैनी रेगिश्वरेको नाममा र आमा कुन्तीको नाममा मन्दिर समेत भएकाले विश्वासयोग्य छ ।’ पाण्डवकी आमा कुन्ती पनि नुहाएर फर्कने क्रममा सोही स्थानमा मृत्यु भएकाले पाण्डवखानीको झियाथर स्थित पाण्डवखानी माध्यमिक विद्यालयको प्राङ्गणमा उहाँको शव गाडिएकाले कुन्ती माता मन्दिर निर्माण गरिएको बताइन्छ ।
इतिहास विर्सदै गएको सन्दर्भमा यसको खोज, संरक्षण तथा प्रचार प्रसार गर्नुपर्ने उहाँको जोड छ । निकै गर्विलो इतिहास बोकेको यस क्षेत्रको संरक्षण नहुँदा इतिहास मेटिदै जाने सम्भावना रहेको स्थानीय बताउँछन् । माङ्खोलाको किनारमा अवस्थित पाण्डवले नुहाएको पञ्चधारा, नुहाए पछि पुजा गर्ने शिवलिंग र रेगिश्वरे मन्दिर रहेको स्थानमा बन जंगलले ढाकेको मात्रै छैन, त्यहाँ पुग्ने बाटो समेत अस्तव्यस्त भइसकेको छ ।
एउटै ढुङ्गालाई कुँदिएर ५ वटा प्वालबाट पानी आउने बनाइएको धारा अहिले पुरिने अवस्थामा पुगेको छ । धारामा लेउ भरिएर पानी खस्नै छोडेको छ । परापुर्व कालमा पाँच पाण्डव वनवास आएको समयमा पाण्डवहरुले त्यस स्थानमा नुहाउने र पुजा पाठ गर्ने गर्दै आएको कथन छ । वि.स.१८१९ साल सम्म पञ्चधारा पुरानै अवस्थामा रहे पनि सोही वर्ष आएको बाढीले पञ्चधारामा क्षति पुगे पनि २०४८ सालमा पुनः निर्माण गरिएको पुनराम बताउँनुहुन्छ । पुनका अनुसार, त्यसयता संरक्षणमा कसैले पहल र चासो नदेखाउँदा इतिहास मेटिन थालेको छ ।
बाढीले ठूली बहिनी रेगिस्वरी मातालाई बगाई रिडीमा लगेको र कान्छी बहिनी पाण्डवखानीमै रहेकाले माघे संक्रान्तिमा रिडी र पाण्डबखानीमा एक साथ मेला लाग्ने गरेको स्थानीय चुडाबहादुर रानाको भनाई छ । पुस मसान्तको रातभरी जाग्राम बस्ने, पुजा गर्ने र संक्रान्तिका दिन विहान फूलहरु माङ्खोलामा विसर्जन गरेमा आटेको पुग्ने जनविश्वास छ । पञ्चधारा सहित अन्य मन्दिरको संरक्षण गर्ने योजना भए पनि बजेटको अभाव भइरहेको गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीका वडा अध्यक्ष तिलक घर्तीले बताउनुभयो ।
‘परापुर्वकालको एउटा इतिहास हाम्रो गाउँमा छ, यसलाई जोगाउने हाम्रो दायित्व पनि हो’ पुनले भन्नुभयो ‘आगामी वर्ष पञ्चधारा संरक्षणको कार्यक्रम ल्याउने योजना छ ।’ घर्तीका अनुसार, पाण्डवखानीमा तामाखानीको निकै सम्भावना भए पनि सरकारले खानी उत्खननमा रोक लगाएका कारण समस्या भएको बताउनुभयो ।
बागलुङमा इतिहास बोकेको पाण्डवले नुहाएको पञ्चधारालाई संरक्षण र प्रचार प्रसार गर्न सकेमा ऐतिहासिक र धार्मिक हिसावले पाण्डवखानीलाई अघि बढाउन सहज हुने बागलुङ पर्यटन बिकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । पाण्डवका बिषयमा धेरै इतिहास रहेकाले यसका बिषयमा स्थानीय र स्थानीय सरकारले थप खोज,अनुसन्धान गरेर संरक्षण तथा प्रर्वद्धन गर्न आवश्यक रहेको थापाको भनाई छ ।