जलविद्युतको हव बन्दै ताराखोला, थपिदै चार ठूला आयोजना


–सुवास गौतम, बागलुङ

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भई सकेको छ ।

अहिले ताराखोलामा पुनः ठूला परिणाममा विद्युत उत्पादन गर्ने लक्ष्य सहित चार ठूला आयोजना सञ्चालनको तयारी थालिएको छ । जसमध्ये मध्येताराखोला जलविद्युत आयोजना निर्माण शुरु भइसकेको छ भने अन्य तीन जलविद्युत आयोजना निर्माणको प्रकृयामा रहेका छन् । पछिल्लो समय ताराखोला जलविद्युतको हव बन्दै गइरहेको छ ।

साना लघु जलविद्युतको भरमा रहेको ताराखोलाको अधिकांश भागमा केन्द्रिय विद्युत नपुगेको समयमा ताराखोलामा धमाधम जलविद्युत आयोजना निर्माण भइरहेका छन् । केन्द्रिय प्रशारण लाइनमा जोड्ने गरी मध्यताराखोला जलविद्युत आयोजना २.२ मेगावटको निर्माण कार्य चलिरहेको आयोजनाका मेनेजिङ डाइरेक्टर अनिल खड्काले बताउनुभयो ।

ताराखोला गाउँपालिका–५ करिमेलामा ताराखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएर उत्पादन थालेपछि सोही ठाउँदेखि तल मध्येतारा जलविद्युत आयोजनाको निर्माण शुरु भएको छ ।

गत वर्षको माघ बाट शुरुभएको आयोजनाको निर्माण कोरोनाका कारण बीचमा रोकिएको थियो । अहिले दशै तिहारको बीचमा समेत आयोजनमा २५ जना कामदारले निरन्तर काम गर्दै आएको खड्काको भनाई रहेकको छ । आयोजनाको हाल सम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै खड्काले यही वर्षभित्र उत्पादन दिने गरी आयोजना निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । २०६९ सालमा लाइसेन्स प्राप्त गरेको आयोजाना हाल आएर धमामध काम थालेको हो ।

उक्त आयोजनाले ताराखोला, छेल्लर र नागवेली खोलालाई एउटै ड्याममा मिसाएर उक्त पानीलाई १२६ मिटर तल खसालेर विद्युत उत्पादन गरिनेछ । उक्त आयोजनाको कुल लागत रु. २६ करोड रहेको छ । आयोजनामा प्रभु बैंक सहित अन्य १० जनाले लगानी गरीरहेका छन् ।

“मध्ये ताराखोला जलविद्युत आयोजनाले गती लिएको छ भने ताराखोला हुँदै गलकोट सम्म अन्य ३ आयोजनाको काम समेत अगाडी बढेको छ” खड्काले भन्नुभयो “हामीले एउटै ड्याममा दुई आयोजना जोडेर निर्माण गर्ने गरी अगाडी बढ्दै आएका छौं ।”

स्थानीय प्रायोजनका लागि निर्माण गरिएको ताराखोला जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत खपत नभएपछि केन्द्रिय प्रशारण लाइनमा समेत जोड्न थालिएको छ । अहिले मध्येतारा जलविद्युत आयोजनाको पाइपलाईन निर्माण भइरहेको स्थानीय लगानीकर्ता धन बहादुर बि.कले जानकारी दिनुभयो ।

एउटा जलविद्युत आयोजनामा विद्युत उत्पादन गरी निस्केको पानीलाई सोझै अर्को विद्युत गृहमा हाल्ने (क्यासकेट प्रोजेक्ट) अन्र्तगत चारै आयोजना निर्माण गरिनेछ । आयोजना जोडेर निर्माण गर्दा आयोजनाको शुरुको आयोजनामा मात्रै ड्याम निर्माण गर्नुपर्ने भएकाले लागत घटेर जानेछ । आयोजनामा उत्पादन भएको विद्युत केन्द्रिय प्रशारण लाईन अन्र्तगत हरिचौर सवस्टेशनमा जोडिनेछ ।

मध्येतारा जलविद्युत आयोजनामा विद्युत उत्पादन भएर आएको पानीमा तल्लो ताराखोला जलविद्युत आयोजना ३.५ मेघावट निर्माण गर्नको लागि प्रकृया शुरु भएको छ । यस्तै यही आयोजनाका लगानीकर्ताले मध्ये दरमखोला ‘ए’ जलविद्युत आयोजना र मध्ये दरमखोला जलविद्युत आयोजना ‘बी’ समेत निर्माण गर्नेछ ।

मध्येदरमखोला समेत एउटै ड्यामबाट दुई आयोजना निर्माण हुँनेछन् । जसमध्ये मध्ये दरम ‘ए’ ३ मेघावट र मध्ये दरम ‘बी’ ४.५ मेघावट क्षमताको हुँनेछ । ताराखोलामा जलविद्युत आयोजना निर्माणले गतिलिएपछि स्थानीयहरुको समेत लगानी हुँनेभएकाले आर्थिक समृद्धि हुँने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *