कोरोनाले रोकेन तमानखोलामा पढाई

डम्मर बुढा मगर, बागलुङ
तमानखोला गाउँपालिकाका धेरै ठाउँमा कतै पाल टाँगेर त कतै विद्यालयमै शैक्षिक क्रियाकलाप भइरहेको छ । कोरोना भाइरस कोभिड–१९ का कारण चैतदेखि शैक्षिक संस्थाहरु बन्द भएका थिए ।

शैक्षिक संस्था बन्द भएपछि धेरै ठाउँमा बालबालिका पढ्नबाट बञ्चित भएका छन् । गाउँपालिकाले सरकारको वैकल्पिक शिक्षण सहजिकरण निर्देशका अनुसार पठनपाठनलाई अघि बढाएको छ ।
पालिकाले सबै विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरि शिक्षण सिकाईलाई निरन्तरता दिएको हो । धेरै विद्यार्थी हुने विद्यालयमा विहान दिउसो गरि दुई चरणमा पढाई संचालन भएको छ भने थोरै विद्यार्थी भएको स्थानमा एकै चरणका पढाई भइरहेको छ ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले शिक्षक विद्यार्थी सुरक्षित हुने गरि शिक्षण सहजीकरणलाई निरन्तरता दिएको भन्दै उनीहरुलाई पालिकाबाट स्वास्थ्य सामग्री समेत वितरण गरेको बताउनुभयो ।

‘कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शैक्षिक गतिबिधि भइरहेको छ, यसरी पठनपाठन गर्दा केही समस्या त हुन्छ नै तथापी केही सहज बनाउने काम हामीले गरेका छौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘दिवा र बिहान गरि अहिले दुई चरणका पठनपाठन भएको छ ।’

तमानखोला गाउँपालिका वडा नम्बर ६ नर्जाखानीमा रहेको विष्णु आधारभूत विद्यालयको भवन अहिले निर्माणको चरणमा छ । जसले गर्दा गाउँपालिकाले वडा कार्यालयको छेउमा टहरो निर्माण गरेर बालबालिकालाई पढाइ रहेको छ ।

‘गाउँपालिकाको धेरै ठाउँमा यतिबेला भवनहरु बन्ने चरणमा छन् । त्यसले गर्दा हामीले केही विद्यालयका विद्यार्थीलाई भवन मै र केही ठाउँका विद्यार्थीलाई टहरो बनारएरै भए पनि शिक्षण क्रियाकलाप गराइ राखेका छौँ,’ उहाँले भन्नुभयो ‘बालबालिकाहरुलाई पढाई प्रति थप प्ररित गर्नको लागि यसरी भए पनि पठनपाठन गराइएको छ, पठनपाठन रोकियो भने उनीहरुमा पढाइप्रतिको चासो हराउने हुँदा उनीहरुको पढाईप्रतिको रुचि र प्रेरित गर्नका लागि हामी यो काम गरि राखेका छौँ ।’

कोरोनाको कारण लामो समय पठनपाठनमा रोकिएको र अहिले सामान्य रुपमा भए पनि पढाई संचालन हुँदा विद्यार्थीहरु खुसी भएका छन् । विष्णु आधारभूत विद्यालयमा अध्ययनरत छात्रा शान्ता छन्त्यालले पहिलेको जस्तो प्रभावकारी पढाइ नभए पनि केही मात्रामा सिकाई भएको बताउनुभयो ।

‘पहिलेको जस्तो साथीहरुसँग घुलमिल गरेर पढ्न सक्ने अवस्था छैन, कतैबाट कोरोना लाग्छ कि भन्ने डर पनि हुन्छ,’ छात्रा छन्त्यालले भनिन् ‘तर पनि माक्स स्यानीटाइजरको प्रयोग, सामाजिक दूरी कायम गरेर पढने गरेका छौँ, पढाइ नहुन भन्दा यसरी भए पनि पढाइ हुँदा खुसी लागेको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *