बागलुङमा सफल हुँदै चिया खेती

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा चिया खेती सफल र विस्तार हुँदै गएको छ । जिल्लाका बिभिन्न स्थानमा परीक्षणका लागि लगाइएको चिया खेती राम्रो भए पछि स्थानीय उत्साहित बनेका छन् ।

मुख्यमन्त्री बातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालित काठेखोला गाउँपालिका–७ रेश, वडा नम्बर ३ धम्जा, बागलुङ नगरपालिका–८ सिगाना लगायतका क्षेत्रमा चियाखेती सफल हुने देखिएको छ । दुई वर्ष अघि रेशको तिङरिङमा लगाइएको चिया अबको दुई वर्ष भित्र उत्पादन दिने गरी फस्टाएको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

रेशमा अहिले झण्डै एक सय रोपनी क्षेत्रफलमा चिया खेती गरिएको छ । सामुदायिक वन, विद्यालयको जग्गा र सार्वजनिक स्थानमा चिया खेती विस्तार गरिएको अध्यक्ष लामिछाने बताउँनहुन्छ ।

अहिले रेश र सिगानाका किसानहरुले खेर गएको बाँझो जग्गा चिया खेतीका लागि धमाधम फडानी समेत गर्न थालेका छन् । तीन वर्ष अगाडी सिगानाको बौडेचौर क्षेत्रमा लगाएको १५ हजार बिरुवा मध्ये झण्डै १२ हजार बिरुवा उत्पादन दिने गरी बढिरहेको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

“हाम्रोमा केही व्यक्तिगत र केही सार्वजनिक जग्गामा चिया खेती लगाइएको छ, सुरुमा १० हजार बिरुवा लगाइएकोमा चार हजार थपियो” जिसीले भन्नुभयो,“सम्भाव्यता अध्ययनका क्रममा चिया खेतीको सम्भावना प्रवल देखिए पछि गरिएको प्रयास सफलता उन्मुख छ ।” कोरोनाका कारण यस वर्षको योजना प्रभावित भए पनि आगामी वर्ष ५० हजार भन्दा बढी चियाका बिरुवा लगाउने योजना नगरपालिकाको छ ।

नमूना कृषि गाउँ भित्र विद्यालयको जग्गा पर्ने भएकाले २७ रोपनी जग्गामा चिया खेती विस्तार गरिरहेको जनकल्याण आधारभूत विद्यालयका प्रधानध्यापक थम्मनबहादुर जिसीले जानकारी दिनुभयो । २७ रोपनी जग्गा मध्ये १०/१२ रोपनी जग्गामा चिया खेती लगाइसकेको र अन्य जग्गा चिया खेती विस्तारका लागि तयारी भइरहेको जिसीको भनाई छ ।

“पाँच वर्षमा हुने चिया चार वर्ष भित्रै तयारी हुने अवस्था देखियो” जिसीले भन्नुभयो “अब व्यावहारिक रुपमै चिया खेती सफल हुने देखियो, यसलाई विद्यालयको आम्दानीको स्रोतका रुपमा ल्याउने गरी काम थालेका हौं ।” रेशको बौर, तिङरिङ लगायतका क्षेत्रमा चिया खेती विस्तार भइरहेको छ ।

चिया खेती विस्तारका लागि सिगानामा नगरपालिका र रेशमा गण्डकी प्रदेश सरकारले सहयोग गरिहेको छ । दुई वर्ष भित्रै चियानै उत्पादन गर्ने गरी चिया खेती विस्तार थालिरहेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

“अब चिया खेती सफल हुनेछ, अन्य स्थानीय किसानहरुले समेत व्यक्तिगत जमिनमा लगाउन थालेका छन्” अध्यक्ष लामिछानेले भन्नुभयो,“सुरुमा लगानी र मेहेनत खेर जाला भन्ने अवस्था थियो तर चिया हुर्केको देख्दा सफल भइयो भन्ने लागेको छ,रेश सिगाना मिलेर सानो सानो चिया उद्योगनै चलाउन सकिने सम्भावना छ ।”

चिया उद्योग स्थापनाका लागि चियाका बिरुवा थप्दै जानुपर्ने भएकाले अभियानलाई निरन्तरता दिन बिरुवामा अनुदानको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सिगानाका कृषक खिमबहादुर खड्काले बताउनुभयो ।

चार वर्ष अघिसम्म क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा बाहेक साविक पश्चिमाञ्चल विकास क्षेत्रमा व्यावसायिक चिया खेतीको अभ्यास निकै कम थियो । बागलुङ जिल्लामा तीन वर्ष अघिदेखि व्यावसायिक रुपमा चिया खेती गर्न थालिएको हो ।

पूर्व ऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा लगायतको अगुवाइमा साविकको अमरभूमि गाविसको सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीमार्फत व्यावसायिक चिया खेती गरिएको थियो । चिया खेतीका लागि उच्च पहाडी र भिरालो जमिन उपर्युक्त हुने भएका कारण पहाडी क्षेत्रमा चिया खेतीतर्फको आर्कषण बढ्न लागेको छ ।सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीको प्राविधिक सहयोगमा बागलुङमा अन्य स्थानमा चिया खेतीको उभार आउन थालेको हो ।

बागलुङ जिल्लाको समग्र क्षेत्रमा उत्पादन भएको चिया खेतीका आधारमा एउटा चिया प्रशोधन केन्द्र स्थापना गर्न सके यहाँका किसानलाई अझै फाइदा पुग्ने सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीका सञ्चालक रामजीप्रसाद शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *