बागलुङ नगर अस्पताल विवाद अब कहाँ बन्ला ?

डम्मर बुढा मगर, बागलुङ
बागलुङ नगरपालिकामा निर्माण हुने भनिएको नगर अस्पताल स्थान विवादको आन्तरिक किचलोमा परेको छ ।

सरकारको ३ सय ९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास गर्ने अभियान अन्तरगत बागलुङ नगरमा पनि अस्पताल निर्माणका लागि छनोट सूचिमा परेको थियो ।
नगरपालिकाको दुई वटा वडा बीच अस्पताल बन्ने विषयलाई लिएर तिव्र विवाद हुँदा सोमबार

शिलान्यास हुन नसकेको हो । बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुपाटा र वडा नम्बर ७ मुलपानी मध्ये कुन वडामा अस्पताल बनाउने भन्नेमा नगरपालिका अझै अन्योलमा छ ।

वडा नम्बर १३ का अध्यक्ष नारायण शर्मा पौडेलले जुनकुनै हालतमा नगर अस्पताल पैयुँपाटामा बन्नुपर्ने बताउनु भयो । वडा नम्बर १३ मा अस्पताल बन्नको लागि साढे तीन वर्ष अगाडीदेखि नै तयारी गरिए पनि अहिले आएर विवाद निकालिएको उहाँको भनाई छ ।

‘पैयुँपाटामा अस्पताल बनाउने भनेर अहिले गरिएको निर्णय होइन, तीन वर्ष अगाडी नै तयारी गरिएको हो,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘नगर अस्पताल वडा नम्बर १३ मा बन्नुको विकल्प छैन, कुनै पनि हालतमा पैँयुपाटामा अस्पताल बन्नुपर्छ ।’

अस्पताल निर्माणका लागि केही वर्ष पहिलेदेखि नै जग्गा पनि व्यवस्थापन गर्दै आएको र अहिले जग्गा समेत सम्याइ सकिएको छ । पैयुपाटामा नगर अस्पताल बन्नका लागि नगर परिषद्बाटै निर्णय भईसकेको उहाँको दाबी छ ।

‘यहाँ अस्पताल बन्नका लागि गत असारको सातौँ नगर परिषद्बाट पनि निर्णय भइसकेको छ, अस्पताल निर्माणका लागि सबै कागजी प्रक्रिया टुंगिसकेको छ, सबै ठाउँमा पुगेर हामीले नीति नियम अनुसार काम गरेका हौँ र अब काम सुरु हुन्छ भन्नेमा हामी थियौँ तर बीचमा यस्तो किचलो भैदियो ।’

बागलुङ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष खगराज पाण्डेले पैयुपाटा र मुलपानीमा दुवै वडामा अस्पताल बनाउने विषयमा विवाद भएको र यसलाई सल्टाउनको लागि केन्द्रमा गएको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले केही समय अगाडी मुलपानी स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्नको लागि १ करोड ४४ लाख रुपैयाँ बजेट छुट्याएको तर वडा नम्बर १३ बाट पैयुँपाटामा हुनु पर्ने भन्दै केन्द्रमा गएर सच्याएको उहाँको भनाई छ । मन्त्रालयबाट विनियोजन भएको रकमले मुलपानी स्वास्थ्यचौकी स्तरोन्नति गर्न आएको छ ।

‘स्वास्थ्य मन्त्रालयले मुलपानी स्वास्थ्य चौकीको स्तरोन्नती गर्नका लागि अख्तियारी दिएको छ । तर, अरु साथीहरुले यसलाई विवाद सिर्जना गर्नुभयो,’ अध्यक्ष पाण्डेले भन्नुभयो ‘स्वास्थ्य चौकी स्तरोन्नती गर्नको लागि आएको पत्रलाई वडा नम्बर १३ का साथीहरुले आफ्नो ठाउँमा हुनु पर्ने भन्दै मन्त्रालयमा डेलिकेसन जानु भएछ, त्यसपछि कुनै ठाउँमा हुन सकेन त्यही भएर विवाद सल्टाउन बुधवार मन्त्रालयमा जाने तयारीमा छौँ ।’

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले वडा नम्बर १३ मा नगरस्तरीय अस्पताल बनाउनको लागि निर्णय भइसकेको भन्दै मुलपानीमा पनि स्वास्थ्यचौकी स्तरोन्नती गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

‘पैयुपाटामा नगर अस्पताल बनाउने कुरा थियो,बजेटको अख्तियारी आउँदा मुलपानी भनेर आयो,’ नगर प्रमुख पौडेलले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयले सच्चाएर पठाए पछि काम अगाडी बढ्छ ।’

अब दुवै ठाउँमा अस्पताल बनाउने गरी पहल गर्ने उहाँको भनाई छ । मेयर पौडेलले विवाद सल्टाउनका लागि दुवै पक्षलाई लिएर मन्त्रालयमा डेलिकेसन जाने बताउनुभयो ।

‘दुवै स्थानमा अस्पतालको आवश्यकता छ, उहाँहरुबीच छलफल गरेर दुबै स्थानको आवश्यकतालाई मध्यनजर गर्दै विवाद सल्ट हुनेछ,’ मेयर पौडेलले भन्नुभयो ‘यसका लागि दुवै स्थानका अध्यक्षसँग मन्त्रालयमा पुगेर समाधान हुनेछ ।’

अर्थमन्त्रालयले १० पालिका मध्ये ६ पालिकामा अस्पताल शिलान्यस गर्नेगरी बजेट पठाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *