सिर्जना पन्त, बागलुङ
बागलुङको तमानखोला गाउँपालिका–२ कि माया सिर्पाली १६ वर्षको उमेरमा आमा बन्नुभयो । मायाको पेटमा स्थानीय मदन सिर्पालीको गर्भ रहेको थाहा पाएपछि गाउँलेले मायालाई मदनको जिम्मा लगाइदिए । घरमा कोही नभएको मौका छोपी मदनले मायालाई विवाह गर्ने प्रलोभनमा सम्बन्ध राखेका थिए । मदनको श्रीमती बनेर घर भित्रिए पनि मदनका परिवारले मायालाई बुहारी स्वीकार गरेनन् । मदनको घरमै छोरी जन्माएकी माया सुत्केरी भएको १७ दिनमा बच्चा बोकेर माइत फर्किइन बिबश हुनुभयो । मदनले त्यो बेला घरपरिवारले जस्तो व्यवहार गरे पनि आफु आफ्नो खुट्टामा उभिए पछि माया र छोरीलाई लिन आउने बचन दिएकाले मायामा अझै आशा बाँकी थियो । तर, पछिल्लो समय मदनले पूर्ण रुपमा बेवास्ता गरे पछि माया घर न घाटको अवस्थामा हुनुहुन्छ । तमानखोला गाउँपालिकाको खुङ्खानी, स्याउला, बुङ्खानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा २० वर्ष पुगेका अविवाहित युवती भेटाउनै मुस्किल पर्छ ।
१७ वर्षको उमेरमा विवाह गरेकी काठेखोला गाउँपालिका–७ रेशकी गीता जिसीको पीडा पनि कम छैन । विवाह गरेको १ वर्षमै छोरी जन्माएकी जिसी २७ वर्षको उमेरमा एकल हुनुभयो । जन्मिएकी छोरी शारीरिक रुपमा अपाङ्गता भएपछि गीताको जीवनमा पहाड भन्दा ठुला दुःख थपिए । अपाङ्गता भएकी छोरीलाई ठीक बनाउन गीता र उहाँका श्रीमानले ८ वर्ष भारतमा विताउनुभयो । छोरीलाई ठिक नहुने निधो भएपछि ७ वर्ष पहिले गीता परिवार सहित घर फर्कनुभएको छ । घर फर्किएको केही समयमै गीताको श्रीमानको निधन भयो । वर्षाै सम्म छोडेको घर र अपाङ्गता भएकी छोरीको स्याहार गर्दै दुःखजिलो जीवन बाँचिरहेको गीताको नमिठो अनुभव छ ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क हेर्दा बागलुङमा बालिका आमाको संख्या ठुलो छ । किनभने स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा मात्र २० वर्ष भन्दा कम उमेरमा १ हजार १ सय १८ जना किशोरी गर्भवती रहेको तथ्याङ्क छ । उनीहरुले जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्थामा पहिलो पटक गर्भ जाँच गराएका थिए । तथ्याङ्क अनुसार ८ सय २५ जना बालिकाले चौथो पटक गर्भ जाँच गरेका छन् । सरकारको नियम अनुसार चार पटक गर्भजाँच गराउनेको संख्या भने ५ सय ३६ जना मात्र छ ।
यसैगरी आर्थिक वर्ष २०७६÷७७ मा २० वर्ष भन्दा कम उमेरमा ८ सय ७५ जना किशोरीले पहिलो पटक गर्भ जाँच गराएका छन् । ६ सय ८९ जना किशोरीले चौथो पटक गर्भ जाँच गराएको भए पनि चार पटक सम्म गर्भ जाँच गराउनेको संख्या भने ४ सय ५१ मात्र छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाको सन्त्रासका कारण गत आर्थिक वर्षमा स्वास्थ्य संस्था आएर गर्भ जाँच गराउनेहरुको संख्यामा कमी आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौं बताउँनुहुन्छ ।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराएका सबै किशोरी विवाहित हुन् । सरकारले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानूनी भन्दै कानुन उल्लङ्घन गर्नेलाई बढीमा तीन वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना व्यवस्था गरेको छ । बालिका आमाहरुको संख्या ठुलै भए पनि बागलुङमा बालविवाहको कुनै एकिन तथ्याङ्क भने छैन ।
बालविवाह गैरकानुनी भएपनि यहाँका न्यायीक समितिमा अहिले सम्म एउटा पनि बालविवाह सम्बन्धी उजुरी परेको छैन । जिल्ला प्रहरी कार्यालय बागलुङमा आर्थिक वर्ष २०७६÷७७ मा २ वटा बालविवाहका उजुरी दर्ता भएका थिए । यसैगरी प्रहरीमा १८ वर्षीया एक किशोरीले २० वर्षीया श्रीमान विरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् ।
सानो उमेरमा गरिएका विवाहले महिलाको प्रजनन् स्वास्थ्यमात्र असर नगरेर पारिवारीक, समाजिक र आर्थिक रुपमा समेत प्रभाव पार्ने गरेको एडभोकेशी फोरमका संयोजक अधिवक्ता राम शर्मा बताउँनुहुन्छ । आत्मनिर्भर नबन्दै घर, परिवार र व्यवाहारीक जिम्मेवारीले गर्दा किशोरीहरु माथी घरेलु हिंसा, आर्थिक हिंसा हुँदै सम्बन्ध विच्छेद हुने सम्मका घटनाहरु बढन थालेको शर्माको भनाई छ ।
सरकारले बालविवाहलाई कानुनी रुपमा बर्जित गरेपनि वर्षेनी बढिरहेको बालिक आमाको तथ्याङ्कले सरकारको नियम र कानुनलाई ठाडै चुनौती दिएको छ ।
समाज र परिवारले बुझ्दा बुझ्दै पनि कानुन विपरित बालविवाह भइरहेको कारण बालिका आमाहरुको संख्यामा वृद्धि भएको संघीय सांसद डा.सुर्य पाठकको भनाई छ । सरकारले नेपालको अवस्था र अन्र्तराष्ट्रिय अभ्यासलाई हेरेर २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु हँुदैन भन्ने कानुन ल्याएको भन्दै प्रहरी, प्रशासन र समुदायको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार कानुन कार्यान्वयन गराउनका लागि संवेदनशील बन्नुपर्ने उहाँको भनाई छ । समाजमा दिन प्रतिदिन भइरहेका बालविवाह न्यूनिकरणका लागि सचेत नबन्ने हो भने दीर्घकालिन रुपमा सबैले ठुलो क्षती बेहोर्नुपर्ने सांसद पाठक बताउँनुहुन्छ । बालविवाह र बालिका आमाहरुको सम्बन्धमा परिवारसँग विद्यालय र समाज नजिकबाट जोडिने हुँदा शिक्षक र समाजका सचेत वर्गले जनप्रतिनिधिसँग सहकार्य गरेर कानुन कार्यान्वयनमा सहयोग गर्नुपर्नेमा उहाँको जोड छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१६ मा गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा ५२ प्रतिशत महिलाहरुको १८ वर्षकै उमेरमा विहे हुने गरेको तथ्याङ्क छ । जसमा १५ देखि १९ वर्षका महिलाहरु किशोरी उमेरमै आमा बन्ने गरेको उल्लेख छ । किशोरी उमेरमा शहरी क्षेत्रका १३ र ग्रामिण क्षेत्रका २२ प्रतिशत महिला आमा बन्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
अशिक्षा, स्वास्थ्य सम्बन्धी चेतनाको कमी, गरिबी र प्रलोभनमा परेर ग्रामिण भेगमा बालविवाह सँगै बालिका आमाहरुको संख्यामा वृद्धि हुने गरेको तमानखोला गाउँपालिकाका उपप्रमुख मानसरी शेरचन बताउँनुहुन्छ । बालविवाह व्याप्त भए पनि बालविवाहको उजुरी नपरेका कारण तमानखोला गाउँपालिकाले २०७४ सालदेखि बालविवाह विरुद्धको अभियान चलाएको थियो । २०७४÷०७५ मा गाउँपालिकाले १० वटा बालविवाह बदर समेत ग¥यो । सानोमा विहे गरेर बच्चा जन्माउँदा स्वास्थ्यमा मात्र समस्या नभएर पारिवारिक विचलन समेत बढ्न थालेपछि गाउँपालिकाले बालविवाह बिरुद्ध कडाइको साथ अभियान चलाएको थियो ।
२० वर्षभन्दा कम उमेरमा गरेका विवाहलाई मान्यता नदिने र बदर गर्दै विवाह गर्ने गराउनेलाई कारबाही समेत गर्ने गरी अभियान थालेपछि विवाह दर्ता नभएर एकै पटक बच्चाको जन्म दर्ता माग्न आउन थालेको उपाध्यक्ष शेरचन बताउँनुहुन्छ । ‘गाउँपालिकाले बालविवाह गरेका आमा बाबाबाट जन्मिएका बालबालिकामा समेत विद्यालयमा विशेष निगरानी ग¥यो,’ उपाध्यक्ष शेरचनले भन्नुभयो ‘उमेर पुगेका आमाबाट जन्मिएका बच्चा भन्दा कम उमेरका आमाबाट जन्मिएका बच्चा शारीरिक, वौद्धिक र मानसिक रुपमा समेत कमजोर देखिए ।’ कानुन अनुसार, बालविवाह गर्ने गराउने अपराध भए पनि स्थानीय तहलाई बालविवाह बदर गर्ने र बालविवाह बिरुद्ध स्वतःस्फुर्त काम गर्ने सजिलो बाटो नभएको उहाँको गुनासो छ । ‘गाउँपालिकाले विवाह बदर गर्न नमिल्ने रहेछ, सुरुमा हामीलाई जानकारी भएन्,’ शेरचनले भन्नुभयो ‘परिवार समाज सबै मिलेपछि हाम्रोमा उजुरी आउँदैन, बरु किशोरी युवतीहरु गर्भवती भएर आउँछन् ।’
सानो उमेरमा विवाह गर्दा सानैमा बच्चा जन्माउनेहरुको संख्या स्वतः वृद्धि हुने भन्दै बालिका आमाको संख्या कम गराउनका लागि बालविवाहनै रोक्नुपर्ने धौलागिरी अस्पताल बागलुङका स्त्री तथा प्रसुती रोग विषेशज्ञ डाक्टर केशव आचार्य बताउँनुहुन्छ । २० वर्ष भन्दा सानो उमेरमा बच्चा जन्माउँदा किशोरीहरु मानसिक रुपमा तयार नहुने हुँदा असुरक्षित गर्भपतनको समेत खतरा हुने उहाँको भनाई छ । कम तौलको बच्चा जन्मिने, आमा र शिशुले राम्रो स्याहार सुसार नपाउने, महिलाहरुमा दीर्घकालिन रुपमा पाठेघर खस्ने समस्या हुन सक्ने डा.आचार्यको भनाई छ ।