तमानखोलामा सहज स्वास्थ्य सेवा

डम्मर बुढा मगर, बागलुङ
जिल्लाकै दुर मानिएको तमानखोला गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ ।
अहिले गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।

पालिकाका ३ स्थानमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र स्थापना, ३ स्थानमा सामुदायिक स्वास्थ्य इकाई र ३ स्थानमा स्वास्थ्य चौकी सञ्चालनमा छन् । साबिकका तमान, बोङ्गादोभान र खुङ्खानी गाबिसमा १/१ वटा स्वास्थ्य चौकी भए पनि नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् ।

ठाउँ–ठाउँमा स्वास्थ्य केन्द्र स्थापना भएपछि उपचारका लागि निकै सहज भएको वडा नम्बर ४ की लालमाया छन्त्यालले बताउनुभयो । उहाँले गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारको लागि पनि पहिले घण्टौँ लगाएर ऋण खोजेरै बुर्तिबाङ पुग्ने गरेको अनुभव सुनाउनुभयो । ‘अहिले त यही नजिकै औषधी पाइन्छ, उपचार पनि हुन्छ, पहिले त धेरै दुःख थियो, दिनभरी लगाएर बुर्तिबाङ गएर पनि उपचार गराउँथ्यौँ,’ उहाँले भन्नुभयो ‘अहिले त समय पनि धेरै नलाग्ने, पैसा पनि धेरै खर्च नहुने, हाम्लाई त ठुलो राहत भएको छ ।’

गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यान समेत गुमाउने गरेको उहाँको भनाई छ । ‘पहिला गाउँमा अस्पताल थिएन, समयमा उपचार नपाउँदा केहीको घरमै ज्यान गयो,कसैको अस्पताल लैजाँदै गदा बाटोमा पनि ज्यान गयो,’ उहाँले भन्नुभयो ‘गाउँ स्वास्थ्य संस्था खुलेपछि कसैले ज्यान गुमाउनु परेको छैन र पहिलेको जस्तो बाटोमै मरेको भन्नु सुनेको पनि छैन ।’

नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । नागरिक बिरामी परे घण्टौ लागेर स्वास्थ्य संस्था पुग्ने बाध्यतालाई केही रुपमा सहज गराउनका लागि सामुदायिक स्वास्थ्य इकाई र प्राथमिक स्वास्थ्य परामर्श केन्द्र स्थापना गरेको उहाँको भनाई छ ।

‘गाउँपालिकाका विभिन्न वडाका नागरिक बिरामी हुँदा घण्टौँ लगाएर स्वास्थ्य संस्था जानु पर्ने अवस्था थियो, त्यो बाध्यतालाई केही भए पनि सहजता प्रदान गर्न प्राथमिक स्वास्थ्य परार्मश केन्द्र र सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका छौँ,’ अध्यक्ष बुढाले भन्नुभयो ‘स्थापना भएपछि स्वास्थ्य संस्थामा बिरामीहरुको राम्रो उपस्थिति भएको पाएका छौँ, यहाँबाट प्रदान हुने सेवालाई थप प्रभावकारी बनाउन प्रयत्न भइराखेको छ ।’

पहिले घण्टौ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिकहरु अहिले एक घण्टामै आउन सक्ने भएको छ । ‘लाम्मेला, पात्ले, नर्जाखानी, भित्रिबन लगायतका ठाउँबाट स्वास्थ्य सेवा लिनका लागि ३/४ घण्टा बढीको समय लगाएर जानु पथ्र्यो, अहिले त्यो कम भएको छ,’ अध्यक्ष बुढाले भन्नुभयो ‘अहिले कम्तिमा १ घण्टा यात्रा गरे भने स्वास्थ्य सेवा लिन सक्नेछन्, हामीले त्यही अनुसार विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका छौँ ।’

गाउँपालिकाले वडा नम्बर ६ वडाको नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको छ । त्यस्तै, वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको छ ।

गाउँपालिका हुनु भन्दा पहिले वडा नम्बर १ बोङ्गादोभान, वडा नम्बर ३ तमान र वडा नम्बर ५ खुङ्खानीमा स्वास्थ्य चौकी थियो । पालिकाले सामुदायिक स्वास्थ्य इकाई र प्राथमिक स्वास्थ्य इकाई स्थापना नगर्दा सम्म तमानखोलाबासीले यी ३ वटा स्वास्थ्य चौकीबाट सेवा लिन बाध्य थिए । थप जटिल किसिमको रोग लागेमा बुर्तिबाङ जानुपर्ने बाध्यता थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *