कालिलेकको प्रर्वद्धनमा जुटे बागलुङका तीन स्थानीय तह


आदर्श अनलाइन, बागलुङ

कोरोना कहरका कारण घर र साँघुरो दायराबाट बाहिर नआएका गलकोट, ताराखोला र बिहुँका स्थानीय शुक्रबार पर्यटकीय स्थल कालिलेकमा दिल खोलेर नाँचगान गरे । कोरोना संग डराएर घरमा बसेको महिनौ पछि प्रकृति संग खुलेर रमाउन पाउँदा सर्वसाधारण दंग देखिन्थे । पर्यटकीय क्षेत्र कालिलेकको प्रर्बद्धनका लागि तीन पालिकाको उपस्थितिमा आयोजना गरेको कार्यक्रमको फरक माहोल देखिन्थ्यो ।

गलकोट नगरपालिका, ताराखोला गाउँपालिकाको शिर कालिलेक र काठेखोला गाउँपालिकाको शिर शिवधुरीको प्रर्बद्धन गर्नका लागि शुक्रबार जनप्रतिनिधि सहितको भेलाले यस्तो संयोग जुराएको थियो । भेलाको उद्देश्य कालिलेक सहित आसपासका पर्यटकीय स्थलको पहिचानका साथै पूर्वाधार विकास तथा प्रचार प्रसार गरी पर्यटक भित्राउने थियो ।

गलकोट नगरपालिका–६ भुजुङेको स्टोन भिलेज सामुदायिक घरबासको आयोजना तथा धौलागिरी पर्यटन प्रर्बद्धन समितिको संयोजनमा कालिलेकमा आयोजना गरिएको कार्यक्रममा कालिलेकको प्रर्बद्धनका लागि तीन वटै स्थानीय तहले साझेदारी गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । तीन पालिकाको संगम स्थलका रुपमा रहेको कालिलेक र शिवधुरीलाई साझा पर्यटकीय गन्तव्य बनाउनका लागि कालिलेकमा पैदल मार्ग मार्फत स्थानीयको भेला गरिएको धौलागिरी पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष इञ्जिनियर खिमानन्द कंडेलले जानकारी दिनुभयो । गलकोट नगरपालिका नगर प्रमुख भरत शर्मा गैरे, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति र काठेखोला गाउँपालिकाका जनप्रतिनिधि सहितको भेलाले कालिलेकको प्रर्बद्धनमा संयुक्त रुपमा लाग्ने प्रतिबद्धता जनाएको उहाँको भनाई छ ।

समुन्द्री सतहदेखि दुई हजार ३ सय मिटर अग्लो कालिलेक तीन पालिकाको संयुक्त पर्यटकीय स्थलको रुपमा विकास गरी त्यस आसपास क्षेत्रका शिवधुरी, मोतिमारे लगायतको प्रचार प्रसार गर्नका लागि तीन पालिका एकजुट भएर अघि बढ्न तयार रहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । “तीन पालिका मिलेर कालिलेकलाई उठाउनेछौं, पूर्वाधार निर्माणमा लाग्ने छौं” नगर प्रमुख गैरेले भन्नुभयो “ पश्चिम बागलुङको पर्यटकीय नाकाका रुपमा यसलाई चिनाउनेछौं ।” शिवधुरी हुँदै कालिलेक पश्चिम बागलुङको पयटकीय पदमार्गसंग जोडिएको क्षेत्र समेत हो ।

यातयातका साधनहरु बाहेक पैदलयात्राका लागि यो मार्ग मार्फत गलकोट ताराखोला हुँदै विश्वकै पर्यटकीय गन्तव्य ढोरपाटन शिकार आरक्ष पुग्न सकिने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । यही बाटो ढोरपाटन सम्म पर्यटक पठाउन सक्ने हो भने पर्यटकीय स्थल पञ्चकोट, बिहुँ, कालिलेक, शिवधुरी र घुम्टेको विकास गर्न सकिने घर्तिको भनाई छ ।

कालिलेकबाट घुम्टेको धुरी, शिवधुरी, गाजाको धुरी, झुलेनी, ताराखोला, गलकोट क्षेत्र देख्न सकिन्छ । कालिलेक ताराखोलाको पर्यटकीय गन्तव्यको रुपमा रहेको गाईघाट झरनासँग समेत पदमार्गले जोड्न आवश्यक छ । कालिलेकबाट धौलागिरी, अन्नपूर्ण लगायतका दजनौ हिमलहरु देख्न सकिन्छ ।
कालिलेक तीन स्थानीय तहका तीन नाकाबाट पदमार्ग मार्फत पुग्न सकिन्छ । कालिलेकमा कालीपोखरी, मोतिमारे, कालि बराह क्षेत्र लगायतका धार्मीक तथा पुरातात्वीक महत्व बोकेका स्थल छन् ।

कालिलेकमा काठेखोला गाउँपालिकाको रिजाल चोक, ताराखोलाको माझर्खक र गलकोटको भुजुङेबाट कालिलेक पुग्न सकिन्छ भने कालिलेक पुग्न व्यवस्थित पदमार्ग निर्माण कार्य भइरहेको अध्यक्ष कंडेलले बताउनुभयो । गत वर्ष संघीय सरकारको १० लाख लागतमा रिजालचोक देखि कालिलेक पुग्ने र गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा रिजालचोक छिन्केरीडाँडा, कालिलेक, कायस, चरौदी पदमार्ग निर्माण गरिएको छ । ८ किलोमिटर पदमार्ग २०४७ सालमा गलकोटका समाजसेवी लिल बहादुर बुढाथोकीले निर्माण गर्नुभएको पदमार्ग अहिले पुनः मर्मत कार्य समेत गरिएको छ । कालिलेक वनभोज स्थल, सुर्यास्त अवलोकनका लागि उपर्युक्त स्थल बन्न सक्छ । यस क्षेत्रमा साइकिल ल्याण्डको सम्भावना समेत रहेको कंडेलको भनाई छ ।

एउटा सत्तल रहेको कालिलेकमा खानेपानी र शौचालयको व्यवस्थापन गर्न आवश्यक देखिएको छ । तीन स्थानीय तहले गुरु योजना बनाएर पर्यटकीय क्षेत्रका रुपमा अगाडी बढाइने छ । कालिलेक तथा शिवधुरी हुँदै पदमार्ग मार्फत आएका पर्यटकलाई घरबासमा राख्नका लागि प्रर्बद्धनात्मक कार्यक्रम गर्न थालिएको गलकोट नगरपालिका–६ भुजुङे स्थित स्टोन भिलेज सामुदायिक घरबासका अध्यक्ष कमला श्रीसले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *