महङ्गो भएपछि च्यांग्राको व्यापार घट्यो

आदर्श अनलाइन, बागलुङ
हिमालपारीको जिल्ला मुस्ताङ्बाट कम मात्रमा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रिका लागि बाहिरिएका छन् ।

दशैतिहारमा च्याङ्ग्राको मासुखाने प्रचलन भएपनि भाउ भने छोई साध्य छैन । ९५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै दुई गुणा पर्न जाने मासु व्यापारी कृष्ण खड्काले बताउनुभयो । मुस्ताङबाट हिडेको च्याङ्ग्रा व्यापारीहरुले बागलुङ बजारमा ल्याएका छन् । कोरोनाका कारण तिब्बतबाट च्याङ्गा मुस्ताङ नआएपछि मुस्ताङमा मात्रै उत्पादित च्याङ्ग्राले बजारको माग धान्नै धौ परेको छ ।

मुल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्गाको ब्यापार घट्दै गएको बागलुङबाट मुस्ताङ गएर पाँच वर्ष देखि च्याङ्ग्रा ल्याउदै आएका अम्मर बहादुर क्षत्रीले जानकारी दिनुभयो । “यसपाली च्याङ्गा कम छन् गत वर्ष एक सय भन्दा बढी च्याङ्ग्रा ल्याउथे यसपालि मुस्ताङ्मै महङ्गो मुल्य तिरेर जम्मा ७५ च्याङ्ग्रा ल्याएको छु ।” क्षत्रिले भन्नुभयो “भाउ सुन्दै ग्रहाक डराउन थालेपछि चारदिनमा बल्ल १२ वटा च्याङ्गा बेच्न सफल भए, यिनै च्याङ्गा वेच्न पनि मुस्किल होला जस्तो भयो ।” उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानी भेडा, खसी तथा बोका खोज्न थालेका छन् । एउटा च्याङ्ग्रा खरिद गर्ने रकले दुई तिनवटा खसी आउने भएपनि मासुको विकल्प खोज्न थालेका हुन् ।

११ दिनको पैदल यात्राबाट बागलुङमा च्याङ्ग्रा भित्राउनुभएका क्षत्री सहित बागलुङ तित्याङका लक्ष्मण खड्का ७५ र म्याग्दीका पुरन सुवेदीले १५० च्याङ्ग्रा ल्याउनुभएको हो । च्याङ्ग्रा व्यापारी लक्ष्मण खड्काले पोहोरको तुलनामा एउटा च्याङ्ग्राको भाउ झण्डै ६ हजारले बृदि भएपछि च्याङ्ग्राको व्यापार घटेको बताउँनुभयो । अहिले बागलुङ बजारमा एउटा च्याङ्ग्राको मुल्य ३५ हजार भन्दा माथी रहेको छ । प्रतिकिलो च्याङ्ग्राको मासुको मुल्य रु. एक हजार ८०० पर्ने गरेको अर्का च्याङ्ग्रा व्यापारी पुरन सुवेदीले जानकारी दिनुभयो ।

च्याङ्ग्रा कम आयत भएका कारण मुल्य बढेपछि च्याङ्ग्रा बिक्रि गर्न धौ–धौ भएको च्याङ्गा व्यपारी क्षत्रिको भनाई रहेको छ । किसानको गोठबाटै च्याङ्ग्रा ल्याएर बिक्रि गर्दा समेत पहिलाको जस्तो कमाई हुन नसकेको व्यपारीको गुनासो रहेको छ । “कोहि बिरामी परेर मर्छन, कोही हराउने संभावना पनि हुन्छ” व्यापारी लक्ष्मण खड्काले भन्नुभयो “हिडाई र चराई नमिल्दा च्याङ्ग्राको तौल समेत घट्दै जानेभएकाले अहिले व्यापार संगै नाफा समेत घटेको छ ।”

यो वर्ष बागलुङमा जम्मा एक हजार च्याङ्ग्रा भित्रिएको अनुमान रहेको छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केकोे च्याङ्ग्रा चाडपर्वमा खाने चलन रहेको छ । स्वादिष्ट र स्वस्थकर मासुका लागि यो दशैमा ३५ हजारमा च्याङ्ग्रा खरिद गरेको बागलुङ बजारका उपभोक्ता याम बहादुर क्षत्रीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *