काँग्रेस वरिष्ठ नेता पौडेलमाथिको अभद्र व्यवहार बिरुद्ध बागलुङमा प्रदर्शन

आदर्श अनलाइन,बागलुङ
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी पक्राउ गरेको विरोधमा नेपाल विद्यार्थी संघ बागलुङले बुधबार साँझ बागलुङमा प्रदर्शन गरेको छ ।

बुधबार तनहुँमा पुल उद्घाटनका लागि आएका नेता पौडेलाई निशेधाज्ञा जारी उद्घाटन गर्न नदिइको र पक्राउ गरिएको विरोधमा बागलुङको लोकतान्त्रिक चोकमा विरोध प्रदर्शन गरेको हो ।

विरोध कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्र बहादुर थापाले निर्वाचनको बेला काँग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार आएपछि रुन पनि पाइँदैन भनर भनेको कुरा यथार्थमा परिणत हुँदै गएको बताए ।

‘हाम्रो पार्टी सभापतिले निर्वाचनको बेला भन्नुभएको थियो, कम्युनिष्ट सरकार आएपछि यो देशमा रुन पनि पाइँदैन,’ उनले भने,‘त्यो कुरा अहिले यथार्थ हुँदै गएको छ । कम्युनिष्ट सरकारले आफ्नो अधिनायकवादी चरित्र र निरङ्कुशता एकपछि अर्को गर्दै देखाउन थालेको छ ।’

थापाले कम्युनिष्ट नेतृत्वको सरकारले संघीय देखि स्थानीय तहसम्म लुट मच्चाएको आरोप लगाए । ‘अहिले सरकारले केन्द्र देखि स्थानीय तहसम्म लुट मच्चाउन तल्लिन छ, अब आउने चुनावमा फेरि आर्थिक प्रलोभन देखाएर मत आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने उनीहरुलाई लागेको छ,’ थापाले भने,‘नेपाली काँग्रेस र यसका भातृ तथा सुभेच्छुक संस्थाहरुले यी सबै लुट र अनियमितताहरु विरुद्ध आवाज उठाउनुपर्ने छ । हामीले यसको विरुद्ध सशक्त कदम चाल्नेछौं ।’

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सहमहामन्त्री हरिहर शर्माले सरकारको ज्यादती र निरङ्कुशता विरुद्ध कोभिडको अप्ठ्यारो परिस्थीतिमा पनि सडकमा आउनुपरेको बताए ।

‘अहिलेको सरकारले निरङ्कुशता लाद्ने र भ्रष्टाचार गर्ने काम बाहेक केही गरेको छैन,’ उनले भने,‘बालुवाटार खानेहरुलाई मन्त्री बनाएको छ । फरक मत राख्नेहरुलाई निशेध गरेको छ । यसको विरुद्ध हामी सशक्त ढंगले प्रस्तुत हुने बेला आएको छ ।’

उनले प्रहरीले पक्राउ गरेका काँग्रेस नेता पौडेल लगायत अन्य सबैको बिना शर्त रिहाई गर्नुपर्ने माग समेत राखे । नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खडक थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव श्रीकृष्ण पौडेलले गरेका थिए ।

विरोध कार्यक्रमा सहभागीले राज्य आतंक बन्द गर, प्रहरी दमन अन्त्य गर, काँग्रेस नेता कार्यकर्तालाई निशर्त रिहाई गर लगायतका नारा लगाएका थिए । तनहुँको बुल्दी खोलामा निर्माण गरिएको पुल उद्घाटन गर्न आएका काँग्रेस वरिष्ठ नेता पौडेललाई स्थानीय प्रशासनले बुधबार दिउँसो नियन्त्रणमा लिएर साँझ छाडेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *