कृषि कार्यालयबाटै ठगिए किसान, अनुदानको नाममा ऋणको भारी

आदर्श अनलाइन, बागलुङ

असली किसानलाई नेपालमा अनुदान पाउनै मुस्किल छ । कथम्कदाचित अनुदान पाए पनि किसानमा प्रक्रियागत र प्राविधिक ज्ञान नहुँदा वा अन्य समस्याका कारण किसानले अनुदानको रकम ल्याउनै मुस्किल पर्ने गरेको छ । अनुदान पाए पनि सोझासाझा कृषकले कागजात मिलाउन नसक्दा कृषि कार्यालयबाटै ठगिएको किसानहरु गुनासो गर्छन्् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुन्तला जोन म्याग्दी अन्र्तगत बागलुङका तीन जना सुन्तला कृषकले ग्रीन हाउस बनाउन गत आर्थिक वर्षमा १२ लाखका दरले अनुदान पाउने सूचिमा थिए । तर, काम गरे पनि रकम नपाएको किसानहरुको गुनासो छ । सुन्तला जोन अन्र्तगत ५० प्रतिशत किसान र ५० प्रतिशत सुन्तला जोनको लगानीमा सुन्तलाका बिरुवा उत्पादन गर्ने नेट हाउस निर्माण गर्नका लागि अनुदान स्वीकृति पाएका बागलुङका तीन कृषकले भुक्तानीमा कार्यालयले ठगेको बताएका छन् ।

१२ लाखमा ५० प्रतिशत आफ्नो र ५० प्रतिशत सुन्तला जोनको लगानीमा सम्झौता अनुसार आफूले दुई वटा आधुनिक नेट हाउस निर्माण गरे पनि जम्मा तीन लाख ८१ हजार पाएको काठेखोला गाउँपालिका–६ का किसान थानेश्वर कंडेलले जानकारी दिनुभयो । “१२ लाखको काममा राज्यले जम्मा ६ लाख बेहोर्छ, त्यसमाथि भुक्तानीमा बिभिन्न बाहना गरेर पैसा घटाउदा ऋणमा डुब्न थालियो” कंडेलले भन्नुभयो “गत आर्थिक वर्ष जेठको २५ गते सम्झौता गर्ने कार्यालयले असार १५ मै खाता बन्द गर्दा हामीजस्ता कृषक मारमा परेका छौं ।” कामै नगरी अनुदान खाएको सुने पनि कंडेलले सम्झौता अनुसार टनेल निर्माण गर्दा रकम कटौती भएको बताउनुभयो । कंडेलका दुई नेट हाउसमा अहिले १२ हजार सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् ।

‘हामीले भनसुन गर्न सकिएन, किसान मान्छे काममा व्यस्त भइयो, जेठमा सम्झौता भएको कार्यक्रम असार २५ मा सम्पन्न गर्दा समेत भुक्तानी घटेर आउदा अनुदानको नामै नलिने गरी अघाइएको छ’, कृषक कंडेल भन्नुहुन्छ । सिगानाका किसान हरिबहादुर क्षत्रीले १२ लाखको योजनामा जम्मा एक लाख ६० हजार मात्रै भुक्तानी पाउनुभयो । “कोरोनाले जताततै ठप्प थियो, यस्तो अवस्थामा नेट हाउसका सामग्री माग गर्दा केही समय लागेको थियो” क्षत्रीले भन्नुभयो “असार मसान्त भित्रै काम सक्ने गरी सामग्री घरमा आइसकेको थियो, तर उहाँहरुले काम नगरेको भन्दै रकम कटौती गर्नुभयो ।”

उहाँले सम्झौतामा दुई वटा नेट हाउस भए पनि अनुदान कटौती भए पछि एक मात्रै नेट हाउस बनाउनुभएको छ । एउटा नयाँ र अर्को मर्मत सम्भार गरी दुई वटा नेट हाउस ८ लाखमा निर्माण गरेको भए पनि अनुदान जम्मा एक लाख ६० हजार पाउँदा ऋणमा डुबेको उहाँको भनाई छ । जेठ २५ मा सम्झौता गर्न बोलाउने कार्यालयले असारको १५ गतेनै सम्पन्न खोज्यो तर लकडाउनका कारण हामीले असार २५ सम्म काम गरेर सम्झौता सम्पन्न गरे पनि प्राविधिकले काम नभएको भन्दै पैसा थोरै दियो । अनुदानमा नाममा आँफु ठगिदा किसानलाई ऋणको भारी बोकाएको छ ।

सुन्तलाका बिरुवामा आत्मनिर्भर गराउने भन्दै नेट हाउस निर्माण गर्ने सुन्तला जोनको लक्ष्य भए पनि प्राविधिकको त्रुटी र कार्यालयको गैरजिम्मेवारीका कारण आफु जस्ता कृषक ठगिएको क्षत्रीको गुनासो छ । क्षत्रीले बनाएको नेट हाउसमा अहिले सुन्तलाका बिरुवा उत्पादन भइरहेको छ ।

यस्तै चार वर्ष अघि जिल्ला कृषि विकास कार्यालयबाट २१ लाखको अनुदान कार्यक्रम पाएर तीन वटा नेट हाउस बनाएका बागलुङ नगरपालिका–१० भकुण्डेका कृषक समूहले जम्मा पाँच लाख पाउनुभयो । अन्य टनेल बनाउँदाको ऋण समूहको थाप्लोमा रहेको दह कृषि कृषक समूहका उपाध्यक्ष सुशिल थापाले गुनासो गनुृभयो । “कृषकलाई कृषि कार्यालयले अनुदानको नाममा ठग्दै आएको छ” थापाले भन्नुभयो “पहिला कृषि कार्यालयले अनुदानमा ठग्यो, अहिले सुन्तला जोनले अनुदानका नाममा ठग्यो, ६ लाख अनुदानमा जम्मा १३ हजार दियो, समूहले फर्काइदियौं ।”

नेट हाउस निर्माणमा प्राविधिकले कमजोरी गरेका कारण केही समस्या भएको प्रधानमन्त्री आधुनिकिकरण परियोजना सुन्तला इकाई सुन्तला जोन म्याग्दीका प्रमुख सुधिर थापाले बताउनुभयो । “प्राविधिक र कृषकले समयमै सामग्री ल्याउन नसकेको यथार्थ हो, सुन्तला जोन सञ्चालक समितिले पनि अनुगमन नगर्दा समस्या भयो” थापाले भन्नुभयो “गत वर्षको योजना हो, अहिले प्राविधिक सरुवा भएर गइसके, कोरोनाका कारण हामीले असार १५ सम्म काम सक्ने भनेका थियौं, त्यतिबेला सम्म गरेको कामको मुल्याङ्कनका आधारमा मात्रै भुक्तानी दिएको हो ।”

सञ्चालक समितिलाई सबै अधिकार दिदाँ अनुदान वितरमा समस्या भएका कारण यस वर्षदेखि सञ्चालक समितिको अधिकार घटाएको थापाको भनाई छ । दुवै पक्षको त्रुटी हुन सक्ने भन्दै थापाले गत आर्थिक वर्षको कुरा अहिले पुरा गर्न सम्भव नभएको जिकिर गर्नुभयो । अब सञ्चालक समितिले सिफारिस मात्रै गर्ने र हामीले अनुगमन पछि मात्रै भुक्तानी दिने गरी माथिको सर्कुलर आएको थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *