पश्चिम बागलुङकै सबैभन्दा लामो झोलुङ्गे पुल, जसले फेरियो खुंखानीबासीको दैनिकी

डम्मर बुढा मगर, बागलुङ
समयक्रमसँगै जिल्लाको पश्चिम क्षेत्रका नागरिकको सकस र सास्ती हट्दै जान थालेको छ ।
तमानखोला गाउँपालिका वडा नम्बर ५ खुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुङ्गे पुल बने पछि वर्षौदेखि स्थानीयले झेल्नुपरेको सास्ती अन्त्य भएको छ ।

पुल निर्माण सँगै खुङ्खानी र थास्पुरीका स्थानीयबासिन्दालाई आवत जावत सँगै वडा नम्बर ६ को नर्जाखानी, भित्रिवन र पात्लेबाट पढ्न आउने विद्यार्थीलाई समेत सहज भएको छ ।

‘निकै समस्या थियो, वल्लो गाउँदेखि पल्लो गाउँ जान डेढ दुई घण्टा लाग्थ्यो, अहिले धेरै सुविस्ता भएको छ, पुल बनेपछि केटाकेटीलाई स्कुल जान आउन सजिलो भएको छ,’ तमानखोला गाउँपालिका वडा नम्बर ५ का मनकुमार सिर्पालीले भन्नुभो ।

वर्षौदेखि खुङ्खानीदेखि ठूला बिसौना वारपार गर्न घण्टौँ लाग्ने गरेकोमा अहिले पाँच मिनेटमै गाउँ आवतजावत गर्न सकिने उहाँको भनाई छ ।

आफ्नो बारीहरु खोलापारी र घर वारी पट्टि हुँदा बारीमा काम गर्न जाँदा पनि धेरै समय लागउनु पर्ने बाध्यता पुल निर्माण भए पछि टरेको उहाँले बताउनुभयो । ‘पारीको गाउँमा पुग्न तल खोलमा बनेको पुल तर्नु पथ्र्यो, अहिले त यति लामो र अग्लो पुल बन्यो, वारीपारी गर्न निकै सजिलो भएको छ,’ सर्पालीले हर्षित मुद्रामा भन्नुभयो,‘धेरै खुसी लागेको छ, मैले त यस्तो पुल बन्दा सजिलै वारिपारी गरौँला भन्ने साँेचेकै थिएन ।’

उक्त पुल गत वर्षदेखि निर्माण सुरु गरिएको थियो । गत वर्षदेखि सुरु भएको पुल असोज महिनादेखि संचालनमा आएको स्थानीयको भनाई छ । बागलुङ बजार आसपासका क्षेत्रमा लामा र अग्ला पुल धेरै भए पनि यो पुल पश्चिम बागलुङकै सबैभन्दा लामो र अग्लो भएको स्थानीय दाबी गर्छन् । जसको लम्बाई ३ सय ३३ मिटर छ ।

वडा नम्बर ५ कै ज्ञानेन्द्र सुञ्चौरी पनि यो पुल बने पछि धेरै खुसी हुनुहुन्छ । उहाँ थास्पुरी गाउँबाट पढ्नको लागि खुङ्खानी स्थित शान्ति माध्यमिक विद्यालयमा जाने गर्नुुहुन्छ । पहिले विद्यालय पुग्न करिब २ घण्टा लाग्थ्यो भने अहिले आधा घण्टामै पुग्न सकिने उहाँको भनाई छ ।

‘पुल बनेपछि त धेरै सहज भएको छ, यो पुल नबन्दा खोला नजिकै पुग्नु पथ्र्यो, त्यहाँ पुग्नै आधा घण्टा लाग्थ्यो, माथि उक्लिन आधा–आधा घण्टा लाग्थ्यो,’ उहाँले भन्नुभयोे ‘अहिले त ५ मिनेटमै पारी गाउँमा पुग्न सकिन्छ ।’

पुल नबन्दा आँफुहरु विहान ८ नबज्दै विद्यालय हिँड्ने गरेको अनुभव सुनाउँँदै सुन्चौरीले अहिले ९ बजेपछि हिँडे पनि समयमै विद्यालय पुग्न सकिने बताउनुभयो । स्थानीय वडा सदस्य लिलाकुमार छन्त्यालले पुलले खुङ्खानीबासीको मुखार फेरिएको बताउनुभयो ।

छन्त्यालले पुल नबन्दा यहाँका जनताले निकै सास्ती भोग्दै आएको भन्दै पुलले उनीहरुको दैनिकी समेत बदलिएको बताउनुभयो ।

‘यो पुलले यहाँका जनताको दैनिकी बदलिएको छ, बिहानै उठेर घण्टौ समय लगाएर पारी काम गर्न जाने स्थानीय अहिले ५ मिनेटमै वारपार गरेर बारीमा काम गर्छन्,’ उहाँले भन्नुभयो ‘यहाँका धेरैजसो स्थानीयको गोठ जग्गा पारी छ, जसले गर्दा पनि उनीहरुलाई धेरै मद्दत पुगेको छ ।’

पुलले खुङ्खानीका स्थानीयलाई जंगलबाट घाँस दाउरा ल्याउन समेत सहज भएको भन्दै वारपार गर्न असहज हुँदा बाँझो बनेका बारीहरुमा पुलले सहज गराएपछि खेतीपाती गर्न थालिएको बताउनुभयो ।

बुल बनेपछि नर्जाखानी, भित्रीबन, खुङ्खानी, थास्पुरी लगायतका स्थानका करिब ३ सय घरधुरीका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पुलका कारण स्थानीयले वर्षौदेखि धेरै सास्ती खेप्दै आएकाले पुल निर्माण गरिएको बताउनुभयो ।

‘खुङ्खानीका स्थानीयहरु अधिकांशको खोलापारी गोठ, जमिनहरु छ, उनीहरुलाई त्यहाँबाट सामानहरु ल्याउन र पु¥याउन निकै कठिनाई थियो, पुल बनेपछि उनीहरुको दैनिकीमा धेरै सहजता र परिवर्तन आएको छ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो,‘आजभोली सहजै गोठमा जान सक्छन् भने सामान ओसार–पसार गर्न पनि ठूलो टेवा पुगेको छ ।’

दिवंगत सांसद ज्ञानकुमारी छन्त्यालको पहलमा सस्पेन्सन बृज केन्द्रीय कार्यालय पुलचोक काठमाण्डौँले पुल निर्माण गरेको हो । जसको निर्माण जिम्मा थानी÷बीएटी जेबी कम्पनीले जिम्मा लिएको थियो ।

पश्चिम बागलुङमै सबैभन्दा लामो र अग्लो पुल यही भएको अध्यक्ष बुढाको पनि दाबी छ । यो पुल आन्तरिक तथा बाह्य पाहुनाहरुका लागि पनि आकर्षण भएको उहाँले बताउनुभयो । केही समय अगाडी मात्रै निर्माण सम्पन्न पुल हेर्न र घुम्न आउने संख्या बढेको छ ।

‘यो पुल यहाँका स्थानीय वारपार गर्नका साथै पर्यटकीय हिसाबले पनि हामीले महत्वका रुपमा लिएका छौँ, अब यसको प्रचार प्रसारलाई अझ बढाउछौं,’ अध्यक्ष बुढा मगरले भन्नुभो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *