ताराखोलामा पाँच शैयाको कोरोना अस्पताल सञ्चालन


आदर्श अनलाइन, बागलुङ

जिल्लाको ताराखोला गाउँपालिकामा पाँच शैयाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसंगै गाउँपालिकामा पहिलोपटक डाक्टर पुगेका छन् ।

नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीति अनुसार बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा पाँच शैयाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न गरेको बहुउद्देश्यीय सभाहलमा पाँच शैयाको अस्थायी कोरोना अस्पताल सञ्चालन गरी सेवा प्रदान गर्न थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिनुभयो ।

सरकारले पाँच शैयाको कोरोना अस्पताल निर्माण गर्न पठाएको १० लाख बजेटबाट बेड सेट, आवश्यक उपकरण खरिद गरी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक उदित थापाले जानकारी दिनुभयो । “अस्पताल तयारी अवस्थामा छ, गाउँपालिकामा जम्मा एक जना मात्रै सक्रिय संक्रमित भएकाले गाउँपालिकाको आइसोलेसनमा हुनुहुन्छ” अस्पतालले कोरोनाको लक्षण देखिएका बिरामीको मात्रै उपचार गर्नेछ ।” थापाका अनुसार अस्पताल स्थापना संगै पहिलोपटक डाक्टरद्वारा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ । अस्पतालमा आलै मात्रै मेडिकल अधिकृत सुवास लामिछाने नियुक्ति भएर सेवा दिन गाउँपालिका आउनुभएको छ ।

ताराखोला गाउँपालिका–२ चरिक स्थित हालै निर्माण गरिएको बहुउद्देश्यीय सभाहललाई अस्पतालमा रुपान्तरण गरिएको हो । गाउँपालिकामा सरकारले ‘एक गाउँपालिका–एक अस्पताल’ निर्माण गर्ने लक्ष्य अनुरुप सोही स्थान नजिकै अस्पताल समेत निर्माणका लागि भवन निर्माण गर्न थालिएको छ ।
पालिका अस्पताल बनाउन नेपाल सरकारले ७० लाख बजेट विनियोजन गरी पठाइ सकेको छ । अस्पताल निर्माणका लागि आवश्यक ७ रोपनी जग्गा व्यवस्थापन भइसकेर निर्माणको चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । अस्थायी कोरोना अस्पतालमा संक्रमितको रेखदेख, खानपान, सामान्य उपचार र संक्रमितको लक्षणको उपचार गरिने स्वास्थ्य संयोजक थापाको भनाई छ । कोरोना संक्रमित भई ज्वरो, खोकी, रुघा लगायतका लक्षण देखिएमा अस्पतालमा भर्ना गरी उपचार गरिनेछ ।

संक्रमितलाई आइसियू र भेन्टिलेटर आवश्यक पर्ने भएमा भने गाउँपालिकाले धौलागिरी अस्पताल बागलुङमा रिफर गर्नेछ । गाउँपालिकामा हाल सम्म संक्रमितको संख्या २० पुगेको छ भने सक्रिय सक्रतिको संख्या भने एक जना मात्रै रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अस्थायी कोरोना अस्पतालमा हाल नेपाल सरकारले तोकेको एक जना मेडिकल अधिकृत, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी नियुक्ति भएर हाजिर भइसकेका छन् ।

कोरोनाका कारण गाउँपालिकामा पहिलो पटक डाक्टर आउँदा अन्य स्वास्थ्य समस्या समेत समाधानमा सहयोग पुग्नेछ । कोरोना अस्पतालमा आइसियू र भेन्टिलेटर बाहेक अन्य सबै सेवा प्रदान गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *