मंसिर ३० मा पत्रकार महासंघ बागलुङको साधारणसभासंगै भवन उद्घाटन हुने

आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङको साधारणसभा मंसिर ३० गते बागलुङ बजारमा हुने भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको शुक्रबारको बैठकले आगामी मंसिर ३० गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

मंसिर ३० मा महासंघको साधारण सभासंगै भवनको उद्घाटन समेत गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले बताउनुभयो ।

‘कोरोना महामारीका कारण हाम्रो साधारणसभा हुन सकेको थिएन, त्यसलाई मंसिर ३० मा गर्ने भन्ने निर्णय भएको छ,’ सचिव थापा भन्नुभयो ,‘त्यही मौका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट हाम्रो कार्यालय भवनको समेत उद्घाटन गर्ने निर्णय भएको छ ।’

पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा भएको बैठकले मंसिर तेस्रो साता भर्चुअल माध्यमबाट विभीन्न विषयगत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

‘कोरोनाको समस्या अझै पनि जटिल नै देखिन्छ, त्यसैले गर्दा जिल्लाभरका पत्रकार साथीहरुलाई जम्मा गरेर तालिम गर्ने अवस्था छैन,’ उहाँले भन्नुभयोे, ‘यसलाई ध्यानमा राखेर भर्चुअल माध्यमबाट तालिम सञ्चालन गर्ने कुरा भएको छ । विषयगत रुपमा डिजिटल पत्रकारिता, खोज पत्रकारिता, आर्थिक पत्रकारिता तथा स्वास्थ्य पत्रकारिता लगायतका तालिम सञ्चालन गरिनेछ ।’

बैठकले पत्रकार महासंघको अहिलेसम्मको कार्यकाल र अवधिका गतिविधिहरुको समीक्षा गरेको छ । बैठले पत्रकारितामा धौलागिरि नामक पुस्तक समेत प्रकाशित गर्ने निर्णय गरेको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बताउनुभयो ।

‘अहिलेसम्मका गतिविधि,भवन निर्माणमा सहयोग गर्नेहरुको नामावली तथा धौलागिरिको पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको विषय समेटेर पुस्तक प्रकाशित गर्दैछौं,’ अध्यक्ष शिरीषले भन्ुभयो,‘यो केवल एउटा पुस्तक मात्र नभएर दस्तावेज र यहाँको पत्रकारिताको इतिहास समेत हुनेछ ।’

पत्रकार महासंघको यस पटक साधारण सभा मात्रै हुनेछ । अधिवेशनको वर्ष भए पनि आगामी फागुनमा मात्रै अधिवेसन र चुनावी कार्यक्रम हुने शिरीषले बताउनुभयो ।

‘पत्रकार महासंघले विधान संशोधन गरेर केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व छनोटका लागि जिल्लाबाट एकै साथ सबै साधारण सदस्यले मतदान गर्न पाउने गरी व्यवस्था गरेपछि अघिल्लो वर्ष फागुनमा हुनुपर्ने अधिवेसन लम्बिएको हो,’ उहाँले भन्नुभयो,‘त्यसपछि कोरोनाले गर्दा सरेर यहाँसम्म आईपुग्यो । अहिले साधारणसभा मात्रै हुनेछ । अधिवेशनको कार्यक्रम फागुनमा हुनेछ ।’ पत्रकार महासंघ बागलुङले लामो संघर्षपछि आफ्नै भवन निर्माण गर्न सफल भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *