तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत ११:३७ मा

आदर्श अनलाइन, बागलुङ

तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ ।

यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतम बताउँछन् ।

मंसिर १ गते सोमबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ ।

मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । मंसिर २ गते बिहान ७ बजेर ४ मिनेटसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

मंसिर २ गते बिहान पनि केही समय द्वितीया तिथी रहेकाले नेवार समुदायका केही व्यक्तिहरुले मंगलबार भाइटीका मनाउने भनी निर्णय गरेका छन् । त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

भाइटीका लगाउँदा कुन दिशा फर्किने ?

भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ ।

त्यसैले भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ ।

अहिले चन्द्रमा वृश्चिक राशीमा छन् । वृश्चिक राशीमा रहँदा चन्द्रमा उत्तर दिशामा हुन्छन् । त्यसैले टीका थाप्ने व्यक्ति सके उत्तर, नसके पश्चिम दिशा फर्किएर बस्नुपर्छ भनिएको पञ्चाङ्गकारहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *